गोरखामा मकैको बिउ उत्पादन «

गोरखामा मकैको बिउ उत्पादन

गोरखाका किसानले जिल्लामै उत्पादन भएको मकैको बिउ रोप्न पाउने भएका छन् । गोरखामा पहिलो पटक मकैको बिउ उत्पादन गरिएकाले जिल्लाका किसानले स्थानीय स्तरमै बिउ पाउने कृषि ज्ञानकेन्द्र गोरखाले जनाएको छ । कृषि ज्ञानकेन्द्र गोरखाको प्राविधिक सहयोगमा ६ पालिकाका कृषि समूह तथा सहकारीले अरुण २ र रामपुर कम्पोजिट जातको ३ सय मेट्रिक टन मकैको बिउ उत्पादन गरेका हुन् ।
भीमसेन थापा गाउँपालिकाको बोर्लाङ, आरुघाट गाउँपालिकाको आरुचनौटे, गोरखा नगरपालिका–१ को शिखर, सिरानचोक गाउँपालिकाको नयाँसाघुँ, सहिद लखनको मनकामना र पालुङटारको पौवाटारमा रहेको कृषि सहकारी तथा समूहले मकैको बिउ उत्पादन गरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
उत्पादित मकैको बिउ हाल स्टोरमा छ । अब मकै रोप्ने बेला भएपछि कृषि सहकारीले एग्रोभेट वा सोझै किसानलाई नै बिउ बिक्री गर्नेछन् ।
मकैको बिउ उत्पादनका लागि ज्ञानकेन्द्रले ५० प्रतिशत अनुदानमा कृषि समूहलाई बिउ वितरण गरेको थियो ।
मकै रोप्ने बेला बिउका लागि बाहिरी जिल्लाको भर पर्नुपर्ने अबस्था अन्त्य गरी बिउ उत्पादनमा जिल्लालाई नै आत्मनिर्भर बनाउन मकैको बिउ उत्पादनलाई प्राथमिकता दिएको ज्ञानकेन्द्रका प्रमुख परशुराम अधिकारीले बताए । ‘मकै रोप्ने बेला किसानलाई बिउको अभाव सधैंभरि देखियो’, उनले भने, ‘जिल्लामै उत्पादन गर्न सके जिल्लाका किसानले सजिलै बिउ पाउने र समयमै बिउ पाएमा उत्पादन धेरै लिन सकिने भएकाले बिउ उत्पादनलाृ प्राथमिकता दिएका छौं ।’
जिल्लाको मुख्य बाली समेत रहेको मकै गोरखामा बर्षे र बसन्ते दुई सिजनमा खेती हुँदै आएको छ ।
गोरखामा १९ हजार सय ६४ हेक्टरमा मकैखेती हुँदै आएको छ । यसका लागि ३ सय ९१ मेट्रिक टन बिउ आबश्यक पर्छ । तर, जिल्लामा ३ सय मेट्रिक टन मात्रै उत्पादन भएकाले थप ९१ मेट्रिक टन बिउ अन्य जिल्लाबाट ल्याउनुपर्ने देखिएको छ । हाल जिल्लामा पर्वत, गुल्मी, खोटाङ, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट बिउ आयात हुँदै आएको छ ।
तर अर्को बर्षदेखी बाहिरी जिल्लाबाट बिउ ल्याउनु नपर्ने देखिएको छ ।

यसका लागि चालू आर्थिक बर्ष पनि मकैको बिउ उत्पादन कार्यक्रमलाई निरन्तरता दिने ज्ञानकेन्द्रले जनाएको छ । यस कार्यक्रमका लागि २० लाख रुपैयाँ बजेट रहेको कार्यालय प्रमुख अधिकारीले बताए ।’ यो कार्यक्रमका लागि गतबर्षको भन्दा दोब्बर बजेट छ‘ उनले भने अब यो वर्ष धेरै बिउ उत्पादन हुने र अर्को वर्षबाट सम्भवतः बाहिरी जिल्लाबाट बिउ ल्याउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएका छौं ।’ पछिल्लो तथ्यांकअनुसार जिल्लामा ४६ हजार ४ सय मेट्रिक टन मकै उत्पादन भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।
जिल्लामा अन्य पालिकाको तुलनामा भीमसेन थापा गाउँपालिकामा मकै धेरै उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्