वातावरण ऐन २०७६ संशोधन गर्न होटल संघ नेपालको माग «

वातावरण ऐन २०७६ संशोधन गर्न होटल संघ नेपालको माग


होटल संघ नेपालले बागमती प्रदेशलाई पर्यटन पुनरुत्थान गर्ने सहयोगी कार्यक्रम कार्यान्वयनका लागि नीति बनाउन सुझाव दिएको छ ।
संघले बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेसँग भेटेर दिगो पर्यटनको लागि विशेष पर्यटन नीति बनाएर ततकाल लागू गर्न माग गरेको हो । संघकीअध्यक्ष सृजना राणाले बागमती प्रदेश पर्यटनको केन्द्र भएकाले विशेष पर्यटन नीति तथा योजना बनाई कार्यान्वयन गर्न सके अन्य प्रदेशमा पनि पर्यटनका नीत तय गर्न सहज हुने बताइन् ।
उनले वातावरणीय अध्ययन आफैंमा राम्रो भएपनि कोरोना महामारीकै समयमा संशोधन भएको वातावरण ऐन २०७६ मा २५ देखि ५० बेडसम्मका होटलले संक्षिप्त वातावरणीय अध्ययन गरिनुपर्ने कानून लागू व्यवहारिक नभएको बताइन् । उनले राज्यले सरोकारवाला निकायसँग पर्याप्त छलफल नै नगरी ल्याएको व्यवस्थाले साना तथा मझौला व्यवसायी मारमा परेको बताइन् ।
राज्यको अव्यवहारिक नीतिका कारण जटिल परिस्थितिमा खर्चका कारण ऐनका व्यवस्था तत्काल कार्यान्वयन गर्न नसकिने भन्दै यसलाई सहजिकरण गरिदिन आग्रह गरेको छ । संघले सो ऐन संशोधन गरी पहिलेकै व्यवस्था लागू नभए व्यवसायी पलायन हुने अवस्था भएको जनाएको छ ।
अब बन्ने प्रदेश नीति तथा नियम र संशोधन गरिने अन्य विषयमा यस संघको प्रत्यक्ष सहभागिता तथा छलफल हुन सके दिगो पर्यटनमा टेवा पुग्ने संघको ठहर छ । संघका महासचिव साजन शाक्यले कोभिड–१९ ले अति प्रभावित पर्यटन तथा होटल उद्योगलाई बचाउनका लागि प्रदेश पर्यटन नीति तथा कानुन पर्यटनमैत्री हुनुपर्ने बताए । जवाफमा मुख्य मन्त्री पाण्डेले प्रदेश सरकार व्यवसाय मैत्री नियम तथा कानुनको अवलम्बन गर्दै अगाडि बढ्ने बताए । उनले पर्यटन क्षेत्रको जर्गेना गरी बढी लगानी भित्र्याउन प्रदेश सरकारले विशेष पहल गर्ने आस्वासन पनि दिए ।

प्रतिक्रिया दिनुहोस्