कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित «

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित


नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । पार्टीको १४ औं महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको बिहीबार भएको मतगणनामा दुई महामन्त्रीमा थापा र शर्मा विजयी भएका हुन् ।
गगनले ३ हजार २३ मत ल्याएका छन् भने विश्वप्रकाशले १ हजार ९८४ मत ल्याएका छन् । महामन्त्रीका अन्य चार उम्मेदवारहरु प्रकाशशरण महत, मिनेन्द्र रिजाल, राजाराम कार्की र प्रदीप पौडेल पराजित भएका छन् । महतले १ हजार ५५६ मत ल्याएका छन् भने रिजालले ८०९ मत, कार्कीले १०६ र प्रदीपले १ हजार ३९३ मत ल्याए ।
कांग्रेसको विधान अनुसार महामन्त्रीका उम्मेदवारहरुमध्ये बढी मत ल्याउने उम्मेदवार विजयी हुने प्रावधान छ । सोही प्रावधान अनुसार गगन र विश्वप्रकाश विजयी भएका हुन् । गत सोमबार भएको निर्वाचनमा महामन्त्रीका लागि कुल ४ हजार ६८२ मत खसेकोमा ४३ मत बदर भएको छ । यसअघि कांग्रेस सभापतिका लागि भएको निर्वचानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी ल्याउन नसकेपछि दोस्रो चरणमा निर्वाचन भएको थियो । दोस्रो चरणको निर्वाचनमा देउवाले शेखरलाई ८०० भन्दा बढी मतान्तरले पराजित गरेका थिए ।
त्यसैगरी बुधबार राति सार्वजनिक भएको उपसभापतिको मतपरिणाम अनुसार पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । उपसभापतिमा विजयकुमार गच्छदार २ मतले पराजित भएका छन् । यस्तै उपसभापतिमा सुजाता कोइराला, महेश आचार्य, चन्द्र भण्डारी र दिव्यश्वरी शाह पनि पराजित भएका छन् ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई उपसभापतिका लागि भएको निर्वाचनमा खड्का २ हजार १२१ र गुरुङ १ हजार ९०८ मत प्राप्त गरी विजयी भएका हुन् । वर्तमान कार्यसमितिमा खड्का महामन्त्री र गुरुङ केन्द्रीय सदस्य छन् । यसैगरी खड्का दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित शेरबहादुर देउवा ‘प्यानल’बाट उम्मेदवार थिए भने गुरुङ सभापति पदका प्रमुख प्रतिष्पर्धी नेता डा शेखर कोइराला ‘प्यानल’को उम्मेदवार थिए ।
उपसभापतिका अर्का प्रत्यासी विजयकुमार गच्छदार दुई मतले मात्र पराजित भए । सभापति देउवा ‘प्यानल’ कै उनले एक हजार ९०६ मत प्राप्त गरेका थिए । समितिका अनुसार उपसभापतिका अन्य प्रत्यासी डा चन्द्र भण्डारीले १ हजार ५८०, सुजाता कोइरालाले ६४४, महेश आचार्यले ५८९ र दिव्यश्वरी शाहले १३२ मत प्राप्त गरे ।
कांग्रेसले विधानतहः उपसभापतिको निर्वाचन पहिलोपटक गरेको हो । यसअघि उपसभापति मनोनीत हुने प्रावधान थियो । सोमबारको निर्वाचनको मतगणना बुधबार साँझदेखि सुरु भई बिहीबार राति १ बजे सम्पन्न भएको थियो । मतगणना पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको हो ।
सोमबारको मतदानमा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८९ मतदाताले मतदान गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो । सभापति पदको भने महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा बुधबार मतगणना सम्पन्न भई प्रधानमन्त्री एवं पार्टी सभापति देउवा पुनः सभापतिमा निर्वाचित भइसकेका छन् ।
सभापतिबाहेक अन्य पदको मतगणना कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु गरिएको हो । केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।


मलाई थाक्ने सुविधा छैन : गगन
नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाले अब आफूसँग एक दिन पनि चुक्ने र थाक्ने सुविधा नभएको बताएका छन् । महामन्त्री पदमा विजयी भएलगत्तै पार्टी मुख्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै उनले आफूलाई मत दिएर जिताएका सबै मतदातालाई धन्यवाद दिए ।
उनले आफूलाई मत नदिएका १६०० मतदाताको पनि विश्वास जित्नेगरी काम गर्ने बताए । उनले अब पार्टीलाई देखिने, सुनिने, बुझिने बनाउनुपर्ने खाँचो औंल्याए । आफूसहितका पदाधिकारीले सभापतिलाई बल पुग्नेगरी, तागत पुर्याउने गरी काम गर्ने पनि उनले प्रस्ट पारे ।


अब काममा प्रतिस्पर्धा : शर्मा
कांग्रेस महामन्त्रीमा निर्वाचित भएका विश्वप्रकाश शर्माले भने चुनावी प्रतिस्पर्धा सकिएकाले अब काममा प्रतिस्पर्धा गर्ने बताएका छन् । चुनावी नतिजा सार्वजनिक भएलगत्तै कांग्रेसको मुख्य कार्यालय सानेपामा पत्रकारहरुसँग कुरा गर्दै शर्माले आफ्नो जित व्यक्तिगत रुपमा नभई बदलिएको कांग्रेस बनाउने आकांक्षाको जित भएको बताए ।
जितले आफू स्वाभाविक रुपमा गौरवान्वित भए पनि यसले आफूलाई थप जिम्मेवारी बढाएको उनले बताए । आफूलाई फरक विचार समूहमा रहका साथीले समेत मत दिएर जिताएको भन्दै शर्माले फरक विचार समूहका साथीहरुलाई समेत समेटेर अघि बढ्ने जिम्मेवारी आफ्नो काँधमा आएको प्रस्ट पारे ।

प्रतिक्रिया दिनुहोस्