औद्योगिक सम्बन्ध विस्तारबारे अन्तरक्रिया «

औद्योगिक सम्बन्ध विस्तारबारे अन्तरक्रिया

उद्योग संगठन मोरङले उद्योग व्यवसायको उत्पादकत्व अभिवृद्धिका साथै सुमधुर औद्योगिक श्रम सम्वन्ध विकासलाई दृष्टिगत गरी मानव संशाधन तथा औद्योगिक सम्बन्ध विकासका सन्दर्भमा अन्तरक्रिया कार्यगरेको छ ।
संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योगको उत्पादकत्व, सेवा र वितरण प्रणालीको अन्तरसम्बन्धलाई सुदृढ बनाउने महत्वपूर्ण पक्षका रुपमा रहेका मानव संशाधन र असल औद्योगिक सम्बन्ध विकासमा सहयोग पु¥याउन कार्यक्रम आयोजना गरिएको बताए । उनले प्रचलित ऐन कानुनको परिधिमा रही सौहाद्रपूर्ण अभ्यासको माध्यमबाट विवाद न्यूनिकरणका उपायहरु अवलम्बन गरी औद्योगिक शान्ति कायम राख्नसके सबै पक्षको हित भई उद्योगको उत्पादकत्व अभिवृद्धिमा समेत सहयोग पुग्ने बताए ।
असल औद्योगिक श्रम सम्वन्ध विकासका विज्ञ अवधेश कुमार झाले कार्यस्थलमा व्यवस्थापन र श्रमिकबीचको सम्बन्ध विश्लेषण गर्दै असल औद्योगिक सम्वन्ध विकासका लागि व्यवस्थापकले ध्यान दिनुपर्ने बताए । कार्यपत्र प्रस्तुतीका क्रममा उनले स्वास्थ्य तथा सामाजिक सुरक्षा, अनुशासन र आचरण, कानुनी प्रावधानका सम्बन्धमा कम्पनीले आफ्ना कामदारलाई स्पष्ट रुपमा पूर्व जानकारी दिनुपर्ने बताए । उनले असल श्रम अभ्यासले विवादरहित कार्यस्थल निर्माण गरी उद्योगी र कामदार दुवै पक्षवीचको सुमधुर सम्बन्ध विकासमा सहयोग पु¥याउने बताए ।

प्रतिक्रिया दिनुहोस्