के हो त मेटाभर्स ?

फेसबुकका सिइओ तथा संस्थापक जुकरबर्गले फेसबुक कम्पनीको नाम परिवर्तन गरेर मेटा राखिएको घोषणा गरेसँगै हामी धेरैलाई किन नाम परिवर्तन गरेको होला ? के रहेछ यो मेटा ? भन्ने जिज्ञासा लागेको छ, जुन सामान्य नै हो ।
तर, कसैलाई नाम परिवर्तन हुने भएछ, ए होस् भन्ने पनि लाग्न सक्छ । नाम परिवर्तन त भएको हो, तर फेसबुक एपकै नाम परिवर्तन भएको भने होइन । कतिपयले त फेसबुक नाम नै राम्रो छ, के मेटा राखेको होला भन्ने तर्क पनि गरेको सुनियो । उनीहरूको विचारमा फेसबुक एपकै नाम परिवर्तन भाएको हो भन्ने रहेछ । तर, वास्तवमा कम्पनीको मात्र नाम परिवर्तन भएको हो । त्यसैले फेसबुकअन्तर्गतका एपहरूको प्यारेन्ट कम्पनी अबदेखि मेटा रहनेछ ।
सरल भाषामा बुझ्ने हो भने मेटालाई इन्टरनेटको अपडेटेड भर्सन अथवा इन्टरनेटको भविष्य हो भनेर पनि बुझ्न सकिन्छ, जुन कुरा जुकरबर्गले आफ्नो मेटाको परिभाषामा मेटा इन्टरनेटको भविष्य हो भनेका छन् । जुकरबर्गले आफ्नो मेटाको परिभाषामा मेटाभर्स कस्तो–कस्तो कार्यमा कस्तो अनुभव हुन्छ भनेर एनिमेसनको माध्यमबाट पनि देखाएर बुझाएका छन् । जुन तपाईं–हामी कसैले पनि युट्युबको मध्यमबाट हेर्न सक्छौं । अहिलेसम्म मेटाभर्स केवल एक अवधारणाको रूपमा मात्रै रहेको छ । त्यसैले यसको कुनै मान्य परिभाषा छैन । मेटाभर्स काम, पढाइ, व्यायाम, कमर्स, मनोरन्जन आदिमा कस्तो महसुस हुन्छ भनेर देखाइएको छ ।
अझै सरल भाषामा भन्ने हो भने हामीले अहिले चलाउने भीआर टेक्नोलोजीको निकै नै परिमार्जित अवधारणा हो— मेटाभर्स । मेटाभर्सको अनुभव गर्न हामीलाई ओकुलसको भीआर हेडसेट ग्याजेट चाहिन्छ । फेसबुकले ओकुलस अंग्रेजी वर्ष २०१४ मा २ डलर बिलियन खर्च गरेर किनेको थियो । यसबाट पनि हामीले के बुझ्न सक्छौँ भने फेसबुकको मटाभर्सको अवधारणा निकै पहिलेदेखिको रहेछ । हामीले पबजी खेल्दा जसरी आफू आफ्नो अवतारलाई खेलमा खेल्छौं, त्यस्तै नै मेटामा पनि हुनेछ । तर, मेटामा यो कुराहरू निकै वास्तविक देखिनेछन् र हामीलाई पनि वास्तविक महसुस हुनेछ । मेटाभर्स भर्चुअल र औगमेन्टेड रियालिटीको मिश्रण हो पनि भन्न सकिन्छ, जसमा हाम्रो वास्तविक संसारलाई भर्चुअल संसारसँग जोड्ने काम गर्छ ।
यसले इन्टरनेटको दुनियाँमा धमाका ल्याउनेछ । तपाईंलाई भर्चुअल दुनियाँमा पनि वास्तविकको जस्तै महसुस गराउँछ भन्ने कुरा छ । हुन त वास्तविक दुनियाँजस्तो त भर्चुअल दुनियाँमा त्यस्तो सारो त समानता नहोला, तर यसले निकै नै सहजता ल्याउन सक्छ, जुन अकल्पनीय छ । अझै यस अवधारणालाई पूर्ण आकारमा रूप दिन १० देखि १५ वर्ष लाग्नेछ । फेसबुकका सिइओ तथा संस्थापक जुकरबर्गका अनुसार, “कम्पनीहरूले मान्छेहरू कसरी टेक्नोलोजीमा अन्तत्र्रिmया गर्छन् भन्ने कुरामा ध्यान दिइराख्दा हामीले भने मान्छेहरूलाई एकअर्कामा अन्तत्र्रिmया गराउने टेक्नोलोजीको विकासमा ध्यान दिइराख्यौं ।”
हामीले अहिले प्रयोग गर्ने भीआर बक्समा गेम खेल्ने मात्र सीमित कार्य गर्न मिल्थ्यो भने अब मेटाभर्समा सीमा हुनेछैन । यसमा हामी पार्टी गर्न सक्नेछौं, साथीहरूसँग मन लागेको ठाउँमा जान सक्नेछौं, अफिसको मिटिङ पनि यदि हामी फरक–फरक ठाउँमा रहे तापनि हामी एकै ठाउँमा सँगै बसेको जसरी बस्न सक्नेछौं । हामीले यसमा आफूलाई कस्तो रूपमा देखाउने त्यस्तैअनुसार आफ्नो अवतार अथवा आफ्नो भर्चुअल शरीरको बनावट बनाउन सक्नेछौं । हामी जे पनि बन्न सक्नेछौं ।
फेसबुकले गैरनाफामूलक समूहहरूलाई जिम्मेवारीपूर्वक मेटाभर्स तयार गर्न सहयोगका लागि ५ करोड डलरको लगानी गरेको छ । फेसबुकले आफ्ना २० प्रतिशत कर्मचारीलाई भीआर र एआरमा काम गराइरहेको कुरा पनि आएको छ ।