वर्षातको पानी संकलन गरेर पाखोमा तरकारी खेती

वर्षातको पानी संकलन गरेर अर्घाखाँचीका एक किसानले व्यावसायिक तरकारी खेती गरेका छन् । पहाडी भेगका अधिकांश किसानले पानी नभएर तरकारी खेती गर्न नपाएको गुनासो गरिरहँदा सन्धिखर्क नगरपालिका–८ किमडाँडाका पुष्कर बन्जाडेले नमूना काम गरेका हुन् ।
बन्जाडेले एक लाख लिटर क्षमता रहेका तीनवटा प्लास्टिक पोखरी, ४० हजार लिटरको सिमेन्ट पोखरी, ३० हजार लिटरको पिसाब संकलन पोखरी र २० हजार लिटरको बाथरुम तथा भाँडा माझेको पानी संकलन पोखरी निर्माण गरेका छन् । “तरकारी खेती गर्न इच्छाशक्ति भयो भने कम लागतमा पोखरी निर्माण गरेर पनि खेती गर्न सकिन्छ,” उनले भने ।
२५ रोपनी पाखोबारीमा व्यावसायिक रूपमै मौसमी तथा बेमौसमी तरकारी खेती गरेर उनले सबै खर्च कटाई मासिक एक लाख रूपैयाँ बचत गर्ने गरेका छन् । विगत १६ वर्षदेखि व्यावसायिक तरकारी खेती गरिरहेका ५२ वर्षीय बन्जाडेले सन्धिखर्कमा एउटा घर र तीनवटा घडेरीसमेत जोडेका छन् । यति मात्र नभई उनले छोरालाई समेत सिए पढाइरहेका छन् । “पहिला शिक्षण पेसा पनि गरेँ, त्यसपछि सप्लायर्स तथा मिल चलाएँ,” आफ्नो विगत सम्झँदै उनले भने, “तर पनि सन्तोष हुन सकिएन र २०५८ देखि तरकारी खेतीबाट केही गर्न सकिन्छ कि भन्ने लागेर यता लागेको हुँ ।”
बन्जाडेको घरमा अहिले जिल्ला कृषि विकास कार्यालयमा दर्ता भएका विभिन्न समूहहरू अवलोकन भम्रणका लागि आउने गरका छन् । बन्जाडेलाई यस पेसामा उनकी ४६ वर्षीया श्रीमती माया बन्जाडेले पनि साथ दिएकी छन् । उनी मेलादेखि घरायसी काममा श्रीमान्लाई सघाउने गर्छिन् । सन्धिखर्क बजारमा तीनतले घर हुँदाहुँदै पनि बन्जाडे दम्पती गाउँमै कृषि पेसा गरेर बसेका छन् । गाउँ छाडेर खेतीयोग्य जमिन बाँझो राखी बजारमा छोराछोरी पढाउन भन्दै हिँड्नेले बन्जाडे दम्पतीबाट केही सिक्न सकिने स्थानीयबासी बताउँछन् । “अहिले पनि कृषि पेसा गर्नेलाई हाम्रो ठाउँमा राम्रो मान्दैनन्,” श्रीमती माया बन्जाडे भनिन्, “खाडीमा भेडा चराउन युवाहरू लाइन लागेर गएको सुन्छु, तर यहाँ काम गर्न लाज मान्छन् ।”
अहिले बन्जाडेको बारीमा बन्दाकोपी, सिमी, भिन्डि, लौका, घिरौंला, तोराय, टमाटर, काँक्रा, तिते करेला र खुर्सानीजस्ता तरकारी उत्पादन हुने गरेका छन् । वर्षातको समयमा तराईका जिल्लामा तरकारी खेती नहुने हुँदा उनको बारीमा फलेका तरकारी बुटवलसम्म जाने गर्छन् । व्यापारीहरू ट्रक नै लिएर फर्ममा तरकारी किन्न आउने बन्जाडे बताउँछन् । बन्जाडेको तरकारी खेतीबाट पाँचजनाले रोजगार पाएका छन् भने केहीले काम सिकेर आफैं खेतीसमेत सुरु गरेका छन् । उनको तरकारी खेतीबाट भएको आम्दानी देखेर अन्य छिमेकीले पनि व्यावसायिक रूपमा खेती गर्न सुरुवात गरेको बन्जाडे दम्पती बताउँछन् ।(घनश्याम पौडेल)