ट्र्याक खुलेको ४२ वर्षपछि कालोपत्रे «

ट्र्याक खुलेको ४२ वर्षपछि कालोपत्रे

सुर्खेत जिल्लाकै पुरानो सडक धुलियाबिट भेडावारी सडक ट्रयाक खुलेको ४२ वर्षपछि कालोपत्रे हुने भएको छ । पछिल्लो समय मदन भण्डारी राजमार्गमा समावेश गरिएको धुलियाबिट भेडाबारी सडक कालोपत्रे गर्नका लागि निर्माण कम्पनीसंँग सम्झौता भएको हो ।
उक्त सडकले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित धुलियाबिटबाट भेरीपारिका बस्ती लेकबेसी हुँदै गुर्भाकोट नगरपालिकाको भेडाबारीसम्म जोड्छ । सडक कालोपत्रेको ठेक्का कालिका (केएस) वेदान्सी जेभीले पाएको छ । राजमार्ग आयोजना निर्देशनालयलले गत वैशाखमा एक अर्ब ५१ करोड रुपैयाँमा सडक स्तरोन्नति र कालोपत्रेका लागि बोलपत्र आह्वान गरिएको थियो । कम्पनीले घटेर एक अर्ब तीन करोड रुपैयाँमा सम्झौता गरेको छ ।
३५ किलोमिटर लामो (धुलियाबिट भेडाबारी) खण्ड करिब ४ मिटरमात्रै चौडाइ छ । नौ मिटर रहने गरी सडक स्तरोन्नति गर्दा सात मिटर चौडाइ बराबर कालोपत्रे गरिने भएको छ  । यो सडक स्तरोन्नति भए वीरेन्द्रनगर नगरपालिका (११ र १३, लेकबेंसी नगरपालिका १, २, ३, ४, ६, ७, ९ र १० तथा गुर्भाकोट नगरपालिका( १०, ११, १२, १३ र १४ वासी प्रत्यक्ष प्रभावित हुनेछन् । कच्ची सडकका कारण नै उक्त सडक खण्डमा पटक पटक सवारी दुर्घटना भएका छन् । स्तरोन्नति नहुँदा वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे यात्रा गर्नुपर्ने बाध्यता छ । पञ्चायतकालमै ट्रयाक खुलेको उक्त सडकको लामो समयसम्म स्तरोन्नति नहुँदा स्थानीयले सास्ती खेप्दै आएका थिए । पञ्चायत कालमै ट्रयाक खुले पनि राजनीतिक नेतृत्वले चासो नदिँदा उक्त सडकको स्तरोन्नति हुन सकेको थिएन । त्यसपछि खुलेका सडकहरू कालोपत्रे भइसक्दा पनि धुलियाबिट भेडाबारी सडकको भने स्तरोन्नति हुन सकेको थिएन । हाल यसलाई महेन्द्र राजमार्गमा जोड्ने छोटो बाटोका रूपमा पनि रेखांकन गरिएको छ । धुलियाबिट भेडाबारी–काल्चे–सल्यानको कालिमाटी, दाङ तुल्सीपुर हुँदै महेन्द्र राजमार्गको लमही जोड्ने दु्रत मार्ग तयार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्