बजेट कटौतीले पानी प्रशोधनको काम अघि बढ्न सकेन «

बजेट कटौतीले पानी प्रशोधनको काम अघि बढ्न सकेन

प्रदेश सरकारले गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण गरिरहेको पानी प्रशोधन उद्योगको बजेट काटिदिएको छ । निर्माणको क्रममा रहेको उद्योगका लागि चालू आर्थिक वर्षमा बजेट नै नआएको पूर्वाधार विकास कार्यालय गोरखाले जनाएको छ । गण्डकी प्रदेश सरकारले लाप्राकको गुप्सीपाखा नजिकै पानी प्रशोधन उद्योग स्थापना गर्न लागेको हो ।
त्यसका लागि २०७६ साल भदौ २७ गते ठेक्का सम्झौता भएको थियो । एक वर्षभित्र निर्माण पूरा गर्नेगरी चितवनको अरविन्द्र कन्स्ट्रक्सनसँग ८५ लाख २९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
कोभिड संकटलगायतका कारण आयोजनाको म्याद आगामी चैत मसान्तसम्म थपिएको छ । तर बजेट नै नआएपछि निर्माणकार्य अघि बढाउन अन्योल भएको पूर्वाधार विकास कार्यालयका सबइन्जिनियर सुनिल कुशवाहले बताए । “प्रशोधन उद्योग निर्माणको करिब ९० प्रतिशत काम पूरा भइसकेको छ,” उनले भने, “अहिले बजेट छैन । त्यसैले निर्माण व्यवसायीलाई भुक्तानी गर्न सकेका छैनौं ।” उद्योगको ६ कोठे भवन निर्माण पूरा भए पनि बजेट नभएपछि प्रशोधन प्लान्ट खरिदलगायतको काम अघि बढ्न नसकेको कुशवाहले बताए ।
भवनको ६ कोठामध्ये दुईवटा कोठामा पानी प्रशोधन र फिलिङ गरिनेछ भने एउटा कोठा गोदामका लागि र बाँकी तीनवटा कोठालाई कार्यालयको रूपमा प्रयोग गर्नेगरी संरचना बनाइएको छ । स्रोतको पानीलाई विभिन्न चरणमा प्रशोधन गरी बोटलिङ गरेर बजारमा पठाउने गरी कामअघि बढाइएको सबइन्जिनियर कुशवाहले जानकारी दिए । प्रशोधन उद्योगको विस्तृत आयोजना प्रतिवेदन डीपीआरमा उल्लेख भएअनुसार एक घण्टामा एक हजार लिटर पानी प्रशोधन गर्न सकिने छ ।
प्रशोधित पानी बोटलमा राखेर बिक्री गर्ने प्रदेश सरकारको योजना छ । बूढीगण्डकी आयोजनाको जलाशयभन्दा माथिल्लो क्षेत्रको सामाजिक, भौतिक र आर्थिक विकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि प्रदेशले बजेट छुट्याउँदै आएको थियो । सोही बजेटको साढे ८५ लाख रुपैयाँ भने पानी प्रशोधन उद्योग स्थापनामा खर्च गर्नेगरी काम अघि बढाइए पनि यो आर्थिक वर्षमा उक्त शीर्षकको बजेट नै कटौती गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्