मेगा बैंकको १२ प्रतिशत लाभांश पारित «

मेगा बैंकको १२ प्रतिशत लाभांश पारित

मेगा बैंक नेपालले सेयरधनीहरुका लागि बोनस सेयरसहित १२.०७ प्रतिशत लाभांश पारित गरेको छ ।
बैंकको ११औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ सम्म सञ्चित मुनाफा र वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२.०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैयाँ ३८ पैसा लाभांश पारित गरेको हो । त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४ सय ९५ रुपैयाँ बोनस सेयर र २.०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७ सय ७४ रुपैयाँ नगद लाभांश साधारणसभाले पारित गरेको छ ।
साधारणसभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । यसैगरी मर्जर र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारणलगायतका कार्यका लागि साधारणसभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।
बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौं बैंक भित्र स्थापित गर्ने लक्ष्य लिएको बताए ।
शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिने जानकारी गराउँदै अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठूला उद्योग तथा परियोजनाहरुमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रुपमा मेगा बैंकलाई स्थापित गर्ने प्रतिवद्धता पनि जनाए ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप २ अर्ब ९९ करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४८ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । यसैगरी, खुदकर्जा ८ अर्ब ५० करोड रुपैयाँले वृद्धि भई १ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक पहिलो त्रैमासमा बैंकले ९१ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्