‘चर्को ब्याजदर र तरलता अभावले पलायन हुने अवस्था आयो’

बैंकको चर्को ब्याजदरसँगै तरलता अभावका कारण उद्योग व्यवसायबाट पलायन हुनुपर्ने अवस्था सिर्जना भएको पूर्वका उद्योगी व्यवसायीहरूले बताएका छन् ।
बैंकको ब्याज र सावा तिर्न नसकेर कतिपय उद्योगी व्यवसायीहरू भाग्नुपर्ने अवस्था आएको उनीहरूको भनाइ छ । नेपाल उद्योग परिसंघ प्रदेश–१ ले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर उद्योगी व्यवसायीहरूले कठिन अवस्थाको सामना गरिरहेको बताए । परिसंघ प्रदेश–१ अध्यक्ष भीम घिमिरेले चर्को ब्याज तिर्न नसकेर धेरै उद्योगी व्यवसायीहरू पलायन भएको दुखेसो पोखे ।
सरकारको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समस्या समाधान नभएको उनको कथन छ । “एकातिर चर्को ब्याजदर लागू गरिएको छ, अर्कातिर तरलताको चरम अभाव छ,” उनले भने, “कुनै पनि लगानीकर्ताले गोजीमा पैसा राखेर उद्योग व्यवसाय सुरु गर्दैन, बैंकमा ऋण लिएर नै उद्योग व्यवसाय गर्ने हो । तर, भौतिक संरचनामा आधा लगानी भइसकेको हुन्छ, थप लगानीका लागि गयो भने ऋण दिन सकिँदैन बैंकले भन्छ ।” एकातर्फ बैंकको ब्याजदर अस्वभाविक बढेको र अर्कोतर्फ बैंकहरूले तरलताको अभाव देखाउँदै ऋण दिन आनाकानी गरिरहेका कारण उद्योग व्यवसाय थला पर्ने अवस्थामा पुगेको उनले बताए ।
बैंक र बिमा कम्पनीहरूको मनोमानीले उत्पादनमूलक क्षेत्र अस्तव्यस्त बनेको उनको आरोप छ । अध्यक्ष घिमिरेले यही अवस्था रहे उद्योगहरू टाट पल्टिन धेरै समय नलाग्ने स्पष्ट पारे । उनले बैंकहरूले ओद्योगिक कच्चा पदार्थ आयातका लागि पनि एलसी खोल्न नमानिरहेको गुनासो पोखे । उनले बाणिज्य बैंकहरूलाई नियमन गर्न नसके नेपालको अर्थतन्त्र दुर्घटनातर्फ जाने ठोकुवासमेत गरे । नेपालका बैंकहरू गाउँका साहु महाजनभन्दा कम नभएको घिमिरेको टिप्पणी छ । उनले भने, “विश्वमा कुनै पनि मुलुकमा बैंकहरूको यस्तो मनोमानी छैन, नेपालका बैंक त उहिल्यैका सामन्तीभन्दा कम छैनन् । सरकारले बैंकहरूलाई पूरै छाडा छाडिदिएको छ ।” तरलता अभाव, बैंकको चर्को ब्याज र बिमा कम्पनीहरूको मनपरीविरुद्ध विगतदेखि नै संघर्ष गरिरहेको र पुनः चरणबद्ध आन्दोलनमा उत्रनुपर्ने अवस्था आइसकेको उनले बताए ।
घिमिरेले हालै सम्पन्न उद्योग परिसंघको बंगलादेश भ्रमणका उपलब्धिहरूबारे पनि जानकारी गराए । उनले भ्रमणले नेपालबाट बंगलादेश विद्युत निर्यातको ढोका खुलेको बताए । घिमिरेका अनुसार आगामी मार्चमा नेपाल, भारत र बंगलादेशका विदेशमन्त्रीको बैठकले नेपालबाट ५ सय मेगावाट विद्युत बंगलादेश लैजाने सहमति गर्ने जानकारी दिए । उनले कृषि र पर्यटनको क्षेत्रमा पनि बंगलादेशसँग सहकार्य गर्ने सहमति भएको बताए ।
नेपाल उद्योग परिसंघ प्रदेश–१ का संरक्षक पवनकुमार सारडाले ५ महिनामा १० प्रतिशत पनि विकास खर्च नहुँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताए । “पाँच महिनामा विकास खर्च १० प्रतिशत पनि गर्न सकेको छैन सरकारले तर प्रशासनिक खर्च भने शतप्रतिशत गरेको छ,” सारडाले भने, “अनि देशको विकास कसरी हुन्छ, पैसा जति सकै राष्ट्रिय ढिकुटीमा थुप्रिएको छ ।”
उनले चर्को ब्याजदर र सरकारको अस्थिर नीतिले समग्र अर्थतन्त्र समस्यामा परेको बताए । । सरकारले केही उद्योगको हित गरेर धेरै उद्योगलाई समस्यामा पार्ने नीति लिएको बताउँदै सरकारको गलत नीतिलाई तत्काल सुधार गर्न आग्रह गरे । नेपाल उद्योग परिसंघका प्रमुख सल्लाहकार महेश जाजुले बैंकले लगानी गर्न छाडेर बार्गेनिङ गर्न थालेको बताए । उनले औद्योगिक कच्चापदार्थ आयातका लागि एलसी खोल्न पनि बैंकहरूले उद्योगीहरूसँग ब्याजमा बार्गेनिङ गरिरहेको आरोप लगाए । “राष्ट्रबैंकले वाणिज्य बैंकहरूलाई लगाम नलगाएसम्म यस्तै समस्या आइरहन्छ,” जाजुले भने ।
उद्योगी व्यवसायमा ध्यान दिनुपर्नेमा लगानीकर्ताहरूले अनावश्यक समस्याको पछि कुद्नु परिरहेको उनले गुनासो गरे । विगतमा दैनिक १८ घण्टासम्म लोडसेडिङ र मजदुर समस्या झैल्दै आएका यस क्षेत्रका उद्योगीहरूले विगत तीन वर्षदेखि चर्को ब्याजदर र तरलता अभावको सामना गरिरहेको जाजुले बताए ।
ब्याजदर र तरलता अभावले पूर्वका सबै उद्योग प्रभावित भएको उनको दाबी छ । पूर्वमा मात्रै करिब ६ सय उद्योग छन् । ती उद्योगले १ लाख २५ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएका छन् । खासगरी यस क्षेत्रका उद्योगले चाउचाउ, बिस्कुट, तेल, मैदा, जस्तापाता, रड, जुटलगायतका वस्तु उत्पादन गर्छन् ।