सीप सिकेर आएका श्रमिक अदक्ष बनेर फेरि विदेशतिरै

वैदेशिक रोजगारीमा पुनः श्रमस्वीकृति लिएर जाने श्रमिक सीप परीक्षण नगरी वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । सीप भएका पनि त्यसको परीक्षण नगरी वैदेशिक रोजगारीमा जाने गरेका कारण ४८ प्रतिशत श्रमिक अदक्ष रहेको तथ्यांकले देखाएको छ ।
यसमध्ये पनि महिला श्रमिकको हिस्सा अझ कम रहेको देखिन्छ । सरकारले २०७६ भदौबाट तोकिएको क्षेत्रअनुसार १ महिनाको सीपसम्बन्धी तालिम नलिएका युवा वैदेशिक रोजगारीमा जान नपाउने नियम बनाउने जनाएको थियो । गत आर्थिक वर्षमा कोरोना भाइरसका कारण विदेशिने कामदारको संख्यामा गिरावट आएको र पुनः श्रम स्वीकृति लिनेको संख्या बढी भएता पनि अदक्ष श्रमिकको रूपमा जाने संख्या उच्च हुनुले विदेशी भूमिमा सिकेको सीपलाई मान्यता नदिई पुनः अदक्ष हैसियतमा राखिनुले अन्तर्राष्ट्रिय बजारमा नेपाली श्रमिकको शोषण भइरहेको तथ्य स्थापित भएको विज्ञको भनाइ छ ।
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले वैदेशिक रोजगारीमा जाने युवाको कामलाई आम्दानी र सुरक्षाका हिसाबले मर्यादित बनाउन दुई वर्षअघि नै सीप विकास तालिम अनिवार्य विषयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने बताएका छन् । रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ लागू भएपछि नेपालबाट वैदेशिक रोजगारीमा जाने सबै युवा सीपयुक्त प्रमाणपत्रको आधारमा जानुपर्ने थियो । वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जाँदा अनिवार्य तालिम लिनुपर्ने व्यवस्था रहेको छ ।
पछिल्लो समय वैदेशिक रोजगारीमा जाने अधिकांश अदक्ष श्रमिक रहेको पाइएको देखिन्छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा श्रम स्वीकृति लिएको कुल तीन लाख ६८ हजार ४ सय ३३ नयाँ, वैधानिकीकरण तथा पुनः श्रम स्वीकृति लिएका थिए ।
जसमा ७५ हजारभन्दा बढी व्यक्तिको लक्षित देशबाट कार्य भिसा प्राप्त गरेका भए पनि यात्रा प्रतिबन्ध र कोभिड–१९ महामारीसँग सम्बन्धित अन्य विभिन्न प्रतिबन्धका कारण नेपालमै अलपत्र परेका थिए । त्यसैगरी आव २०७७÷०७८ मा एक लाख ६६ हजार ६ सय ९८ जसमध्ये ६१ जना उच्चदक्ष, व्यावसायिक काममा २ सय ४६, अर्धदक्ष १५ हजार ५ सय ८३, ७० हजार ४ सय २६ जना दक्ष तथा अदक्ष श्रमिकका रूपमा काम गर्न ८० हजार ३ सय ८२ जनाले स्वीकृति लिएका छन् । यसले ४८ प्रतिशत नेपाली श्रमिक अदक्ष श्रमिकका रुपमा वैदेशिक रोजगारमा गइरहेको देखिएको छ । ऐनले गरेको सो व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्दै आफ्नो क्षेत्रबाट वैदशिक रोजगारमा जान वाध्य व्यक्तिलाई सीपयुक्त बनाउने, उनीहरूले कामाएर पठाउने रेमिट्यान्सको सदुपयोग गर्दै पुनः वैदेशिक रोजगारको चक्रमा फसिरहने अवस्थाबाट बाहिर निकाल्न र उनीहरूले प्राप्त गरेको ज्ञान सीप र उद्यमशिलतालाई मुलुकको विकासका लागि सदुपयोग गर्ने वातावरण निर्माण गर्न सबै स्थानीय तहलाई आग्रह गर्नुपर्ने अध्यक्ष श्रेष्ठको सुझाव छ । गत वर्षदेखि सन् २०२१ जुलाई १५ सम्मको तथ्यांक हेर्ने हो भने एक लाख ६६ हजार ६ सय ९८ जनामा जम्मा ६१ जनाले मात्र उच्च दक्षताको आधारमा श्रम स्वीकृति लिएको छ भने अदक्षको आधारमा ८० हजार ३ सय ८२ जनाले स्वीकृति लिएको वैदेशिक रोजगार बोर्डको तथ्यांकले देखाएको छ ।
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीका लागि विदेश जाने युवाले अनिवार्य सीप विकाससम्बन्धी तालिम लिनुपर्ने जनाउँदै यसका लागि प्राविधिक र भौतिक पूर्वाधारको काम गरिरहेको बताए । विगतमा तालिम नै नलिई नक्कली प्रमाणपत्र लिई विदेश जाने प्रवृत्ति देखिएपछि दुई वर्षअघि अनलाइन प्रणालीमार्फत तालिमको ट्रयाकिङसमेत गर्ने गरी तालिमलाई बाध्यात्मक बनाउने निर्णय भएको थियो ।
वैदेशिक रोजगार विभागका अनुसार व्यवसायीले कामदार भर्ना गर्दा मागपत्रमा एक प्रकारको काम भनेर प्रक्रिया अघि बढाउने र विदेश पुगेर अर्को काम गराउने गरेको गुनासो धेरै आउन थालेपछि तालिमको व्यवस्थालाई अनिवार्य गरिएको जनाएको भए पनि यसको कार्यान्यन भने हुन सकेको छैन ।
बोर्डले भने सीप तालिमलाई वैदेशिक रोजगार विभागको अनलाइन पद्दतिमा एकीकृत हुनेगरी र सीप तालिम लिएका व्यक्तिको समग्र विवरण लिने गरी तालिम व्यवस्थापन सूचना प्रणाली (टीएमआईएस) सफ्टवेयरको निर्माण गरी कार्यान्वयनमा ल्याइएको जनाएको छ । बोर्डले आव २०७७-०७८ मा ७ हजार ९ सय ६० जनालाई लक्षित गरी सातैवटा प्रदेशहरूमा सीटीईभीटीई अन्तर्गतका आंगिक शिक्षालयमार्फत निःशुल्क रूपमा १५ वटा विषयमा सीप तालिम सञ्चालन गरिएको जनाएको छ ।