जलवायु परिवर्तनको बढ्दो असर «

जलवायु परिवर्तनको बढ्दो असर

हालसालै मात्र अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन कोप–२६ सम्पन्न भएको छ । स्कटल्यान्डमा भएको सो सम्मेलनको अध्यक्षता बेलायतले गरेको थियो । सम्मेलनमा विश्वभरका सरकार एवं राज्यप्रमुख, उच्च सरकारी अधिकारी, नागरिक समाजका अगुवा र सञ्चारकर्मीसहितको सहभागिता भएको थियो । जुन सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालगायतको टिमले भाग लिएको थियो ।
सो सम्मेलनको मुख्य उद्देश्य विश्वमा जलवायु परिवर्तनले विभिन्न क्षेत्रमा पारेका गम्भीर प्रभावलाई कम गर्ने विषयमा छलफल थियो । सो सम्मेलनको प्रमुख एजेन्डाका रूपमा विश्वमा कोइलाको प्रयोगलाई बिस्तारै हटाउँदै जाने, वनविनाशलाई रोक्ने, विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने, जलवायु परिवर्तनका कारण आउन सक्ने प्राकृतिक विपत्तिबाट जोगिन सूचना प्रणालीलाई सुदृढ गर्ने तथा कृषिमा जलवायु परिवर्तनको असरलाई कम गर्न के गर्न सकिने भन्ने विषयमा छलफल भएको थियो । कोप सम्मेलनबाट यो प्रस्ट हुन्छ कि विश्वलाई जलवायु परिवर्तनको असर कति छ भन्नेमा ।
जलवायु परिवर्तनको प्रभाव नेपालमा निकै बढ्दै गइरहेको छ । यसतर्फ समयमा नै सजगता र प्रभावलाई न्यूनीकरण गर्नेतर्फ ध्यान दिनु जरुरी छ । यदि यसको प्रभावलाई न्यूनीकरण गर्न पहलकदमी नगर्ने हो भने आगामी दिनमा यसका असर विकराल रूपमा बढ्दै नजालान् भन्न सकिँदैन । पछिल्लो समय नेपालमा आकस्मिक बाढी, हिमनदी विस्फोट तथा हिमपहिरो, खडेरी, तातो र चिसो लहर र अप्रत्याशित वर्षा, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिका कारण मानव जनजीवनमा प्रत्यक्ष रूपमा असर पु¥याउँदै आएको छ, जसअन्तर्गत समाजका सबै क्षेत्रमा असर परेको छ र विशेष गरी महिला र सीमान्तकृत समुदायको जीवन र जीवनयापन नै संकटमा परेको छ । नेपालमा पनि जलवायु परिवर्तनले कृषि उत्पादनमा ह्रास आउने र समयमा वर्षा नहुने, बेमौसमी वर्षाले प्रतिकूल असर पार्दै गइरहेको सर्वविदितै छ । आकाशे पानीमा निर्भर रहनुपर्ने अवस्थाका कारण कृषकले निकै कष्ट भोग्दै आउनुपरेको छ, जसका कारण कुल गार्हस्थ्य उत्पादनमा ह्रास भोग्नुपरेको छ । जलवायु परिवर्तनले हिमाली भेगमा समेत असर पु¥याउँदै आएको छ, जसको व्यवस्थापनमा सरकारका तर्फबाट फितलो प्रयास मात्र भएका छन् ।
जलवायु परिवर्तनले दिनानुदिन मुख्य सहरहरू प्रदूषित हुँदै गइरहेको छ । बढ्दो सहरीकरण तथा जनघनत्वका कारण सहरी क्षेत्रभित्र डिजेल, पेट्रोलबाट चल्ने सवारी साधनको उपयोग बढ्दै जाँदा र कोइलाको अधिक प्रयोगबाट निस्कने धूवाँले वायु प्रदूषण हुँदा मानव शरीरमा प्रत्यक्ष रूपमा असर भोग्दै जानुपरेको छ । छिमेकी मुलुक भारतको प्रमुख सहरमा बढ्दो वायु प्रदूषणका कारण विद्यालय बन्द गर्नुपर्ने अवस्था सिर्जना भएको थियो । यो अवस्था नेपालमा पनि नआउला भन्न सकिँदैन । यस्तो वायु प्रदूषणलाई कम गर्न विद्युतीय सवारी साधनहरूलाई जोड दिन, वन विनाश हुनबाट जोगाउने, कोइला प्रयोगमा कम गर्ने तथा प्राकृतिक विपत्तिलाई रोक्न सक्ने पहलकदमी गरेमा जलवायु परिवर्तनका असरहरूलाई कम गर्न मद्दत पुग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्