एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा : डा. बाबुराम भट्टराई «

एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा : डा. बाबुराम भट्टराई

जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन् ।
सोमवार नेकपा(एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठन नेपालले अघिल्लो वर्ष प्रतिनिधिसभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनका रूपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा बोल्दै डा. भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताए । देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा उनले जोड दिए । एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बिचमा सहमती जुटाएर मात्रै अघि बढ्नुपर्ने उनले बताए । सत्ता गठबन्धन भत्काएर नयाँ ढंगको प्रतिगमन आउने खतरा रहेको उनले औँल्याए । उनले भने, ‘हामीले ध्यान पु-याउन सकेनौँ भने, यो वा ऊ बाहानामा हामीले तन्काउन थाल्यौं भने सानो सानो एउटा समस्याले पनि एउटा ठूलो विस्फोटक रूप लिएर यो हाम्रो गठबन्धनलाई जसरी भत्काउने प्रयत्न भित्र बाहिरबाट भइरहेको छ, त्यो भत्कने र फेरि नयाँ ढंगले प्रतिगमन अगाडी आउने खतरा छ ।
टड्कारो रूपमा छ यो अनुमान मात्रै होइन । खासगरी कतिपय मुद्दाहरू, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक मुद्दाहरू अगाडि छन् । अहिले भर्खरै बढी चर्चामा आएको एमसीसीको जुन एउटा मुद्दा छ । यस्ता मुद्दामा हामीले राष्ट्रिय सहमती, कमसेकम गठबन्धनका घटकहरूका बिचमा एउटा सहमती जुटाएर हामी अगाडी बढ्न सकेनौं भने यही बाहानामा भित्री र बाहिरी शक्तिहरूले खेलेर गठबन्धन तोडिदिने अनि त्यसपछि फेरी अर्को ढंगले प्रतिगमन अगाडि आउने खतरा छ । यतापट्टी हामी सबैको ध्यान आकृष्ट होस् ।’
अध्यक्ष डा. भट्टराईले प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्नका लागि आगामी निर्वाचनसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने बताए । प्रतिगमनकारीलाई टाउको उठाउनै दिनु नहुने उनको तर्क छ । गठबन्धनका दलहरूबिच आपसी प्रतिस्पर्धा पनि गर्दै प्रतिगमनका विरुद्ध एकढिक्का हुनुपर्नेमा उनको जोड छ । उनले भने, ‘गठबन्धनलाई हामीले बचाउनै पर्छ । जबसम्म यो प्रतिगमनकारी शक्तिलाई निस्तोज पार्न सकिँदैन, कमसेकम आगामी निर्वाचनसम्म यो गठबन्धनलाई बचाएर लानैपर्छ । यो प्रतिगमनकारीहरूको टाउको नै हामीले किच्न नसकेसम्म यिनलाई फेरि टाउको उठाउन दिन नसक्ने अवस्थामा नपु-याएसम्म हामी चुप लागेर बस्नु हुँदैन ।
त्यसपछि बहुदलीय लोकतन्त्र हो आपसी प्रतिस्पर्धा त भई नै हाल्छ । आफ्नो अलग अलग अस्तित्व छँदै छनन् । त्यो प्रतिस्पर्धा पनि गरौँ । तर प्रतिगमनकारी शक्तिहरूकाविरुद्ध एक ढिक्का हौँ । त्यसपछिको अवस्थामा ज–जसको विचार मिल्छ । त्यो बिचार मिल्ने अग्रगामी शक्तिहरूले एउटा नयाँ विकल्प निर्माण गरेर जान पनि सक्छ ।’
उनले प्राप्त राजनीतिक उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्रलाई अझ समृद्ध गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे । उपलब्धिहरू अपूर्ण रहेको उल्लेख गर्दै उहाँले पूर्णता दिँदै जानुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्