ग्लोबल आइएमई बैंकले बेलायतको सीडीसी ग्रुपबाट तीन अर्ब ऋण लिने «

ग्लोबल आइएमई बैंकले बेलायतको सीडीसी ग्रुपबाट तीन अर्ब ऋण लिने

ग्लोबल आइएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट करिब ३ अर्ब रुपैयाँ ऋण लिने सहमती पत्रमा हस्ताक्षर भएको छ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा सीडीसी ग्रुपका कन्ट्री रिप्रजेन्टेटिभ रवि रायमाझीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सीडीसीबाट प्राप्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई नेपाल सरकारका प्राथमिकताको क्षेत्रहरु जस्तै जलविद्युत, नविकरणीय ऊर्जा र पूर्वाधार, निर्माण, उत्पादन, कृषि र पर्यटन क्षेत्रसम्बन्धी व्यवसायमा ऋण प्रदान गर्न सहयोग पुग्नेछ । यो ऋणलाई बैंकले कोभिड महामारीपछिको आर्थिक पुनरुत्थान तथा रोजगारी सृजना गर्दै दिगो र समावेशी विकासमा लगानी बढाउन सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
सीडीसी ग्रुपका प्रबन्ध निर्देशक तथा एशिया प्रमुख श्रीनी नागाराजनले नेपालले सधैँ सीडीसीको प्राथमिकतामा रहेको बताउँदै नेपालभर शाखा सञ्जाल पुगेको बैंकसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले यस ऋण सहयोगबाट नेपालको आर्थिक पुनरुत्थान र दिगो विकासमा सीडीसीको प्रतिवद्धता रहेको प्रष्ट भएको समेत बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले विश्वका ७० भन्दा बढी देशमा सञ्जाल रहेको सीडीसीसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै प्राप्त ऋण सहयोगले बैंकको कर्जा लगानी क्षमता अभिवृद्धि हुने र प्राथमिकताका क्षेत्रमा लगानी बढाउन थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्