२० मेगावाटको तल्लो मोदीबाट उत्पादन सुरू «

२० मेगावाटको तल्लो मोदीबाट उत्पादन सुरू


पर्वतको मोदी खोलामा निर्मित २० मेगावाट क्षमताको तल्लो मोदी जलविद्युत आयोजनाको उत्पादन सुरु भएको छ । निर्माण सुरु भएको नौ वर्षमा आयोजनाले उत्पादन थालेको हो ।
पर्वतको कुश्मा नगरपालिका–८ मा पावर हाउस र मोदी गाउँपालिका– ५ बाजुङमा ड्याम रहेको यो आयोजनाले गत सातादेखि नियमित उत्पादन सुरु गरेको जनाएको छ ।
३ अर्ब ६० करोड रुपैयाँ लागत इस्टिमेट अनुमान गरी २०६९ साउनमा सुरु भएको आयोजनाले ६० महिना अर्थात् २०७४ असारभित्रै उत्पादन दिने दाबी गरेको थियो । तर, भूकम्प नाकाबन्दी, कामदारको आन्दोलन, उपकरणमा क्षति, मुआब्जा विवादलगायतका झन्झटले निर्धारित समयभन्दा करिब ४ वर्ष ५ महिना ढिला उत्पादन थालेको हो ।
आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा पनि जोडिएको छ । करिब ५ सय मिटर टाढा रहेको मोदीखोला जलविद्युत आयोजनाको प्रसारण लाइनमा जोडिएको हो । समय लम्बिएसँगै विद्युत उत्पादन लागत बढेको भएपनि खर्चबारे आयोजना पक्षले जानकारी सार्वजनिक गरेको छैन ।
आयोजनाको सम्पूर्ण खर्चको विवरण सार्वजनिक भई नसकेको आयोजनाका प्रमुख पवनकुमार यादवले जानकारी दिए । २०६८ भदौमा नेपाल विद्युत प्राधिकरणसँग खरिद सम्झौता भएको आयोजनाले वार्षिक ११ करोड ७० लाख युनिट बिजुली उत्पादन गर्ने लक्ष्य थियो । तर समयमै आयोजना नसकिँदा सम्झौता के हुने भन्ने निश्चित नभएको आयोजना पक्षले बताएको छ ।
टनेल, पावर हाउसलगायतका संरचना निर्माणकै क्रममा मानवीय तथा प्राकृतिक प्रतिकूलताका कारण उत्पादन मिति दुई वर्षपछि सरेको थियो । २०७२ को भूकम्प, स्थानीयको अवरोधलगायत कारणले क्षति बेहोरेको आयोजनाले परीक्षणका क्रममा टनेलमा पानी चुहिएपछि उत्पादन मिति थप दुई वर्षपछि धकेलिएको हो ।
आयोजनाबाट उत्पादित बिजुली पातीचौरस्थित १३२ केभी ए प्रसारण लाइनको सब स्टेसनमार्फत राष्ट्रिय प्रसारणमा पठाइएको आयोजनाका सूचना अधिकारी सुरेन्द्र बेल्बासेले बताए । योसँगै मोदीखोलामा तीनवटा जलविद्युत आयोजना सञ्चालमा आएका छन् भने थप तीन चार वटा निर्माणाधिन अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्