Logo

यथास्थितिमा एमसीसी पास हुँदैन : एमाले

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले एमाले यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठक पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक भट्टराईले एमाले कुनैपनि शर्तमा यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले गठबन्धन तोडेमा एमालेले एमसीसी पास गर्न सघाउने भन्ने हल्लामा सत्यता नरहेको बताए । एमालेलाई गठबन्धन तोड्न कुनै रुची नभएको उल्लेख गर्दै उनले वर्तमान सरकार पूर्ण अवधि चलोस् र गठबन्धन जारी रहोस् भन्ने पक्षमा एमाले रहेको बताएका छन् ।
नेकपा(एमाले)का सांसद शेरबहादुर तामाङले सत्ता पक्षले संसद अवरोध गरिरहेको आरोप लगाए । एमालेले संसद चलाउनका लागि सत्ता पक्ष र प्रतिपक्ष विचको वार्ता चाहेको भएपनि सत्ता पक्ष वार्ता नगरी पेलेर जाने मुडमा रहेको उनको भनाई छ । एमाले अझैपनि वार्ता र छलफलको पक्षमा रहेकाले राष्ट्रिय इस्यूहरुमा छलफलबाट निष्कर्ष निकालेर जान सकिने बताए ।
नेकपा(माओवादी केन्द्र)का सांसद राम कार्कीले एमालेले संसद अवरोध गरेर संविधानको मर्यादालाई नाघेको टिप्पणी गरे । उनले एमालेले प्रजातान्त्रिक अभ्यास आत्मसात् गर्ने हो भने आफुलाई अर्मयादित बनाउनु नहुने बताएका छन् ।
नेकपा(एमाले) का सांसद सोमप्रसाद पाण्डेले संसद अवरोध गर्नुपर्ने खालको कुनै इस्यू नभएको बताए । एमालेले केवल अवरोधका लागि अवरोध मात्रै गरिरहेको उनको तर्क छ । विभिन्न बखेडा झिकेर संसद अवरोध गरी राजनीतिक अस्थिरता ल्याउन खोजिएको उनले बताए । संसद अवरुद्ध गर्नाले राजनीतिक दलहरु र स्वयम् एमालेलाई पनि राम्रो नहुने सांसद पाण्डेले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्