कृषि विकास बैंकबाट ८ खर्ब ६९ अर्ब कर्जा प्रवाह

कृषि विकास बैंक लिमिटेडले आव २०७३-७४ मा २ अर्ब ५७ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले आइतबार स्थापनाको ५१औँ वार्षिकोत्सवका अवसरमा आव २०७३-७४ मा ४ अर्ब २३ करोड सञ्चालन मुनाफा आर्जन भएको जानकारी दियो । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको कर्जा ११.२६ प्रतिशत, साँवा असुली १३.४२ प्रतिशत, ब्याज असुली १७.६६ प्रतिशत तथा निक्षेप संकलनमा १३.८४ प्रतिशतले वृद्धि भएको छ । आव २०७३-७४ को माघ मसान्तसम्ममा निक्षेप रकम ९९ अर्ब ९३ करोड रहेको बैंकले जनाएको छ ।
बैंकका कार्यकारी अधिकृत लीला प्रकाश सिटौलाका अनुसार बैंकले स्थापनाकालदेखि हालसम्म कूल ८ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको अहिलेसम्मको कर्जा असुली ७ खर्ब ७० अर्ब रहेको छ । हाल बैंकको करिब १ लाख ५१ हजार कर्जा ग्राहकमा ९५ अर्ब २० करोड कर्जा लगानी छ ।
साथै, चालू आव २०७४-७५ को अन्त्यसम्ममा व्यवसायको आकारमा वृद्धि गर्ने लक्ष्य अनुरूप बैंकले कर्जा तथा सापटमा ११ प्रतिशत वृद्धि गरी करिब १ खर्ब दुई अर्ब ९२ करोड र निक्षेप संकलनमा १४ प्रतिशत वृद्धि गरी १ अर्ब १३ अर्ब ८६ करोड पुराउने भएको छ । सोही योजनाअनुसार बैंकका व्यावसायिक गतिविधि अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत सिटौलाले बताए । वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैंकको स्थापनाकालदेखि कृषिको व्यावसायिकीकरण, औद्योगिकीकरण तथा बैंकिङको माध्यमबाट गरिबी निवारण र रोजगारी सिर्जनामा अहम् भूमिका खेल्दै आएको बताए । उनले मुलुकको उत्पादनशील क्षेत्रमा लगानी गरी आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुरायाएको बैंकले समयानुकूल नवीन प्रविधि र दक्ष जनशक्तिको विकास गरी सेवालाई थप गुणस्तरीय बनाउनुपर्ने सुझाव दिए ।
अर्थमन्त्री कार्कीले कृषि बैंकको संघीय शासन प्रणालीअनुरूप आफ्नो सेवालाई ग्रामीण भेगका जनताको पहुँचमा पुरायाउनुपर्ने र यस अभियानमा मन्त्रालयले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।
अर्थराज्यमन्त्री उदयशमशेर राणाले बैंकले आफ्नो सेवालाई बढी भन्दा बढी ग्रामीण जनतासामु पु¥याउन पूँजी वृद्धि गर्नुपर्ने सुझाव दिए । बैंक सञ्चालक समितिका अध्यक्ष क्षेत्रबहादुर सेंजुवालले अर्धसरकारी स्वामित्वको बैंक भए पनि कतिपय नीतिगत अप्ठ्याराका कारण बैंकिङ सेवा प्रवाहमा समस्या भइरहेको बताए । बैंकको अहिले देशभर २५३ वटा शाखा कार्यालय सञ्जालमार्फत सेवा प्रवाह भइरहेको छ । हाल २ हजार ८२५ कर्मचारी रहेको यस बैंकका दुई लाखभन्दा बढी शेयरधनी छन् । वार्षिकोत्सवका अवसरमा बैंकमा २० वर्षभन्दा बढी अवधि सेवा गरेका ५३ जना कर्मचारीलाई सम्मान गरिएको थियो ।