नेउवा महासंघमा अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने «

नेउवा महासंघमा अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने


निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानलाई हटाएर अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्थासहित विधान समितिले मस्यौदा बिहीबार अध्यक्ष शेखर गोल्छालाई बुझाएको छ ।
हालका वरिष्ठ उपाध्यक्षको हकमा यो प्रणाली लागू नगरी त्यसपछिको कार्यकालदेखि अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव मस्यौदामा छ । त्यसैगरी अध्यक्षको कार्यकाललाई तीन वर्षबाट २ वर्षमा सीमित गर्ने, वरिष्ठ उपाध्यक्षको पद खारेज गर्ने, कोषाध्यक्ष पदलाई हटाएर १ जना उपाध्यक्ष थप गरी सोही व्यक्तिलाई कोष तथा प्रशासनको जिम्मेवारी दिने प्रस्ताव मस्यौदामा उल्लेख छ । साथै महिलातर्फबाट थप एक जना उपाध्यक्ष समेट्ने, विधागत आधारमा गरिएको मत भारको विद्यमान व्यवस्थामा संशोधन गर्ने, महासंघमा गरेको योगदानका आधारमा उपाध्यक्षहरुको वरीयता निर्धारण गर्ने, कार्यकारिणी समितिमा १२ वर्ष रहेपछि मात्र अध्यक्ष बन्न पाउने व्यवस्थालाई ८ वर्षमा सीमित गर्ने लगायतका प्रावधान मस्यौदामा प्रस्ताव गरिएको छ ।
महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीको सभापतित्वमा समिति गठन गरिएको थियो । विधान संशोधन समितिका सभापति एवं पूर्व अध्यक्ष जोशीले समितिका तर्फबाट तयार गरिएको विधानको संशोधन मस्यौदा पेश गरेका हुन् । कार्यक्रममा सभापति जोशी र समितिका सह–सभापति एवं महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष पशुपति मुरारकाले विधानमा समेटिएका प्रावधानका बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी उद्योग वाणिज्य दिवसलाई केन्द्रमा राखेर साधारणसभाको मिति चैत १५ सम्म बनाउने, प्रदेश र केन्द्रको निर्वाचन एकै पटक तर प्रदेश र केन्द्रमा नै गर्ने लगायतका नयाँ विषय मस्यौदामा समेटिएको छ । महासंघको उपाध्यक्ष हुन यसअघि २ वटा ३ वर्षे कार्यकाल कार्यसमितिमा रहेको हुनुपर्नेमा ३ पटक २ वर्षे कायकाललाई कायम गराउने र विदेशी लगानी भएका कम्पनीहरुबाट कार्यकारिणी समितिमा अनिवार्य प्रतिनिधित्व गराउने प्रस्ताव पनि मस्यौदामा छ ।
विधानको मस्यौदा पेश गर्दै मस्यौदा समितिका संयोजक कुशकुमार जोशीले महासंघलाई दीर्घकालिन रुपमा सबल बनाउने लक्ष्य अनुरुप विधि विषयमा संशोधन प्रस्ताव गरिएको बताए । समय सापेक्ष रुपमा महासंघलाई अघि बढाउन जिल्ला नगर, प्रदेशका साथै सम्बद्ध पक्षसँग छलफल र संवाद गरी ११ महिना लगाएर मस्यौदा तयार गरिएको जोशीको भनाइ थियो । छिमेकी मुलुकहरु भारत, बंगलादेश लगायतका चेम्बर संस्थाहरुको विधान र कार्यपद्धतिको अभ्यासको पनि अनुसन्धान गरेर केही विषय महासंघको विधानमा समावेश गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्