कर्णालीमा आविष्कार केन्द्रसम्बन्धी गैरसरकारी विधेयक दर्ता «

कर्णालीमा आविष्कार केन्द्रसम्बन्धी गैरसरकारी विधेयक दर्ता

कर्णाली प्रदेशसभा सांसद नरेश भण्डारीले कर्णाली नव–प्रवर्तन अन्वेषण तथा आविष्कार प्रतिष्ठान विधेयक २०७८ दर्ता गराएका छन् ।
सांसद् भण्डारीले प्रदेशसभा सचिवालयमा बुधबार उक्त विधेयक पेश गरेका हुन् । विज्ञान प्रविधिको क्षेत्रमा अन्वेषण तथा आविष्कार गर्न प्रोत्साहन गर्न विधेयक निर्माण गरेको सांसद् भण्डारीले बताए ।
अन्वेषण आविष्कारको क्षेत्रमा लाग्नेहरूको प्रोत्साहन गर्न तथा आविष्काहरूलाई कर्णालीको विकासमा जोड्नका लागि उक्त विधेयक दर्ता गराएको सांसद भण्डारीले बताए । ‘नयाँ साइनटिष्टहरूले गरेका आविष्कारहरू दिन्छन् त्यसलाई मार्केटिङ गरिदिने, खरिद गरिदिने र प्रोत्साहन गरिदिने हाम्रो संरचनाको कमी छ जसले गर्दा प्रतिभाहरू फस्ट्रेड र पलायन हुने अवस्था छ’ सांसद् भण्डारीले विधेयकको औचित्यबारे प्रष्ट्याउँदै भने, ‘उनीहरूको कन्सेप्टलाई खरिद र मार्केटिङ गरिदिनुपर्छ राज्यले भन्ने उद्देश्य हो यो विधेयक पारित भएपछि त्यसको बाटो खुल्नेछ ।’
प्रतिष्ठान प्रदेश सरकारको उद्योग, वन वातावरण तथा पर्यटन मन्त्रालय मातहतमा रहने विद्येकमा उल्लेख गरिएको छ । उद्योग, वन वातावरण तथा पर्यटन मन्त्री कुलपति रहने र उपकुलपति सरकारले नियुक्त गर्ने व्यवस्था विधेयकमा प्रस्ताव गरिएको छ । प्रतिष्ठान अन्तर्गत अन्वेषण तथा आविष्कार केन्द्र स्थापना गर्ने विधेयकमा उल्लेख छ । विद्येयकमाथि छफलगरी प्रतिवेदन तयार गरेर सभामुखलाई पेश गर्ने संसद सचिवालयका सचिव जीवराज बुढाथोकीले बताए ।
भण्डारीले यसअघि पनि सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संसद सचिवालयमा दर्ता गराएका थिए । उक्त विधेकमाथि छलफलगरी प्रतिवेदन सभामुखलाई पेश गरिसकेको सचिवालयले जनाएको छ । भण्डारीले संविधानसभा सदस्य हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पनि गैरसरकारी विधेयक दर्ता गराएका थिए । उक्त विधेयकअनुसार प्रतिष्ठान गठन भएर यस वर्षदेखि एमबीबीएस अध्यापन सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्