उन्नत जातका बाख्रा पालनमा युवाको आकर्षण

पछिल्लो समय म्याग्दीमा कृषि र पशुपालनमा लगानी बढ्दै गएको छ । सामूहिक रूपमा युवाहरू मिलेर उत्पादन र रोजगारी क्षेत्रमा लगानी गरेका छन् ।
म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा तीन युवाले एक करोड ८० लाख लगानीमा उन्नत जातका बाख्रा पालन गरेका छन् । स्थानीय युवा कृषक अणबहादुर खड्काको अगुवाइमा तीनजनाले सामूहिक रूपमा उन्नत जातका बाख्रा पालन गरेका छन् ।
खड्कासँंगै उनका भाइ प्रेम र धवलागिरि गाउँपालिका–७ धारापानीका राजेन्द्र थापाले सामूहिक रूपमा ‘ब्रोदर्स कृषि तथा पशुपंछी फार्म’ स्थापना गरी बोयर जातका बाख्रा पालन गरेका छन् ।
सामूहिक रूपमा बाख्रापालन थालेका भगवान सामाजिक कार्यसँंगै कृषि पेशामा संलग्न छन् भने प्रेम वैदेशिक रोजगारबाट फर्किएका र थापा भारतीय सेनाबाट अवकासपछि पशुपालनमा लागेका हुन् ।
३० लाखमा उन्नत जातका माउ बोयर बाख्राहरु खरिद गरी सुरु गरिएको फार्ममा खोर, जग्गा घेराबार, बसोबासका लागि बनाइएको आवासलगायतको पूर्वाधार निर्माणमा ८५ लाख बढी लगानी भएको फार्मका सञ्चालक खड्काले बताए । उनका अनुसार, बाख्रापालनकै लागि करिब १५ रोपनी जग्गा ४५ लाख बढी लगानीमा खरिद गरिएको थियो ।
“जग्गा, बाख्रा, खोरलगायतका संरचनामा अहिलेसम्म १ करोड ८० लाख लगानी भइसकेको छ, उन्नत जातका बाख्राको स्रोत केन्द्र र मासुका लागि बोका उत्पादनको केन्द्र बनाउने गरी बाख्रापालनलाई अघि बढाएका छौँं,” खड्काले भने ।
दुई वर्ष अघिदेखि नै बाख्रापालनलाई लक्षित गरी १५ रोपनी जग्गामा घाँसखेती गरिएको थियो भने अहिले ४५ रोपनी जग्गा भाडामा लिएर घाँसको व्यवस्थापन गरिएको छ ।
पाठापाठीसहित अहिले ८७ वटा बाख्रा रहेको फार्ममा दुई सयको संख्यामा बाख्रापालन गर्न सक्ने क्षमता बनाइएको छ । बाख्राको पाठापाठीलाई दूध खुवाउने प्रयोजनका लागि दुई वटा भैंसी र एक गाईसमेत पालन गरिएको छ । ५० वटा माउ बाख्रा रहेको फार्ममा ३५ वटाले पाठापाठी जन्माइसकेका छन् । बाख्रापालनलाई लक्षित गरी जैघाँस, खन्यु, काफल, सुपर नेपियरलगायतका घाँसखेती विस्तारलाई समेत प्राथमिकता दिइएको छ ।