ए डिभिजन लिग, एपिएफलाई सिजनको पहिलो सफलता
फ्रेन्ड्स क्लबमाथि ३–१ को जित निकाल्दै विभागीय टिम एपीएफ क्लबले सहिद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।
दशरथ रंगशालामा सोमबार भएको खेलमा फ्रेन्ड्सलाई हराउँदै एपीएफले पहिलो जित निकालेको हो । अघिल्ला खेलमा खराब नतिजबाट गुज्रिरहेको एपीएफलाई जित दिलाउन आशिष लामाले दुई गोल गर्दा बिकी तामाङको नाममा एक गोल रह्यो । फ्रेन्ड्सका प्रिजेन तामाङले एक गोल फर्काए ।
निकै रोमाञ्चक बनेको खेलमा एपीएफले ३० औं मिनेटमा गोल गर्दै सुरुआती अग्रता बनायो । कप्तान नविन लामाको पासमा बिकीले उत्कृष्ट गोल गरे । खेलको ३२ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई २–० को अग्रता दिलाए । कप्तान नविनकै पासमा आशिषले गोल गर्न सफल भएका थिए । खेलको ५७ औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३–० को अग्रता दिलाए । आवास लामिछानेको पासमा अफसाइड बिट गर्दै उनले सहजै गोल गरे ।
खेलको ६९ औं मिनेटमा प्रिजेनले पेनाल्टीमा गोल गर्दै एपीएफको अग्रता छोट्ए । एपीएफका दिपेश धिमालले पेनाल्टी एरियाभित्र जमुल एन्थोनीलाई फाउल गरेपछि फ्रेन्ड्सले पेनाल्टीको अवसर पाएको थियो । त्यसपछि पनि दबाब दिएर खेलेको एपीएफले बाँकी समयमा थप गोलका लागि अवसर जुटाए पनि सफल हुन सकेन ।
यस जितसँगै एपीएफले ५ खेलमा ४ अंक जोडेको छ । एपीएफ ११ औं स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले ५ खेलमा २ अंक जोडेको छ । फ्रेन्ड्स पुछारमा झरेको छ । खेलमा एपीएफका आशिष लामा ‘म्यान अफ दि म्याच’ चुनिए । इमर्जिङ प्लेयर एपीएफकै आवाश लामिछाने चुनिए ।
यससँगै सहिद स्मारक ए डिभिजन लिगमा पाँचौं चरणका खेल पनि सकिएका छन् । १३ अंक जोड्दै मनाङ–मस्र्याङ्दी तालिकाको शीर्ष स्थानमा रहँदा ११ अंकका साथ मच्छिन्द्र फुटबल क्लब दोस्रो, ९ अंकका साथ त्रिभुवन आर्मी फुटबल क्लब तेस्रो र समान ९ नै अंक भएको संकटा चौथो स्थानमा छ ।
लिगमा छैटौं चरणका खेल ९ गतेबाट हुनेछन् ।