Logo

यातायात व्यवसायीले मनपरी भाडा उठाउँदा पनि सम्बन्धित निकाय मौन

इलाममा यातायात व्यवसायीहरूले मनपरी भाडा उठाउने गरेका छन् । तेलको मूल्य बढेको भन्दै जिल्लामा सञ्चालित सवारीहरूले यात्रुहरूबाट आफू खुसी भाडा उठाउने गरेका हुन् ।
आफूखुसी भाडा लिइरहेका ब्यवसायीहरूमाथी कसैले औँला उठाउन नसक्दा यस्तो परिस्थिति आएको यात्रुहरूको गुनाशो छ । अनुगमन गर्ने निकायले समेत कानमा तेल हाले झैँ गरेर बस्दा जिल्लाका यातायात ब्यवसायीहरूबाट यात्रु लुटिने गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय इलामको नेतृत्वमा जिल्लामा नयाँ भाडादर निर्धारण गरिएको छ । तर, तोकिएको भाडा कार्यान्वयन हुन नसक्दा यात्रुले तोकेको भाडादर भन्दा दोब्बरसम्म भाडा तिर्न बाध्य हुनु परेको छ । जिल्लाको मेची राजमार्ग र ग्रामीण क्षेत्रमा गुड्ने यातायात ब्यवसायीहरूले प्रशासनले निर्धारण गरेको भाडादर लत्याउँदै मनलाग्दो भाडा लिए पनि कसैले वास्ता नगरेको यात्रुहरूको दुखेसो छ । यात्रुहरूले गुनासो गर्ने गरे पनि आफ्नो नाम खुलाउन नहाकेका कारण पनि समस्या थपिने गरेको छ ।
मेची राजमार्गको इलाम बजारदेखी नेपालटारसम्मको भाडा १ सय ९ रुपैयाँ तोकिएको छ । तर हाल यातायात ब्यवसायीहरूले १ सय ५० रुपयाँ लिइरहेका छन् । त्यस्तै इलाम मंगलबारेको भाडा २ सय ७ रुपयाँ तोकिएका्े छ । ब्यवसायीहरूले ३ सय लिइरहेका छन् । अनौठो कुरा त नेपालटार मंगलबारे १३ किलोमिटरको भाडा २ सय लिइरहेका व्यवसायीहरू खुलेरै तेल बढेका कारण बढी भाडा लिएको बताउने गरेका छन् । इलाम बिर्तामोडको भाडा ३ सय ५३ तोकिएको छ । तर व्यवसायीहरूले ४ सय लिने गरेका छन् । निर्धारण भएको भाडाका बिषयमा व्यवसायीहरूलाई जानकारी गराए पनि आफूहरूलाई तोकिएको भाडाका विषयमा मतलब नहुने भन्दै तेलको मुल्य बढेका कारण बढी मूल्य लिएको बताउने गरेका छन् ।
गत असोज ६ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको यातायात व्यवस्थापन समितिको बैठकले जिल्ला भित्रका विभिन्न ठाउँ र जिल्ला बाहिरका केही ठाउँमा गुड्ने यातायातका लागि नयाँ भाडादर निर्धारण गरेपनि चालकले आफूखुसी भाडा उठाएको पाईएको हो । जिल्लाको इलाम–राँके २ सय सात रुपैयाँ तोकेपनि यात्रुसँग तीनसय रुपैयाँ भाडा उठाउने गर्दछन । त्यस्तै इलाम–मंगलबारे पन दुईसय ७ भाडादर तोकिएको छ । तर, हाल तीनसय रुपैयाँ उठाउने गरेको पाइएको छ । नयाँबजार–इलाम २ सय ६८ रुपैयाँ भाडादर तोकिएको ठाउँमा तीन सय रुपैयाँ उठाउने गरेका छन । इलाम–माङसेबुङ ४ सय ५० तोकेकोमा पाँचसय उठाउने गरेको पाइएको छ ।
यी त प्रतिनिधिमुलक भाडा लिइएका घटना मात्र हुन् । प्रमुख जिल्ला अधिकारी ध्रुबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले जिल्ला भित्र र बाहिर गरी ६९ स्थानको भाडादर निर्धारण गरेको छ । प्राय सबै ठाउँमा चल्ने सवारीहरूले बढि भाडा लिने गरेको पाइएको छ । अर्को त यहाँ सञ्चालित सवारीहरूले बिलको कारोबार गर्दैनन् । टिकटको कारोबार नगर्ने भएकाले प्रमाण जुटाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी खड्काको भनाइ छ । उनले अब आगामी पुस ४ गतेबाट ट्राफिक सप्ताह सुरु हुने र त्योसँगै भाडाका विषयमा समेत प्रभावकारी अनुगमन गरिने बताए ।
यता पूर्वेली जिप तथा ट्याक्सी यातायात सेवा प्रालि इलामका कार्यालय सचिव सुमन काफ्लेले सबै सवारी यस प्रालिमा दर्ता नभएको बताए । दर्ता भएका सवारीहरूबाट गुनाशो आउँदा कार्यालयमा बोलाएर र फोन मार्फत समेत सम्झाउने गरेको बताए । यस प्रालिमा २ सयवटा सवारी दर्ता भएका छन् । यात्रुले घरघरमा नै पुर्याउन छोड्न लगाउने गरेका पनि बढी शुल्क उठाइएको हुन सक्ने बताए । उनले यात्रुले बिल लिन नमान्ने गरेको पनि बताए । काउन्टरबाट यात्रु चढ्दा टिकटकै प्रयोग गराउन पनि आफूहरू लागि परेको उनको भनाई छ ।
ट्राफिक र जिल्ला प्रशासनमा हालसम्म कुनै लिखित गुनाशो नआएको भए पनि मौखिक रूपमा थुप्रै गुनाशा आएको बताइएको छ । आएका गुनाशालाई सम्वोधन गर्दै ट्राफिक कार्यालयले जरिमाना गर्ने गरेको ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख जनक तिम्सिनाले बताए । उनले अब ट्राफिक सप्ताह नै सुरु गर्ने र थप प्रभावकारी कार्यक्रम ल्याउने बताए । सबै सरोकारवाला निकायसँग छलफल गरेर अघि बढ्ने बताउँदै बढी शुल्क लिएका सवारीलाई कारबाही गर्ने बताए ।
बढी भाडा यात्रुहरूबाट चालक तथा व्यवसायीले लिएको घटना यो पहिलो पटक भने हैन पटक–पटक यसरी मनपरी भाडा उठाउँदै आए पनि सम्वन्धित निकायले चासो राख्ने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्