लमजुङमा ७१ हजार बढी पशुपन्छीमा खोप «

लमजुङमा ७१ हजार बढी पशुपन्छीमा खोप

लमजुङ – पशु पुर्णखोप घोषणाको तयारी गरेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र लमजुङले गत आर्थिक वर्षमा मात्रै ७१ हजार बढी पशुपन्छीमा खोप लगाएको जनाएको छ । जिल्लाका दुई स्थानीय तहबाट पशु पुर्णखोप कार्यक्रम कार्यान्वयन गरेको कार्यालयले गत आर्थिक वर्षमात्रै ७१ हजार बढी पशुपन्छीलाई विभिन्न प्रकारको खोप लगाएको हो ।
मध्यनेपाल र बेसीसहर गरी दुई स्थानीय तहका १६ हजार ४ सय १० गाई भैंसी, १ हजार ६ सय आठ बंगुर, १ हजार ३ सय ४१ कुकुर,१ सय ५९ बरालो, ४६ हजार दुईसय ८१ भेडाबाख्रालाई विभिन्न प्रकारको खोप लगाइएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मध्यनेपालमा मात्रै २६ हजार २ सय ४५ पशुपन्छीमा खोप लगाएको हो भने बेसीसहरका ४५ हजार ६ सय १४ पशुपन्छीमा खोप लगाइएको कार्यालय प्रमूख डा. रुपेश श्रेष्ठले बताए । खोप लगाउने कार्यक्रम सम्पन्न भएसँगै सम्बन्धित पालिकालाई पशु पुर्णखोप पालिका घोषणा गर्ने र विस्तारै जिल्लालाईनै पशु पुर्णखोप जिल्ला घोषणा गर्ने कार्यक्रम रहेको कार्यालय प्रमुख डा श्रेष्ठको भनाइ छ ।
पशुपालनका लागि अत्याधिक राम्रो सम्भावना भएको लमजुङमा चालू आर्थिक वर्षबाट थप एक स्थानिय तहमा पशु पुर्ण खोप कार्यक्रम सञ्चालन हुने भएको छ । गत आर्थिक वर्षमा बेसीसहर र मध्यनेपालमा कार्यक्रम सञ्चालन गरेको गण्डकी प्रदेश सरकारले चालू आर्थिक वर्षबाट सुन्दरबजार नगरपालिकामा पनि कार्यक्रम कार्यन्वयनमा ल्याएको हो ।
गण्डकी प्रदेश सरकारले आफ्नो निती तथा कार्यक्रममा नै पशुहरूमा पुर्ण खोप पालिका घोषणा गर्ने कार्यक्रम अन्तर्गत लमजुङमा स्थानिय तहमा पशु पूर्णखोप कार्यक्रम सञ्चालन गरेको हो । गण्डकी प्रदेश सरकार, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमार्फत जिल्लामा सो कार्यक्रम कार्यन्वयनमा ल्याएको हो ।
कार्यक्रम अन्तर्गत जिल्लाका व्यवसायिक फार्महरूमा गाईभैसी, भेडा बाख्रा, बंगुर, कुकुर, विरालो एवं कुखुराहरूमा आवश्यक सबै खाले खोप लगाउने कार्यक्रम रहेको छ । पशु पुर्ण खोप कार्यक्रमले पशुपक्षीमा रोग संक्रमण कम हुने कृषकहरूले विश्वास गरेका छन् । पशुपन्छीको राम्रो सम्भावना रहेको लमजुङमा गाई, भैंसी, भेडा बाख्रा, कुखुरा लगायतको व्यावसायिक पालन हुँदै आएको छ । गाई,भैंसी, बाख्रा र कुखुरा पालन राम्रो भएकै कारण दूध, मासु र अण्डामा लमजुङ आँफैमा आत्मनिर्भरसमेत छ ।
गत आर्थिक वर्षबाट सुरु भएको सो कार्यक्रमका लागि गत वर्ष ७० लाख रुपैयाँ विनियोजन भएको थियो । यो वर्ष अर्को पालिका थप भएसँगै १ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । गत वर्ष प्रतिपालिका ३५ लाखका दरले बजेट विनियोजन भएकोमा अहिले आएको बजेट तीन वटै पालिकामा खर्च गरिने डा. श्रेष्ठले बताए ।
कार्यक्रमअन्तर्गत विशेष गरी स्थानिय तहमा पालिएका पशुपक्षीको संख्या एकिन गर्न मध्यनेपाल र बेसीसहरमा पशु गणना सम्पन्न चरणमा रहेको र सुन्दरबजारमा गणकहरूको नियुक्तीको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्