प्रदेश २ का उद्योगी व्यवसायीका समस्या समाधान गर्न माग «

प्रदेश २ का उद्योगी व्यवसायीका समस्या समाधान गर्न माग

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ को नेतृत्वमा गएको उद्योगी व्यवसायीहरुको एक टोलीले विभिन्न सरोकारवाला निकायहरुसँग भेटघाट र अन्तरक्रिया गरेको छ ।
उद्योग व्यावसाय क्षेत्रमा देखिएको समस्याको समाधानका लागि उद्योगी व्यवसायीको प्रतिनिधि मण्डलले सरकारका विभिन्न निकाय र निजी क्षेत्रका प्रतिनिधिसँग पनि भेटघाट र अन्तरक्रिया गरेको छ । प्रदेश २ उद्योग वाणिज्य महासंघका अध्यक्ष गणेशप्रसाद लाठको नेतृत्वमा रहेको उद्योगी व्यवसायीको टोलीले अर्थमन्त्री जनार्दन शर्मा, उद्योग वांणिज्य, आपूर्ति मन्त्रालयका सचिव तथा उद्योग वाणिज्य महासंघका पदाधिकारीसँग भेटघाट र छलफल गरेको हो ।
काठमाडौं भ्रमणमा रहेको उद्योग वाणिज्य महासंघ प्रदेश–२ र वीरगन्ज उद्योग वाणिज्य संघको टोलीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर उद्योग व्यवसाय क्षेत्रमा देखिएको समस्या समाधान गर्न ध्यानकर्षण गराएका छन् । कर तथा राजस्वसँग सम्बन्धित विभिन्न समस्या र त्यसको समाधानका लागि आर्थिक क्षेत्रमा देखा परेका समस्या सुुधारका लागिसमेत आग्रह गरिएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष लाठले बताए ।
उद्योगी व्यवसायीहरुको टोलीले अर्थमन्त्री शर्मालाई उद्योग व्यवसायमा देखिएको समस्या र समाधानको सुझावसहितको ज्ञापनपत्र बुझाएको उनले बताए । उद्योगी व्यवसायीले न्यून विजकीकरणले मूल्य प्रतिस्पर्धाको समस्या, गुणस्तरीय मालसामानको पहिचानमा समस्या देखिएको हुँदा त्यसको समाधानका लागि आयातकर्तालाई आफ्नै ब्राण्ड प्रयोग गर्ने अनुमति दिन, सन्दर्भ मूल्यको आधारमा कर असुल गर्दा आयातित मालसामानको बीलवीजक मूल्यलाई मान्यता नदिई भन्सार कार्यालयले आफ्नो सन्दर्भ मूल्य अनुसार भन्सार तथा मूल्य अभिवृद्धि कर असुल गर्ने व्यवस्था खारेज गर्नुपर्ने समाधानको उपाय सुझाएका छन् ।
त्यस्तै बैंकहरुले विभिन्न शीर्षकमा कर्जामार्फत व्यावसायिक प्रतिष्ठानमा लगानी गरिरहेको र बैंकको लगानी जोखिममा नपरोस भनेर राज्यले संरक्षणात्मक कानून ल्याए जस्तै व्यावसायिक प्रतिष्ठानले उधारो बिक्री गरिएको मालसामानको भुक्तानी जोखिमको संरक्षणात्मक कानून ल्याइनुपर्ने माग गरेका छन् ।
भीसीटीएसमा देखिएको प्राविधिक समस्या समाधानका लागि सफ्टवेयर प्रदायक कम्पनीलाई देशभर घुमेर समस्या संकलन गर्ने अभियानमा सक्रिय बनाउनुपर्ने, सीमा क्षेत्रको व्यापार व्यासायमा भारततर्फ नै अवैध रुपमा लगिएको भन्ने आरोपसहित छापामारी गर्ने र मालसामान जफत गर्ने कार्य रोक्नका लागि आवश्यक व्यवहारिक नीति ल्याइनुपर्ने उनीहरुको माग छ ।
सम्पत्ति शुद्धिकरणसँगै सम्पत्ति अभिलेखिकरणको नीतिसमेत लागू गर्नुपर्ने र यसले प्रत्येक नागरिकको चल अचल सम्पत्तिको विवरण राज्यको अभिलेखमा रहेमा भ्रष्टाचार न्यूनिकरण हुने व्यवसायीको दावी छ ।
त्यस्तै उनीहरुले सिमेण्ट उद्योगमा प्रयोग गरिने कच्चा पदार्थ फ्लाएसको भन्सार प्रवेश सहज बनाउनुपर्ने माग गरेका छन् । भारतमा विद्युत उत्पादन गर्ने थर्मल प्लाण्टबाट विसर्जन गरिएको फ्लाएस भारतमा निःशुल्क उपलब्ध हुने तर, नेपाल भित्र्याउँदा भन्सार महसुल लिने गरिएकोले निःशुल्क उपलब्ध हुने सामग्रीमा भन्सार महशुल पनि शुन्य हुनुपर्ने निजीक्षेत्रको मान्यता रहेको अर्थमन्त्री शर्मालाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरेका छन् ।
उद्योग वाणिज्य महासंघ प्रदेश–२ र वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीको टोलीले कारोबार राष्ट्रिय आर्थिक दैनिकका सम्पादक कुबेर चालिसेसँग पनि विभिन्न आर्थिक क्षेत्रका समस्याको बारेमा अन्तरक्रिया गरेको महासंघका प्रदेश २ अध्यक्ष लाठले बताए । त्यस्तै बागमती प्रदेश उद्योग वाणिज्य महासंघका पदाधिकारीहरु र आर्थिक पत्रकारको समूहसँग पनि अन्तरक्रिया गरेको छ ।

प्रतिक्रिया दिनुहोस्