३३ सय ९८ शिक्षकको आन्तरिक बढुवा हुने «

३३ सय ९८ शिक्षकको आन्तरिक बढुवा हुने

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्न माध्यमिक विद्यालय र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएका छन् । सोमबार शिक्षक सेवा आयोगका पदाधिकारीहरुको छलफलमा उनले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिएका हुन् ।
“देशभरका विद्यालयमा शिक्षकहरुको अभाव छ । यसै साता निम्न माध्यमिक र त्यसको केही समयपछि प्राविको विज्ञापन खोल्नुहोस्,” उनले भने । आयोगको ११ औं संशोधन नियमावली मन्त्रिपरिषद्बाट पास भएको बताउँदै उनले शिक्षकको आन्तरिक बढुवा एवम् अध्ययन अनुमतिपत्र (लाइसेन्स)को विज्ञापन गर्ने प्रक्रिया थाल्न आयोगलाई निर्देशन दिएका हुन् । विगत ५ बर्षदेखि आन्तरिक शिक्षकको बढुवा रोकिएको छ ।
मन्त्री पौडेलले नियमावली पास भएको र शिक्षकको आन्तरिक बढुवा, शिक्षक दरबन्दी र अध्ययन अनुमतिपत्रको विज्ञापन गर्नुपर्ने बताए । १३ हजार ९३ प्राविमा शिक्षकको पदपूर्ति गर्नुपर्ने बताउँदै १० दिनको अन्तरमा निमावि र प्राविको विज्ञापन गर्न मन्त्रीले पौडेलले आग्रह गरे ।
नियमावली संशोधन भइसकेकाले अब ३ हजार ३ सय ९८ शिक्षकको आन्तरिक बढुवा हुने भएको छ । छलफलमा शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बुधबारसम्म निम्न माध्यमिक तहको विज्ञापन खोल्ने तयारी भएको जानकारी दिए । “हामीले माविको १ हजार ५ पाँच सय ६५ पदकालागि विज्ञापन गरिसकेका छौं,” अध्यक्ष रेग्मीले भने, “यसै साता निम्न माध्यमिक विद्यालयमा रिक्त २ हजार ५ सय ९८ पदका लागि विज्ञापन गर्छौं ।”

प्रतिक्रिया दिनुहोस्