रक्षामन्त्रीबाट रिजालको राजीनामा «

रक्षामन्त्रीबाट रिजालको राजीनामा

काठमाडौँ, १ पुसः मन्त्री रिजाल–¬राजीनामा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष बिहीबार सिंहदरबारमा मन्त्री पदको राजिनामा बुझाउँदै रक्षामन्त्री डा मीनेन्›प्रसाद रिजाल । तस्बिरः रोशन सापकोटा: रासस

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले सक्रिय राजनीतिबाट संन्यास लिन सक्ने संकेत गरेका छन् ।
बिहीबार रक्षामन्त्रीबाट राजीनामा दिएपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले राजनीतिबाटै बाहिरिन सक्ने बताएका हुन् । उनले अब कसरी अगाडि बढ्ने भन्ने विषयमा गम्भीर रुपमा सोच विचार गरेर जानकारी गराउने बताए । सार्वजनिक पदमा रहने भएपनि राजनीतिभित्र वा बाहिर कहाँ रहने भन्नेबारे निर्णयमा छिट्टै पुग्ने उनको भनाइ छ ।
नेता रिजालले प्रतिनिधिसभाको कार्यकाल रहँदासम्म सरकारलाई प्रतिनिधिसभा सदस्यको हैसियतले सहयोग गरिरहने पनि बताए । रिजालले महाधिवेशनमा पार्टीभित्र आफ्नो समर्थनको आधार अत्यन्त संकुचित भएकाले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । महामन्त्रीमा पराजित उनले यही कुरालाई आत्मासात् गर्दा मन्त्री पदमा बसिरहनु नैतिक रुपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको प्रधानमन्त्रीलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ । हार नजिक पुग्ने बित्तिकै उनले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
पत्रकार सम्मेलनमा रिजालले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नयाँ केन्द्रीय समितिलाई विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर अगाडि बढ्न सुझाव दिए ।
पार्टी सभापति शेरबहादुर देउवा सभापतिमा पुनःनिर्वााचित भएकाले उनका लागि यो महत्वपूर्ण अवसर रहेको बताउँदै डा रिजालले विपीले कल्पना गरेको जस्तो कांग्रेस बनेर कलकल बगिरहोस् भनी शुभकामना दिए । उनले बग्रेल्ती चुनौती र अद्भुत अवसरलाई सदुपयोग गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको पनि बताए ।
महाधिवेशनमा निकै ठुलो मतान्तरले हारिसकेपछि अनेक बहाना खोजेर पदमा रहिरहनु उचित नहुने निष्कर्षका साथ रक्षामन्त्रीबाट राजीनामा दिएको उनले बताए । ‘नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र मेरो समर्थनको आधार अत्यन्त सङ्कुचित भएको कुरालाई हृदयङ्गम गर्दा रक्षामन्त्री पदमा रहिरहनु नैतिकरूपमा उपयुक्त नहुने भएकाले राजीनामा दिएको छु,’ डा रिजालले प्रधानमन्त्री देउवासमक्ष बुझाएको रानीनामापत्रमा उल्लेख छ ।
‘अहिलेको यो समयमा जबरजस्ती राजनीतिमा बसिरहनु उचित हुँदैन, यो यात्रामा परिणामको गाम्भीर्यलाई ग्रहण नगरी आफूले आफैँलाई झुटो बोलेर सान्त्वना दिनु उचित हुन्न,’ पत्रकार सम्मेलनमा डा रिजालले भने, ‘आफ्नो ठाउँबाट बोल्न र राजनीतिक पूँजी बचाएर राख्नका लागि पनि राजीनामा दिएको हुँ ।’
डा रिजाल १८ वर्षदेखि पार्टीको केन्द्रिय कार्यसमितिमा छन् । महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माप्रति सङ्केत गर्दै उनले भने, ‘राजनीतिमा नहुने निर्णय गरेँ भने पनि मैलेभन्दा राम्रो जिम्मेवारी निभाउने गरी मानिस परेको महसूस भएको छ ।’

प्रतिक्रिया दिनुहोस्