पाँच महिनाको वैदेशिक व्यापार
आयात आठ खर्ब, निर्यात एक खर्ब

चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ८ खर्ब रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात हुँदा नेपालले एक खर्ब रुपैयाँको मात्र निर्यात गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्ममा आयात तथा निर्यात दुवै बढेको छ । आयात ५९ प्रतिशतले बढेर ८ खर्ब ३८ अर्ब ४० करोड ८२ लाख पुगेको छ भने १ खर्ब २ अर्ब ९२ करोडको वस्तु निर्यात भएको छ ।
अघिल्लो आर्थिक वर्षको पाँच महिनामा ५ खर्ब २५ अर्ब ४९ करोड ८१ लाखको आयात भएको थियो भने ५० अर्ब ५५ करोड ६० लाखको निर्यात भएको थियो । निर्यात बढ्दै गए पनि आयात झन् धेरै बढेको हुँदा व्यापार घाटा चुलिँदै गएको छ । पाँच महिनामा व्यापार घाटा ५४ प्रतिशतले बढेर ७ खर्ब ३५ अर्ब ४८ करोड ६७ लाख रुपैयाँ पुगेको छ । हाल कुल वैदेशिक व्यापारमा निर्यात व्यापारको हिस्सा १०.९३ प्रतिशत पुगेको छ । यस्तो हिस्सा गत वर्षको सो अवधिसम्ममा ८.७० प्रतिशत थियो ।
नेपालको वैदेशिक व्यापारमा मुख्य व्यापार घाटा भारतसँग छ । पाँच महिनामा नेपालले भारतसँग मात्रै ४ खर्ब १५ अर्ब ८८ करोडभन्दा धेरैको व्यापार घाटा व्यहोर्नुपरेको छ । पाँच महिनामा नेपालले भारतबाट ५ खर्ब ४ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा ८४ अर्ब १५ करोड रुपैयाँको मात्र निर्यात गरेको छ ।
भारतपछिको धेरै व्यापार घाटा भएको मुलुक चीन हो । पाँच महिनामा चीनसँग नेपालको व्यापार घाटा १ अर्ब २१ अर्ब ८१ करोडभन्दा धेरै छ । यस अवधिमा नेपालले चीनबाट १ अर्ब २२ अर्ब १९ करोडको आयात गर्दा चीनतर्फ ३८ करोड १६ लाखको मात्र निर्यात गर्न सकेको छ ।
चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा मुलुकको वैदेशिक व्यापार ९ खर्ब ४१ अर्ब ३२ करोडभन्दा धेरै भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ६३.५५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको उक्त अवधिमा मुलुकको वैदेशिक व्यापार ५ खर्ब ७५ अर्ब ५५ करोडको भएको थियो ।
पाँच महिनाको अवधिमा मुलुकमा सबैभन्दा धेरै ९८ अर्ब ५२ करोड २६ लाख १ हजार रुपैयाँको आइरन स्टील, ५७ अर्ब २५ करोड ८९ लाख २३ हजार रुपैयाँको विद्युतीय मेसिनरी सामान, ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार रुपैयाँको खाद्यान्न आयात भएको भन्सार विभागले जनाएको छ ।