बोनस सेयर कि नगद लाभांश «

बोनस सेयर कि नगद लाभांश

पछिल्लो समय बैंकहरूले धमाधम सेयर बोनस वितरण गरिरहेका छन् । लाभांशको ३० प्रतिशतमात्र नगद लाभांश वितरण गर्न पाइने प्रावधानअनुसार बैंकहरूले अधिकतम बोनस सेयर वितरण गरिरहेका हुन् । यसरी बोनस सेयर वितरण गर्दा बैंकहरूको चुक्ता पुँजी बढे पनि बजारमा नगद प्रवाह हुन सकेको छैन ।
लाभांशको रूपमा आएको रकम लगानीकर्ताहरूसँग नपुग्दा एक त मानिसहरूको हातमा क्रयशक्ति कम भएको छ भने बैंकहरूमा नयाँ निक्षेपको पनि अभाव भएको छ । बैंकहरूले नगद लाभांश वितरण गरेको भए त्यो रकम पुनः घुम्दै–फिर्दै बैंकहरूमा नै नयाँ निक्षेपको रूपमा आउँथ्यो, तर कागजमा मात्र लाभांश आउँदा त्यसले नयाँ निक्षेप सिर्जना गर्न सकेको छैन ।
अर्कातिर यसरी सेयर बोनस बाँड्दै जाँदा बजारमा सेयरको सप्लाई बढ्न गई सेयरको भ्यालुसमेत ह्वात्तै घटेको छ । यसै सन्दर्भमा बैंकर तथा लगानीकर्ताहरूसँग कारोबारकर्मी सुमित सुवेदीले गरेको कुराकानीको सार :

बैंकहरूलाई अहिले चुक्ता पुँजीको समस्या छैन
तिलक रावल
पूर्वगभर्नर
चुक्ता पुँजी बढाउने विषयका लागि राष्ट्र बैंक धेरै पहिलेदेखि लागिरहेको छ । विगतमा म राष्ट्र बैंकको गभर्नर हुँदा एक अर्बको चुक्त पुँजी बनाउनुप¥यो भन्दा पनि ‘बढी भयो यसलाई घटाउनुपर्छ’ भन्ने गुनासो बैंकका कार्यकारी प्रमुखलगायत सरोकारवाला व्यक्तिहरूले गरेको सुनिन्थ्यो । तर, अहिले बैंकहरूको चुक्ता पुँजी धेरै नै बढिसकेको छ ।
राष्ट्रियस्तरका वाणिज्य बैंकहरूको चुक्ता पुँजी हेर्ने हो भने पहिलेको तुलनामा निकै धेरै छ । मेरो विचारमा ‘यति वर्षभित्रमा चुक्ता पुँजी १० अर्ब पु¥याऊ, १२ अर्ब पु¥याऊ’ भनेर राष्ट्र बैंकले भनिराख्नु आवश्यक छैन । धेरैजसो राष्ट्रियस्तरका वाणिज्य बैंकहरूले राष्ट्र बैंकले एउटा समयसीमामा चाहेको भन्दा बढी चुक्ता पुँजी जम्मा गरिसकेका छन् । अन्य सानातिना तथा केही समस्यामा परेका बैंकहरूले पनि चुक्ता पुँजी बढाएर नै लगिराखेको अवस्था छ । चुक्ता पुँजी अहिलेको समस्या होइन जस्तो लाग्छ ।
कोभिडले विश्व अर्थतन्त्रलाई नै तहसनहस गरिराखेको समयमा हाम्रो अर्थतन्त्र पनि यसबाट बच्न सकेको छैन । त्यसको प्रहार हाम्रो अर्थतन्त्रमा पनि परेको विगतदेखि नै हामीहरूले देखिराखेका छौं । त्यसैले अर्थतन्त्रमा समस्या आइराखेको समयमा मानिसहरूको हातमा पैसा पर्नुपर्छ । अर्थात् सर्वसाधारणसँग क्रयशक्ति हुनुपर्छ, जसका कारण उसले वस्तु र सेवाको माग गर्न सक्छ । त्यसले उत्पादनलगायतका क्रियाकलापहरू सञ्चालन हुन सहयोग गर्छ ।
युरोप, अमेरिकालगायत कैयौं देशका रेस्टुराँ, बारलगायतका स्थानहरू बन्द गर्दा सम्बन्धित निकाय तथा सरकारले उनीहरूले पाउने तलब अर्थात् पारिश्रमिक दिने व्यवस्था गरेको थियो । त्यसको कारण समस्त मागमा ह्रास नआओस् भन्ने नै हो । मागमा ह्रास आएपछि उत्पादकले वस्तुको उत्पादन किन गर्छ ? त्यसैले यस्तो समयमा मानिसहरूको हातमा पैसा रहनु आवश्यक छ ।
त्यसैले राष्ट्र बैंकले नगद लाभांश दिने कुरामा कडाइ ग¥यो कि भन्ने लागेको छ । यसले तरलता प्रवाह गरेर आर्थिक क्रियाकलाप सञ्चालन गर्नमा केही सहयोग पुग्थ्यो । बैंकहरूको पुँजी बढाएर लैजानुपर्ने कुरा सत्य हो ।
तर, ‘आज बैंकहरूको चुक्ता पुँजी कम भएकाले धराशायी हुनेवाला छन्, अप्ठ्यारो स्थितिमा पर्नेवाला छन्’ भन्ने समस्या आज राष्ट्र बैंकलाई छैन । त्यो स्थिति पार गरिसकेका छन् । हामीले कुनै पनि समस्यालाई एक पक्षीय ढंगले मात्र हेर्नु हुँदैन । अर्थात् ‘बास्केट एप्रोच’ अनुसार चल्नुपर्ने हुन्छ । समस्त अर्थतन्त्रलाई राष्ट्र बैंकको निर्णयले के असर गर्छ भन्ने कुरा बुझेर मात्र निर्णय गर्नुपर्छ । यसले समग्रमा अर्थतन्त्रलाई राम्रो गर्छ जस्तो लाग्दैन ।
यो समय दसैंमा ग्रामीण क्षेत्रबाट आएका खसीबोका फिर्ता भए । दुई–तीन वर्ष पहिले काठमाडौंमा खसीबोका पाइएन भनेको सुनिन्थ्यो । अहिले ल्याएका खसीबोका फिर्ता भए, किनभने बजारमा माग छैन । जनताको हातमा पैसा छैन, त्यसैले माग पनि छैन । राष्ट्र बैंकले त्यो विषयमा सोच्नुपर्छ । एकल सोचाइले अर्थतन्त्रलाई राम्रोभन्दा पनि नराम्रो गर्छ जस्तो लाग्छ । बजार अर्थतन्त्रलाई अनुगमन गरेर पहिलेका नीतिहरूलाई परिवर्तन गरेर कार्यान्वयन गर्नुपर्छ । आवश्यक परे नयाँ नीति निर्माण गरेर कार्यान्वयन गर्नुपर्छ ।

बैंकमा पैसा रहोस् भन्ने उद्देश्यले बोनस सेयरमा जोड
डा. गुणाकर भट्ट
प्रवक्ता, नेपाल राष्ट्र बैंक
विगत दुई वर्षदेखि विश्व अर्थतन्त्र जसरी कोभिड महामारीको चपेटामा परेको छ, त्यसबाट हामीहरू पनि प्रभावित भएका छौं । यसै सन्दर्भमा हामीले नगद लाभांश ३० प्रतिशतसम्म दिने र बोनस सेयर ७० प्रतिशत दिन लगाउने भन्ने निर्णय ग¥यौं । कतिपय देशमा कोभिड संक्रमणपछि बैंकहरूले लाभांश बाँड्न नपाइने सञ्चितिको रूपमा राख्नुपर्ने भन्ने निर्णय पनि गरे । अहिलेको निर्णयले जसले पुँजी लगानी गर्नुभएको छ, उहाँहरूको बोनस सेयर बढ्छ, पुँजी बढ्छ । यस्तो अवस्थामा कर्जामा जति नोक्सानीको व्यवस्था गर्नुपर्छ त्यो पर्याप्त नभएको हुनसक्छ । त्यसका लागि पनि यो सञ्चिति आवश्यक पर्छ ।
नाफालाई रिटेन अर्निङकै रूपमा बैंकमा राख्नुप¥यो भने त्यो लगानीकर्ताका लागि, बैंकको संस्थापक सेयर लगानीकर्ताका लागि पनि प्रिय निर्णय हुन सक्दैन । त्यसैलाई चुक्ता गर्नका लागि राष्ट्र बैंकले अधिकतम बोनस सेयर लिने, त्यसले कुनै न कुनै रूपले बैंकमा पैसा रहोस् भन्ने उद्देश्यले बोनस सेयरमा जोड दिएर नगद लाभांश कम दिए भनेको अवस्था हो । यसलाई सामान्य अवस्थामा भन्दा पनि कोभिड संक्रमणको परिप्रेक्ष्यमा हेर्नुपर्छ । अन्तर्राष्ट्रिय अभ्यास पनि यसै किसिमले गइराखेको छ ।
भारतको एसबीआई बैंकको चुक्ता पुँजी कम छ नि भन्ने विषय भने केही फरक हो । एसबीआई सरकारी बैंक हो । नेपालकै राष्ट्रिय वाणिज्य बैंकको कुरा गर्ने हो भने पनि चुक्ता पुँजी धेरै कम छ । यस्ता बैंकहरूमा अप्ठ्यारो पर्दा सरकारको स्वामित्व भएकाले सरकारले दायित्व वहन गर्छ भन्ने मनोविज्ञान रहेको हुन्छ । त्यो पब्लिक लिमिटेड कम्पनीजस्तो नभएर विशेष अधिकार प्राप्त बैंकहरू हुन् । त्यसकारण पनि अन्य बैंकको पुँजीगत आधार बलियो चाहिन्छ भन्ने कुरामा दुईमत छैन ।
बैंकको चुक्ता पुँजी बलियो हुनुपर्छ भन्ने कुरा सन् २००८ को विश्व आर्थिक मन्दीपछि जोड दिइएको विषय हो । सन् १९९० देखि २००८ को संकटअगाडि ‘थोरै चुक्ता पुँजी भए पनि फरक पर्दैन । बैंकहरू आफ्नो स्व–नियममा चल्छन् । मार्केट रेगुलेसन महŒवपूर्ण हुन्छ’ भन्ने धारणा थियो । तर, त्यसपछि लगानीकर्तालाई धेरै जिम्मेवार बनाउनका लागि यस्तो व्यवस्था आएको हो ।
पछिल्लो पाँच–छ वर्षको कर्जा विस्तार हेर्ने हो भने २०७२ मा जुन दरमा कर्जा विस्तार भएको थियो, अहिले त्योभन्दा पनि धेरै विस्तार भइरहेको छ । बैंकमा लगानीकर्ताको निश्चित प्रतिशत हिस्सा भएपछि बैंकमा कुनै समस्या आइपर्दा, लगानीकर्ताहरू पनि विवेकशील हुन सक्छन् । अहिले नेपालका ए, बी, सी सबै बैंकहरूलाई जोड्ने हो भने सेयरमा ८ प्रतिशत लगानीकर्ताको सेयर छ भने बाँकी त सबै निक्षेपकर्ताको हो । निक्षेपकर्ताको हितलाई सुरक्षित गर्नका लागि, त्यसका लगानीकर्ताको स्टेक बढाउनुपर्छ भन्ने अवधारणा २००८ पछि विकसित रुपमा आएको हो । अहिले नेपालमा बैंकहरूको पुँजी धेरै भयो भन्ने अवस्था पनि देखिँदैन । अहिले कोरोनाको समयमा कतिपय मुलुकमा त लाभांश नै वितरण गर्न रोक लगाई रिटेन अर्निङकै रूपमा राख्न लगाइयो । विकसित मुलुकमा पनि त्यस्तै गरियो । यस्तो समयमा ‘लोन प्रोभिजन’ थप गर्न सक्नुपर्ने अवस्था आउँछ । भएको कर्जामा जोखिम हुन सक्छ । त्यसैले सञ्चितिमा जोड दिइएको हो ।

तरलताको समस्या समाधान गर्न सरकारी खर्च बढाउनु प¥यो
भुवन दाहाल
सीईओ, सानिमा बैंक
यसमा केही बुझ्नुपर्ने कुरा छ । बैंकहरूले बोनस सेयर नै दिए पनि लगानीकर्तालाई नगद चाहिएको भए त्यो सेयरलाई बेच्न पाइ नै हालिन्छ । त्यसैले बोनस सेयर दिने र नगद लाभांश दिनेमा खासै फरक पर्छ जस्तो लाग्दैन । बोनस सेयरलाई कसरी मनिटाइज गर्ने भन्ने कुरा सेयर होल्डरको इच्छामा भर पर्छ ।
नगद लाभांश दिएको भए नगदमै पाउनु हुन्थ्यो, बोनस सेयर दिँदा त्यसलाई बेच्नुप¥यो भन्ने मात्र हो ।
अब बैंक बलियो हुनलाई चुक्ता पुँजी नै हुनुपर्छ भन्ने सन्दर्भमा चुक्ता पुँजी नै चाहिन्छ भन्ने पनि हुँदैन । बैंकको प्राथमिक पुँजीको अवस्था अर्थात् कोर क्यापिटलले पनि बैंकको अवस्था निर्धारण गर्छ ।
बोनस सेयर वा नगद लाभांश कुनै पनि नबाँडी बैंकमा नै लाभांश रिटेन अर्निङको रूपमा राख्ने हो भने पनि बैंकको कोर क्यापिटल बलियो हुन्छ । चुक्ता पुँजी नै चाहिन्छ भन्ने छैन । जस्तै बैंकले लाभांश बाँडेन भने त्यो पैसा रिटेन अर्निङको रूपमा आउँछ र त्यो रिटेन अर्निङले पनि चुक्ता पुँजीकै काम गर्छ । त्यस्तै बैंक बलियो हुनका लागि यसले राम्रोसँग तरलता पनि मेन्टेन गर्नुपर्ने हुन्छ । त्यो कुरामा पनि बैंकहरूले ध्यान दिनुप¥यो । बैंकहरूमा साना डिपोजिट जति बढी हुन्छन् त्यति नै बैंक बलियो बन्दै जान्छ ।
अहिले बैंकहरूसँग तरलताको समस्या छ । त्यसलाई तत्काल समाधान गर्न सरकारले सरकारी खर्च बढाउनु तथा राष्ट्र बैंकले रिफाइन्यान्स गर्नु उपयुक्त विकल्प हुन सक्छन् । आयातले पनि तरलतालाई असर गरिरहेको हुनाले सरकारले आयातलाई निरुत्साहन गर्ने तरिकाले रणनीति बनाउनुपर्छ ।
बजारमा कहींकतै ब्याजदर बढायो भने पनि आयात घट्छ भन्ने गरेको सुनिन्छ । तर, अहिले नै बैंकहरूको ब्याजदर १० प्रतिशतभन्दा माथि पुगेको छ । १२/१३ प्रतिशतभन्दा तल हामीले कर्जा दिएका छैनौं । बैंकहरूसँग पैसा पनि छैन । त्यसले पनि कर्जा प्रवाहमा निरुत्साहन भइरहेको छ जस्तो लाग्छ । आयात हुने वस्तु तथा सेवा तोकेरै यसका लागि धेरै ब्याजदर तोक्ने भन्ने निर्णय भने गर्न सकिएला । तर, ब्याजदर अहिले पनि निकै उच्च छ । ५ प्रतिशतको मुद्रास्फीति भएको समयमा १० प्रतिशतको निक्षेपदर भनेपछि उच्च नै मान्नुपर्छ ।

सेयर बजार खस्कनुमा बैंकको तरलता समस्या हो
विष्णु बस्याल
सेयर लगानीकर्ता
अहिले पछिल्लो समय सेयर घटिरहेको छ । हुन त कतिले राष्ट्र बैंकले ४÷१२ को क्याप लगाएकाले यस्तो भएको हो भन्ने गरेका छन् । त्यो त्यति ठूलो समस्या होइन । हुन त नेपाल राष्ट्र बैंकले जुन नीति लिएको छ, त्यो आफैंमा राम्रो होइन । किनकि पुँजीबजारमा मेरो केही सम्पत्ति छ भने त्यो सम्पत्तिको आधारमा मैले कर्जा लिन पाउनुपर्छ र संस्थागत लगानीकर्तालाई त त्यो क्याप लगाउनु ठीक पनि होइन । त्यसको एउटा मानसिक असर त बजारमा परेको छ । यदि मैले ठूलो कर्जा लिएको छु भने बैंकहरूले त्यसलाई रिन्यु नगर्ने गरेका छन् । अन्य बैंकहरूमा जाँदा थप कर्जा नपाउने कारणले गर्दा सेयर बेचेर भए पनि कर्जा तिर्नुपर्छ भन्ने मानसिक चाप परेको छ । त्यसले गर्दा पनि बजारमा केही प्रभाव परेको हो । तर, त्यति ठूलो प्रभाव भने परेको छैन ।
अहिले सेयर बजार खस्कनुको मुख्य कारण बैंकको तरलताको समस्या नै हो । तरलताको समस्यामा बोनस सेयर नदिएर नगद लाभांश दिएको भए त्यो मानिसको हातमा पथ्र्यो । त्यो नगद पुनः लगानी हुन्थ्यो । बैंकमा बसेको पैसा बजारमा गएपछि पुनः ‘डिपोजिट कलेक्सन’ पनि हुन्थ्यो । सरसर्ती हेर्दा, २ सय ७० अर्ब रुपैयाँमा १० प्रतिशत मात्र नगद लाभांश बाँडेको भए पनि २७ अर्ब रुपैयाँको तरलता बजारमा आउँथ्यो । तर, बोनस बाँड्दा त्यो पुँजीमा जोडिन पुग्यो र सीडी रेसियोमा परेन । अर्कातर्फ नगद लाभांश नबाँडेपछि मानिसको हातमा पैसा पुगेन । त्यसले गर्दा नगद लाभांश बाँडेको भए राम्रो हुथ्यो कि जस्तो देखिन्छ ।
तर, अर्कातिर हेर्दा बैंकले नगद लाभांश बाँडेको भए बैंकको नगद नै बाहिर जान्थ्यो भन्ने पनि होला । तर, सीडी गणनाको सन्दर्भमा नगद लाभांश बाँडेको राम्रो नै देखिन्छ ।
अर्कातिर बोनस सेयर बाँडेपछि मूल्य समायोजन हुन्छ । जति प्रतिशतले बाँडेको छ त्यति प्रतिशतले मूल्य समायोजन हुन्छ । तर, त्यसले इन्डेक्समा भने असर गर्दैन । मानौं, मसँग १ सयवटा सेयर थियो र मैले बोनस सेयरको रूपमा २० वटा थप सेयर बढी पाएँ । मैले त त्यो २० वटा सेयरलाई बेचेर रकम निकाल्न चाहन्छु । हुन त त्यो सेयरको मूल्य समायोजन भएको हुन्छ । तर, २० वटा बढी पाएँ भनेर त्यसलाई बेच्ने जुन प्रवृत्ति हुन्छ, त्यो प्रवृत्तिले मूल्यमा थप चाप पर्ने गर्छ । सेयरको सप्लाइ बढी भयो, त्यसले मूल्यमा चाप पर्छ अर्थात् मागभन्दा धेरै सप्लाई हुन्छ, जसले सेयरको मूल्य घटाउँछ ।
मानिसहरूले निःशुल्क आएको सेयर हो भनेपछि जुनसुकै मूल्यमा पनि बेच्न चाहन्छ । तर, वास्तवमा उसको मूल्य समायोजन भएको हुन्छ ।
अर्कातिर नेपालको बजारमा नगद लाभांश दिने कम्पनीहरूलाई लगानीकर्ताले नै रुचाउँदैनन््् । जुन कम्पनीले बोनस दिन्छ लगानीकर्ताको प्रिय कम्पनी पनि त्यही हुने प्रवृत्ति छ । त्यसले गर्दा पनि कम्पनीहरूले बोनस बाँड्छन् । नेपालका कम्पनीहरूले जसरी सेयर वितरण गर्छन्, अन्तर्राष्ट्रिय बजारमा त्यो चलन कतै पनि छैन । बोनस सेयर पनि कहिल्यै दिँदैनन् । भारतीय बजारमा पनि नगद लाभांशको ठाउँमा बोनस सेयर दिइयो भने त्यो कम्पनीको सेयरको भाउ उल्टै घटेको हुन्छ ।
नेपालमा भने बोनस दिने भन्यो भनेपछि उल्टै मूल्य बढेको हुन्छ । लगानीकर्ताले कम्पनीमा लगानी गरिसकेपछि मैले त्यसको प्रतिफल पनि नगदकै रूपमा पाउनुप¥यो भन्ने हुन्छ । त्यो साधारण नियम हो । नगदको ठाउँमा सर्टिफिकेट दिएर त भएन नि । नगद लाभांश दिएको भए त्यो नगद पुनः बजारमा लगानी हुन्थ्यो । त्यसले मूल्य समायोजन पनि गर्दैनथ्यो । सेयरको कित्ता पनि बढ्दैनथ्यो । त्यसले सप्लाई बढ्दैनथ्यो, जसले सेयर बजारको मूल्य बढाउँथ्यो । बोनस दिँदा निःशुल्क सेयर आयो भनेर बेच्न थाल्दा मूल्य घट्न जान्छ ।
यसका साथै सेयर घट्नुका अन्य कारण पनि छन् ।
विभिन्न कुराहरूले गर्दा झन्झट बनायो, राम्रो कमाउन पाइएन भन्ने लाग्यो भने लगानीकर्ताहरू सेयर बेच्न लाग्छन् । अर्कातिर वित्तीय संस्थाहरूको कमाइ घट्दो छ भन्ने भयो भने पनि मानिसहरू सेयर बेच्न थाल्छन् । अर्को कुरा, छोटो समयमा धेरै नाफा कमाएको मानिसले पनि नाफा बुक गरेर बसौँ भन्ने भयो । सेयर घट्नुमा विभिन्न कारणहरू छन् ।
त्यसमा प्रमुख कारण भनेको अहिले वित्तीय तरलताको संकुचन हो । अर्को ४/१२ को कुराहरू पनि भयो । नियामक निकायहरूको उदासीनता, पुँजीबजार सुधारका लागि कुनै पनि नीति नल्याउने र यसमा चासो पनि नदेखाउने । आफ्नो गतिमा चलिरहेको सेयर बजारको मूल्यलाई हेरेर हस्तक्षेपकारी नीतिहरू ल्याइदिने । त्यसले गर्दा पनि मानिसहरूको सोचाइ नकारात्मक भएको हो ।

प्रतिक्रिया दिनुहोस्