सबैलाई जोड्न सक्ने नेता देउवा : महत

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् ।
बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जितेको बताए । देउवाले सबै नेताहरुलाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उनको दाबी छ । सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीको रुपमा निर्माण गर्ने उनको भनाई छ ।
पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ । नेता, कार्यकर्ताहरुले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् । देउवालाई बधाई दिन बालुवाटार पुगेका नेपाली कांग्रेसका नेता अब्दुल सतारले प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाई बहुमत दिलाउन सफल हुने विश्वास व्यक्त गरे । आगामी दिनमा पार्टी सशक्त भएर अगाडी बढ्ने उनले बताए ।
नेता सतारले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरु काँधमा काँध जोडेर सहयोग गर्न तयार रहेको बताए ।