प्राकृतिक विपदबाट जोगाउन आश्रय भवन «

प्राकृतिक विपदबाट जोगाउन आश्रय भवन

नेपालगन्ज-बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित साइपुरमा प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरण गर्न बहुउद्देश्यीय आश्रय भवन निर्माण गरिएको छ ।
प्राकृतिक विपदका साथै समुदायमा हुने अन्य कार्यमा समेत उपयोग गर्नका लागि बहुउद्देश्यीय आश्रय केन्द्र निर्माण गरिएको हो । कुल ८४ लाख ९५ हजार ३ सय २९ रूपैयाँ लागतमा निर्माण भएको आश्रय केन्द्रमा राप्तीसोनारी गाउँपालिकाले १७ लाख, तराई भू–परिधि कार्यक्रम र वन तथा वातावरण संरक्षण समन्वय समितिले ५४ लाख ३१ हजार ३ सय ३० तथा ९ लाख ७४ हजार ९५ रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएको छ । स्थानीय बासिन्दाले ३ लाख ८९ हजार ९ सय ४ रुपैयाँ बराबरको श्रमदान गरेको भवन निर्माण समितिका संयोजक एवं वडा नम्बर ३ का वडाध्यक्ष गंगाराम थारुले जानकारी दिए ।
उक्त भवनमा ठूलो हलसहित महिला र पुरुष शौचालय, धारा, सोलार प्यानललगायत पूर्वाधार छ । नवनिर्मित भवनको शुक्रबार एक समारोहका बीच उद्घाटन गरिएको छ । उद्घाटनपछि आयोजित कार्यक्रममा राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले नवनिर्मित भवनलाई बहुउद्देश्यीय काममा प्रयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गरे । राप्तीको बाढीबाट गाउँपालिकामा रहेका सबै वडा जोखिममा रहेको बताउँदै यस्ता भवन सबै वडामा बनाउन आफूहरू तयार रहेको उनले बताए । “गाउँपालिकाले कति प्रतिशत लगानी गर्नुपर्छ, लगानी गर्न हामी तयार छौं,” उनले भने, “विपदलाई रोक्न नसके पनि क्षति न्यूनीकरण गर्न सकिने भएकोले त्यसको प्रयास हामी गछांै ।”
त्यस्तै पूर्वमन्त्री प्रेमबहादुर भण्डारीले बाढीपीडितहरू पीडामा छटपटाइरहेका बेला आश्रय केन्द्रले ठूलो राहत दिने बताए । राप्तीसोनारीका सबै वडा प्रायः दैवीप्रकोप र बाढीबाट प्रभावित रहेको भन्दै अन्य वडामा पनि यस्ता भवन निर्माण गरेको खण्डमा पीडितले राहत महसुस गर्ने उनकोे भनाइ थियो ।
त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष धनीकुमारी खत्रीले राप्तीसोनारी गाउँपालिका सम्पदाको हिसाबले धनी भए पनि प्राकृतिक विपदको धेरै जोखिममा रहेको बताइन् ।
कार्यक्रममा वन तथा वातावरण संरक्षण समन्वय समितिका अध्यक्ष तुलाराम खत्रीले सबैको सहकार्यबाट बाढीको उच्च जोखिम रहेको क्षेत्रमा आश्रय केन्द्र निर्माण गर्ने कार्यले पूर्णता पाएको बताए । समन्वय समितिका अध्यक्ष खत्रीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई डब्लूडब्लूएफ क्यानडाका प्रमुख कार्यकारी अधिकृत मेगन अनिसा लेस्ली, डब्लूडब्लूएफ नेपालका डा. घनश्याम गुरुङ, समन्वय समितिका सचिव यमबहादुर बोहरालगायतले सम्बोधन गर्दै नवनिर्मित भवनको सही काममा प्रयोग गर्न सुझाव दिएका थिए ।
२०७४ सालको बाढीका कारण राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ३ र ४ सबैभन्दा बढी प्रभावित भएको थियो । उक्त गाउँपालिकाको लालपुरमा एकै परिवारका ३ बालिकाको बाढीका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्