विश्वविद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र हो : शिक्षामन्त्री «

विश्वविद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र हो : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालय ज्ञान, सीप र सिकाइको केन्द्र भएको बताएका छन् । काठमाडौं विश्वविद्यालयको २७औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले विश्वविद्यालय मानव जातिलाई जीवन जीउन प्रेरणा दिने र मार्गदर्शन गर्ने महत्वपूर्ण थलो भएको बताए ।
सहकुलपतिसमेत रहेका उनले शिक्षा विकास र समृद्धिको मूलद्वार भएको उल्लेख गर्दै सन् २०३० सम्ममा दिगो विकास लक्ष्यको विभिन्न क्षेत्रमा गरिएको प्रक्षेपणको नेतृत्व शिक्षाले गर्ने बताए । “विश्वविद्याय ज्ञान, सीप र सिकाइको गुरुत्वको केन्द्र तथा व्यक्तिको मार्गदर्शन थलो हो,” उनले भने, “राष्ट्र निर्माणको जिम्मा दीक्षित स्नातकको काँधमा छ ।”
विश्वविद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक राष्ट्र निर्माणका बाहक भएको बताउँदै उनले देश निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी दीक्षित विद्यार्थीको काँधमा रहेको बताए । “शिक्षित र सभ्य युवा नै राष्ट्र निर्माणका कर्णधार हुन्,” उनले भने, “मुलुकलाई परनिर्भरताबाट आत्मनिर्भरतातिर डो¥याउने जिम्मेवारी पनि तपाईंकै काँधमा निहित छ ।”
समारोहलाई सम्बोधन गर्दै उनले नेपाली विद्यार्थी पढाइको खोजीमा बाहिर जाने नभई अन्य देशबाट नेपाल आउने वातावरण सृजना गर्नुपर्ने बताए ।
“नेपाली विद्यार्थी पढाइको खोजीमा अब बाहिर जाने होइन,” उनले भने, “अन्य देशका विद्यार्थी काठमाडौं विश्वविद्यालयमा पढ्न आउन प्रतिस्पर्धा गर्न पाउने विश्वविद्यालयको रूपमा विकास गर्नुहोस् ।”
कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४ सय ४९ स्नातक विद्यार्थी दीक्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्