सहुलियत कर्जाबाट उद्यमी बन्दै बेरोजगार युवा

स्थानीय सरकार सञ्चालन भएपछि स्वरोजगार तथा उद्यमशीलताका कार्यक्रम सञ्चालन हुन थालेसँगै दुरदराजका युवा पनि आत्मनिर्भर हुन थालेका छन् ।
साना लगानीका उद्योग खुल्ने, सके निरब्याजी नभए सहुलियत कर्जा पाएर बेरोजागर युवायुवतीले आफ्नै गाउँठाउँमा रोजगार पाउन थालेका छन् । तर स्थानीय सरकार सञ्चालन भएको पाँच वर्ष पुग्नै लाग्दा पनि जुम्लाका कुनै स्थानीय तहले युवा रोजगारका प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकेका छैनन् ।
युवा रोजगारी, आर्थिक समृद्धि, जीविकोपार्जन जस्ता जनप्रतिनिधिका चुनावी एजेण्डा नारामै सीमित भए भन्ने आलोचना भइरहेको बेला जुम्लाको तिला गाउँपालिकाले भने, युवा रोजगार र उद्यमशीलतालाई प्रथामिकता दिएको छ ।
पालिका भित्रका बेरोजगार युवालाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ तिलाले नविल बैंक र राष्ट्रिय युवा परिषदसँग दिगो उद्यमशीलता विकसाका लागि त्रिपक्षिय साझेदारी गरेको छ । जसअनुसार चालु आर्थिक वर्षमा मात्रै तिलाका १ सय ५० बेरोजगार युवा स्वयम उद्यमी बन्दै छन् ।
पालिकाले नबिल बंैंकको सहाकार्यमा १ सय ५० युवालाई सहुलियत कर्जा उपलब्ध गराउने भएको छ ।
सहुलियत कर्जाका लागि छनौट भएका युवालेहरु उद्यशीलता, व्यापार प्रर्वद्धन, बजारीकरणका विषयमा एक साता तालिम समेत लिइसकेका छन् । “एकै साथ १ सय ५० जना ग्रामिण युवा उद्यमी बन्दै छन् ।
उद्यमशीलता विना आर्थिक समृद्धि सम्भव छैन । त्यसैले तिलाका सयौं युवालाइ एकै पटक उद्यमी बनाउदै छौं” तिला गाउँपालिका अध्यक्ष रतननाथ योगीले भन्छन्, “उनीहरुको व्यवसायको प्रकृति अनुसार माग भए बमोजिम १० देखि ५० लाख सम्मको सहुलियत कर्जा नविल बैंकले उपलब्ध गराउँदै छ । तिलाका गाउँगाउँमा उद्यमी जन्माउने लक्ष्य सफल भएको छ ।”
सहुलियत कर्जाका लागि छनौट भएका उद्यमीलाई तालिम दिइएको छ । तालिममाबाट सहुलियत कर्जाका प्रक्रिया, व्यापार प्रर्वद्धन, बजारीकरणका बारेमा धेरै कुराको ज्ञान प्राप्त भएको सहभागीले बताएका छन् ।
उद्यमी पार्वती बुढाले भनिन्,“जोस जागर भएपनि आर्थिक अभावले व्यवसायी गर्न सकेका थिएनौ । अनुदानका कार्यक्रम सफल भएका पनि छैनन् । गाउँपालिकाले बेरोजगार युवायुवतीको सीप क्षमता अनुसार व्यवसायका लागि सहुलियत कर्जाको व्यवस्था गर्दा निकै खुसी छौं । अब आफ्नै ठाउँमा इलम गरेर आयआर्जन गर्ने आशा छ ।”
नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेलले हालसम्म देशभरका तीन स्थानीय तहसँग मात्रै उद्यमशीलता दिगो विकासका लागि सम्झौता भएको बताए । उनले भने, “जुम्लामा उद्यमशीलताको सम्भावना राम्रो छ । युवाहरुमा पनि जोस छ । उद्यमीको माग अनुसार सहुलियत कर्जा उपलब्ध हुने छ । कर्जा सदुपयोग भइ आर्यआर्जन वृद्धि हुने आशामा छौं ।”
हाल तिलाका १ सय ५० उद्यमीका लागि बैंकले १४ करोड सहुलियत कर्जा लगानी गर्दैछ । अहिलेका उद्यमी सफल भएमा अर्बौ लगानी गर्न तयार रहेको बैंकका अध्यक्ष पौडेलले बताए ।
रोेजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग पुग्नेदेखि सो कार्यक्रमले निम्न आयस्रोत भएका बेरोजगार युवालाको जीविकोपार्जनमा सुधार हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मीनबहादुर रावलले बताए । उनका अनुसार तिला गाउँगाउँमा हाते होजियारी, सिलाई बुनाइ, कुटानी पिसानी मिल, अर्गानिक कोसेली घर, व्यावसायिक तरकारी खेती, स्याउ तथा ओखर खेतीलगायतका व्यवसाय सञ्चालन हुने छन् ।
चालु आर्थिक वर्षमा मात्रै १५० उद्यमी जन्माएको तिलाले यसअघि पनि निब्याजी ऋण व्यावसायिक योजना तथा लघु उद्यममार्फत गाउँगाँउमा उद्यमी बढाउँदै गएको छ ।