बचतपत्रमा लगानी गर्न राष्ट्र बैंकको आह्वान «

बचतपत्रमा लगानी गर्न राष्ट्र बैंकको आह्वान

झापा-बचतपत्रमा लगानी गर्न आह्वान गरे पनि नागरिकले चासो नदेखाएपछि लगानीको आवश्यकता र महत्व बुझाउन राष्ट्र बैंकले पहल सुरु गरेको छ । नेपाल राष्ट्र बैंकले ‘वैदेशिक रोजगार बचतपत्र’मा लगानी गर्न सरोकारवालालाई आह्वान गर्दै आएको छ ।
राष्ट्र बैंकले झापाको बिर्तामोडमा ‘वैदेशिक रोजगार बचतपत्रसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न गरेको छ । जनप्रतिनिधि, उद्योगी, वैदेशिक रोजगारमा गएका परिवारका सदस्य, बिक्री प्रबन्धको इजाजत लिएका बैंक तथा रेमिट्यान्स कम्पनीका प्रतिनिधि, शिक्षक, विद्यार्थीलगायतसँग राष्ट्र बैंकले अन्तक्र्रिया गरेको हो । कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले नेपालको सार्वजनिक ऋण ९०५ अर्ब रहेको बताए । कुल ऋणको ३८५ अर्ब आन्तरिक र अरु बाह्य भएको उनको भनाइ थियो ।
विगत नौ वर्षदेखि सरकारले नियमित वैदेशिक रोजगार बचतपत्र जारी गर्दै आएको छ । सरकारको वार्षिक कार्यक्रमअनुसार नेपाल राष्ट्र बैंकले हरेक वर्ष बचतपत्र निष्कासन गर्दछ । सरकारले ट्रेजरी बिल, आवधिक विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगारी बचतपत्रमार्फत ऋण लिने गरेको छ । आम्दानीको १० प्रतिशत यसमा लगानी गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । कुल गार्हस्थ्य उत्पादनको ३० प्रतिशत ऋण नेपालको रहेको थापाले बताए ।
सबैभन्दा धेरै सार्वजनिक ऋण जापानको छ । जापानको २३८, भारतको ७०, चीनको ५०, अमेरिकाको १०६ प्रतिशत ऋण रहेको उनले बताए । “विगतमा नेपालको ६२ प्रतिशतसम्म ऋण थियो, अहिले त्यो घटेर ३० प्रतिशतमा झरेको छ,” थापाले भने, “नेपालका लागि कुल गार्हस्थ्य उत्पादनको ५० देखि ६० प्रतिशत ऋण उपयुक्त छ र त्यो सुरक्षित मानिन्छ ।”
नेपालले ऋण लिएर ठूला योजना कार्यान्वयन गर्न सक्ने अवसर रहेको थापाले बताए । विगतमा भएको सशस्त्र द्वन्द्व र विभिन्न आन्दोलनका कारण लगानीको वातावरण सुरक्षित नभएकाले सार्वजनिक ऋण घटेको उनको भनाइ थियो । २०६७ सालदेखि सरकारले बचतपत्र जारी गर्दै सार्वजनिक ऋण आह्वान गर्ने गरेको छ । हालसम्म ११ अर्ब सार्वजनिक ऋण आह्वान गर्दा ५८ करोड रूपैयाँमात्र संकलन हुन सकेको थापाले बताए । जुन जम्मा आह्वानको ५ प्रतिशतमात्र हो । “अहिलेसम्म सबैभन्दा धेरै बचतपत्र बिक्री २०७३ साल असारमा जारी भएको २०७८ ‘क’ भएको छ,” थापाले भने, “त्यो समयमा ३३ करोड ७९ लाख बराबरको बचतपत्र जारी भएकोमा ११ करोड २४ लाख बराबरको बिक्री भएको थियो ।”
वेदैैशिक रोजगारीका लागि गएकाले पठाएको विप्रेषण अर्थात् रेमिट्यान्सको सदुपयोग गर्ने लक्ष्यका साथ सरकारले ल्याएको वैदेशिक रोजगार बचतपत्र प्रभावकारी हुन नसकेको राष्ट्र बैंक विराटनगर क्षेत्रीय निर्देशक बिनोदकुमार आचार्य बताउँछन् । प्रत्येक ६ महिनामा ब्याज भुक्तानी, १० प्रतिशत ब्याज, हरेक राष्ट्र बैंकले जुनसुकै समयमा बिक्री गर्न सकिने, धितो राखेर कर्जा लिन सकिने, साँवा र ब्याजको रकम आफूले चाहेको बैंकबाट भुक्तानी लिन सकिने, विदेशमा रहेर पनि देश विकासमा सहभागी हुन सकिने अवसर भएका कारण पनि लगानी गर्न सर्वसाधारणमा आह्वान गरिएको आचार्यको भनाइ छ । बचतपत्र नेपाली रूपैयाँमा जारी हुने र बचतपत्रको किसिम स्टक र प्रमिसरी नोट दुबै हुने आचार्यले बताए ।
वैदेशिक रोजगारीका लागि जुनसुकै देशमा काम गर्न गएका नेपालीले कमाएको पैसा बचत गर्ने र बचत भएको पैसा उत्पादनमूलक क्षेत्रमा लगाउने उद्देश्यका साथ राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र सुरू गरेको हो । वैधानिक माध्यमबाट विदेशी मुद्रा भित्र्याउने र देश विकासमा वित्तीय साधन जुटाउने योजना सरकारको छ । तर, लक्ष्यअनुसार बचतपत्र बिक्री नभएको राष्ट्र बैंकका कार्यकारी निर्देशक थापा बताउँछन् ।
वैदेशिक रोजगारीमा गएका वा त्यहाँबाट फर्केको तीन महिना ननाघेका नेपाली नागरिकले यस किसिमको बचतपत्र खरिद गर्न सक्ने व्यवस्था छ । परिवारका बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरीले पनि बचतपत्र खरिद गर्न सक्ने व्यवस्था राष्ट्र बैंकको छ । “उनीहरूले ५ हजारदेखि ५ ले भाग लाग्ने रकमकोे बचतपत्र खरिद गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ,” थापाले भने, “कम ब्याज भएका कारण र राष्ट्र बैंकले बुझाउन नसकेको कारण यसप्रति आकर्षण नबढेको हो, अरु नीजि बैंकहरूले यो भन्दा धेरै ब्याज दिने भएका कारण पनि यसतर्फ लगानी आकिर्षत हुन नसकेको हो ।” हरेक वर्ष ७ देखि ८ खर्ब रूपैयाँ रेमिट्यान्स नेपाल भित्रने गरेको सरकारी आंकडाले देखाउँछ । लगानीको वातावरण किन बनेको छैन ? यसतर्फ पुनर्विचार गर्ने बेला आएको कतिपय अर्थविद्को भनाइ छ ।
बचतपत्रबाट हुने फाइदाका बारेमा लक्षित वर्गलाई ज्ञान दिन नसकेका कारण खरिदमा आकर्षण नदेखिएको स्वयम् खरिदकर्ताको भनाइ छ । सरकारले जसलाई लक्षित गरी बचतपत्र जारी ग-यो, त्यो ठाउँसम्म नपुगे गोष्ठी र सेमिनारको कुनै अर्थ नरहने कार्यक्रममा उपस्थित प्रशान्त भण्डारीले बताए । लक्षित वर्गसम्म पुग्ने गरी प्रचारप्रसार गर्न सके सर्वसाधारणको आकर्षण बढ्ने उनी बताउँछन् । वैदेशिक रोजगारीमा जाने अधिकांश व्यक्ति न्यून पारिश्रमिकमा काम गर्ने भएकाले उनीहरूले पठाएको पैसा परिवारको आधारभूत आवश्यकतामै खर्च हुने गरेको भन्दै कतिपय जानकार बचतपत्रको योजना प्रभावकारी नभएको तर्क गर्छन् । वैदेशिक रोजगारीमा जानु पूर्व नै यस विषयमा अभिमुखीकरण गर्नु पर्ने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्