भैरहवामा ३ अर्ब ९१ करोड राजस्व संकलन «

भैरहवामा ३ अर्ब ९१ करोड राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय भैरहवाले चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यअनुसार राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७४-

७५ को प्रथम अर्धबार्षिक अवधिका लागि तोकिएको राजश्व संकलन लक्ष्यअनुसार असुली गरेको कार्यालयका प्रमुख कर अधिकृत अर्जुन ढुंगानाले बताए ।
आन्तरिक राजस्व विभागले यो कार्यालयलाई पुस मसान्तसम्ममा ३ अर्ब ९१ करोड ११ लाख ४३ हजार रूपैयाँ राजस्व संकलन असुलीको लक्ष्य दिएकोमा ३ अर्ब ९१ करोड ६१ लाख ६८ हजार संकलन गरेको हो । विभागले यो कार्यालयलाई चालु आर्थिक वर्षको लक्ष्य अघिल्लो वर्षको भन्दा करिव २८ प्रतिशत बढी दिएको थियो । “लक्ष्य पूरा गर्नु निकै चुनौतिपूर्ण मानिए पनि चुस्त कर प्रशासन, करमैत्री वातावरण, संघसस्था, उद्योग प्रतिष्ठान, व्यवसायी र आमकरदाताको सहयोगका कारण तोकिएको लक्ष्य पुरा भएको हो,” प्रमुख कर अधिकृत ढुंगानाले भने ।
राजस्व संकलनका दृष्टिले पुस महिनालाई निकै महत्वपूर्ण मानिन्छ । राजस्व संकलनलाई प्रभावकारी बनाउन राजस्व कार्यालय भैरहवाले पुसको अन्तिम हप्तामा शनिबार तथा सार्वजनिक बिदाका दिनमा समेत कार्यालय तथा राजस्व संकलन गर्ने बैंक खुला राखेर करदातालाई सेवा पु¥याएको थियो ।
कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको प्रथम अर्धबार्षिक अवधि पुस मसान्तसम्ममा अन्तशुल्कतर्फ २ अर्ब ८२ करोड ७४ लाख ४० हजार, आयकर ५४ करोड १३ लाख ६९ हजार, मूल्य अभिवृद्धि कर ४८ करोड ३७ लाख ७५ हजार, बहाल कर २ करोड ८१ लाख ४६ हजार, स्वास्थ्य सेवा कर २४ लाख ८१ हजार, शिक्षा सेवा शुल्क ४९ लाख ४२ हजार र अन्य २३ लाख ३२ हजार राजस्व संकलन भएको छ ।
कार्यालयका अनुसार साउनमा ३३ करोड २८ लाख, भदौमा ३८ करोड ३७ लाख, असोजमा ६७ करोड ३१ लाख, कात्तिकमा ७० करोड ७५ लाख, मंसिरमा ७९ करोड ३५ लाख र पुसमा १ अर्ब २ करोड ५७ लाख राजस्व संकलन भएको प्रमुख कर अधिकृत ढुंगानाले जानकारी दिए ।
कार्यालयले चालू आर्थिक बर्षमा ९ अर्ब ६२ करोड ९९ लाख ६५ हजार रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । गत वर्षमा विभिन्न अवधिमा भएको राजस्व संकलन दर तथा यस वर्षको वृद्धिदरका आधारमा बार्षिक राजस्व संकलन लक्ष्यअनुरूप नै हुने प्रक्षेपण गरिएको कार्यालयले जनाएको छ ।
यो कार्यालयअन्तर्गत व्यावसायिक स्थायी लेखा नम्बर लिने २४ हजार ८ सय ७५, व्यक्तिगत स्थायी लेखा नम्बर लिने १९ हजार ४ सय १६ करदाता छन् । त्यस्तै मूल्य अभिवृद्धि करतर्फ ३७४९, अन्तशुल्कमा २५३४, शिक्षा सेवा शुल्कमा ६७ र १३८ करदाता स्वास्थ्य सेवा करमा दर्ता छन् । पछिल्लो समय करमा आबद्ध हुने करदाता बढ्दै गएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्