नेपालसँग प्राविधिक सहयोग सम्झौता गर्ने तयारी गर्दै छौं «

नेपालसँग प्राविधिक सहयोग सम्झौता गर्ने तयारी गर्दै छौं

मध्यएसियाली मुलुक ताजकिस्तान पूर्वसोभियत संघ टुक्रिएर बनेको नेपालजस्तै भूपरिवेष्टित एवं पहाडी देश हो । अफगानिस्तान, उज्वेकिस्तान, किर्जिगिस्तान तथा चीनले घेरिएको तथा करिब ९० लाख जनसंख्या भएको ताजकिस्तानमा आफ्नो आन्तरिक उत्पादनबाहेक चीन तथा रूसबाट आयातित अर्थतन्त्र रहेको छ । नेपाल तथा गणतन्त्र ताजकिस्तानबीच विगत १५ वर्षदेखि द्विपक्षीय सम्बन्ध भए तापनि नेपालका लागि ताजकिस्तानका गैरआवासीय राजदूत मिर्जोशरिफ जालोलोभ नै नेपालका लागि पहिलो राजदूत हुन् । नयाँ दिल्लीमा आवासीय रहेका उनै जालोलोभ गत साता नेपाल भ्रमणमा आउँदा कारोबारका लागि सम्पादक कुबेर चालिसेले दुई देशबीचको व्यापार, पर्यटन तथा द्विपक्षीय सम्बन्धका विषयमा गरेको कुराकानीको सार:

नेपाल र ताजकिस्तानबीच १५ वर्षदेखि द्विपक्षीय सम्बन्ध छ, तर तपाईं नेपालका लागि पहिलो राजदूत हुनुहुन्छ । किन दुई देशबीचको सम्बन्ध औपचारिक रूपमा परिणत हुन लामो समय लाग्यो ?
हामीले नेपालसँग लामो समयदेखि अन्तर्राष्ट्रिय सम्मेलनहरूको अन्तक्र्रियामा सहभागी हुँदै आएका छौं, विशेष गरी संयुक्त राष्ट्रसंघमा । दशकदेखि खानेपानीको क्षेत्रमा पनि हाम्रा दुई देशबीच एक–अर्कासँग सहकार्य पनि छ । सन् २००५ तथा २०१५ मा हामीले नेपालसँग विभिन्न विभिन्न योजना पनि अघि बढा एका छौं । अन्तर्राष्ट्रिय फोरमहरूमा हामी विशेष गरी खानेपानी र दिगो विकासमा नेपालसँग मिलेर काम गरिरहेका छौं । सहस्राब्दी विकास लक्ष्य (एमडीजी) मा काम ग¥यौं भने दिगो विकास लक्ष्य (एसडीजी) काम पनि काम गर्दै छौं । यसकारण नेपालसँग ताजकिस्तानको प्रत्यक्ष सम्बन्ध छ । हाम्रा देशका केही नागरिक पनि नेपालमै छन् । नेपालसँग जुन सम्बन्ध छ, यसलाई अझ दरिलो बनाउँदै छौं । म नेपालको पहिलो राजदूत त हुँ, तर त्यसभन्दा अघिदेखि नै हाम्रो राम्रो सम्बन्ध थियो । भूकम्पपछिको पुनर्निर्माण योजनामा समेत हाम्रो सहयोग रहेको छ । अझ मुख्य कुरा त भूकम्प जाँदा ताजिक नागरिक पनि नेपालमा रहेको थाहा पाएपछि हामीले नेपालमा सीधै आफ्ना सम्पर्क तथा यस्तो सम्पर्कलाई संस्थागत गर्नुपर्ने महसुस गरेका हौं । यसरी आफ्ना नागरिकको खोजीबाट सम्बन्ध संस्थागत हुने क्रममा रहेको हो । यो अब झन् व्यवस्थित हुँदै जानेछ ।

नेपाल र ताजकिस्तानबीचमा व्यापारको सम्भावना कस्तो छ, व्यापार र अर्थतन्त्रको विकासमा कसरी सहकार्य गरेर अघि बढ्न सकिन्छ ?
व्यापार र अर्थतन्त्रको विकास र विस्तारका लागि थुप्रै पटक छलफल भएका छन् । हामी दुई देशबीच व्यापार प्रवद्र्धन र वृद्धि गर्न चाहन्छौं । अहिले थोरै मात्र छ । धेरै सामानको व्यापार गर्न सकिन्छ । अर्को नेपाल हिमाली श्रृंखला भएको देश हो । यो पर्यटकका लागि गन्तव्य मुलुक पनि हो । दुई देशबीच पर्यटन क्षेत्रमा पनि सहकार्य गर्न सकिन्छ । अर्को, नेपालमा जलविद्युत्को सम्भावना छ । यो क्षेत्रमा पनि सहकार्य गर्न सकिन्छ ।
पर्यटन, जलविद्युत्लगायतका क्षेत्रमा हाम्रो देशसँग पनि अनुभवहरू छन् । यी अनुभवलाई आदानप्रदान गर्न सकिन्छ । नेपालसँग पनि यसबारे अनुभवहरू छन् । नेपाल संस्कृतिमा पनि धनी छ । नेपालको पर्यटन क्षेत्रसँग लामो तथा धेरै अनुभव छ, जुन हामीसँग छैन । हुन त हामी पनि नेपालजस्तै पहाडी देश हौं । तर, पूर्व सोभियत संघबाट आएको हुनाले हाम्रो देशमा पर्यटनको क्षेत्रमा राम्रो अनुभव छैन । हामी नेपाली पर्यटन व्यवसायीसँग धेरै कुरा सिक्न सक्छौं । हामीसँग उच्च भेगमा रहेका ताल तथा सिकार पर्यटनका लगायत राफ्टिङ, ट्रेकिङ, मनोरञ्जनात्मक पर्यटनका अनन्त सम्भावना छन् । पर्यटकलाई आकर्षित गर्न हामीकहाँ ऐतिहासिक स्थलहरू पनि छन् । यसका लागि हामी सहकार्य गर्न सक्छौं ।

तर, दुई देशबीच पर्यटन क्षेत्रको विकासका लागि प्रत्यक्ष हवाई सम्बन्ध छैन, यसलाई कसरी विकसित गर्न सकिन्छ ?
हो, हामीसँग प्रत्यक्ष सम्बन्ध छैन, तर नयाँ दिल्लीमार्फत प्रत्यक्ष सम्बन्ध अघि बढाएर पर्यटन क्षेत्रमा काम गर्न सकिन्छ । अहिले नयाँ दिल्लीबाट ताजकिस्तानको राजधानी दुसान्बेको लागि सातामा दुईवटा उडान छन् । यसमा थप गर्न पनि सकिन्छ । हाम्रो देश पर्यटन उद्योगमा कम सहभागी छ, तर पनि हालै पर्यटन विकासका लागि विभिन्न कम्पनी र होटलहरू खुलेका छन् । ताजकिस्तानका धेरै बासिन्दा अन्य देशमा घुम्न जान्छन् । यस्तै, ताजकिस्तानमा विदेशीहरूले आएर पर्यटनसँग सम्बन्धित होटलहरू खोल्ने सम्भावना छ ।

नेपाल र ताजकिस्तानका निजी क्षेत्रहरूको सहभागितामा लगानी प्रवद्र्धन गर्ने सम्भावना कत्तिको छ ?
यसको प्रचुर सम्भावना छ । हामीले पनि व्यापारी समुदायलाई बढी केन्द्रित गरिरहेका छौं । नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्ससँगको सहकार्यको सम्भावना छ । यसलाई हामी जोड दिन्छौं पनि । दुई देशबीच संयन्त्र निर्माणको सम्भावना पनि छ । व्यापारमा प्रर्वद्धन गर्दा पारस्पारिक बुझाइ र फाइदा बाँडफाँड गर्न सकिन्छ । यसले दिगो सम्बन्ध स्थापनाका लागि पनि सहयोग गर्छ । यस्तै, ताजकिस्तानमा चीन, बेलायत, रूसलगायतका देशहरूको लगानी रहेको छ भने नेपालसँगको सहकार्य पनि नहुने कुरै भएन ।
यस्तै, नेपालजस्तै ताजकिस्तान पनि विश्व व्यापार संगठनको सहस्य हो र हालै हामीले आर्थिक सुधारअन्तर्गत आफ्ना करलगायत विभिन्न ऐन–कानुनहरू परिमार्जन गरी लगानीयोग्य वातावरण बनाएको छौं, जसका कारण द्विपक्षीय व्यापार व्यवसाय गर्न सहज भएको छ ।

ताजकिस्तानमा नेपालले के निर्यात गर्न सक्छ ?
हामीसँग टेक्सटाइल उद्योगहरू छन्, तर पर्याप्त छैनन् । हामीसँग आल्मुनियम उद्योगहरू पनि छन् । तर, हामी निर्यात गर्न सक्दैनौं । कम्पनीहरूसँग प्रक्रिया अघि बढाएर निर्यात गर्न भने सकिन्छ । ग्यास, तेल भने हामीले आयात गर्ने गरेका छौं । हाम्रो अधिकांश ऊर्जाको स्रोत भने जलविद्युत् नै हो । करिब ७ सय अर्बको कुल गार्हस्थ्य उत्पादन भएको गणतन्त्र ताजकिस्तानले पछिल्ला वर्षहरूमा ७ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि गरिरहेको छ । मूलतः कपास उत्पादन हुने तथा त्यही कपासको कपडा उद्योग तथा जलविद्युत्मा राम्रो प्रगति गरेको पहाडी मुलुक ताजकिस्तानमा चीन, बेलायत, रूस, अजरबैजान, टर्कीलगायतका देशले लगानी गरेका छन् । सरकारी लगानी शिक्षामा धेरै भएको मुलुक भएकाले शिक्षित जनसंख्याको मुलुकका रूपमा पनि चिनिने ताजकिस्तानको प्रतिव्यक्ति आम्दानी भने करिब–करिब नेपालकै बराबरी रहेको छ ।

दुई देशबीचमा सहकार्यका अन्य क्षेत्रहरू के–के छन् ?
अन्तरसरकारी निकायबीच सम्बन्ध बनाएर दुई देशले विभिन्न क्षेत्रमा काम गर्न सक्छ । जलवायु परिवर्तनको क्षेत्रमा समेत दुई देशले काम गर्न सक्ने अवस्था छ । जलवायु परिवर्तनको क्षेत्रमा ठूलो समस्या छ । जलवायु परिवर्तनको असरको न्यूनीकरणका लागि दुई देशले सहकार्य गर्ने अवस्था छ । हाम्रो देशमा १५ प्रतिशत पानी हिमनदीबाट आउँछ । हिमनदीमा आउन लागेको समस्याबारे पनि दुई देशले काम गर्न सक्ने अवस्था छ । सूचना आदानप्रदानका साथै अन्य बौद्धिक क्षेत्रमा समेत दुई देशले सँगै काम गर्न सक्छन् । हाम्रा राष्ट्रपतिले सन् २००९ मै अन्तर्राष्ट्रिय कृषि फार्मको अवधारणा अघि सार्नुभएको थियो । यसमा पनि सहकार्य गर्न सकिन्छ । सुरक्षा पनि दुई देशकै लागि चुनौतीको विषय बनेको छ । आधुनिकताले झन् चुनौती थपेको छ । यसमा पनि सहकार्य गर्न सकिन्छ ।

निकट भविष्यमै दुई देशबीच केही नयाँ योजना अघि बढ्न लागेका छन् ? ती के–के हुन् ?
दुई देशबीचका सरकार र अन्य निकायबीच अहिले असल अन्तक्र्रिया भइरहेका छन् । यसले अघि बढ्नका लागि सहयोग पुराउछन । दुई देशबीचमा सम्बन्ध अघि बढाउनका लागि मैले नेपालको परराष्ट्र सचिवसँग पनि छलफल गरेको छु । हामी दुई देशबीचको सम्बन्धलाई संस्थागत बनाउन चाहन्छौं । हामी प्रारम्भिक रूपमा हस्ताक्षर गरेर विभिन्न देशसँग सम्बन्ध विस्तारमा अघि बढेका छौं । हामी संयुक्त अन्तरसरकारी संयन्त्र बनाउन चाहन्छौं । विशेष गरी आर्थिक सहकार्यका लागि यो आवश्यक देखिएको छ । कूटनीतिक रूपमा दुई देशबीच सम्बन्ध अघि बढाउन सकिने क्षेत्रहरू धेरै छन् । नेपालसँग सहकार्य गरेर अघि बढाउने कार्यक्रमहरू धेरै छन् । हामी दुवै देशको हितमा हुने काम गर्न चाहन्छौं । यसका लागि धेरै सम्भावना पनि छन् । अहिले अन्तक्र्रियामार्फत अघि बढाउने सोचमा छौं । त्यसपछि नेपाल तथा ताजकिस्तानले निकट भविष्यमै दुई देशबीच एउटा प्राविधिक सहयोग सम्झौता गर्ने तयारी पनि गरिरहेका छौं । यसै सम्झौतामा आधारित भएर संयुक्त अन्तर सरकारी संयन्त्र बन्ने छ । जसअन्तर्गत सामाजिक सांस्कृतिक तथा आर्थिक मुद्दामा दुई देशले भविष्यमा सहकार्य गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्