उदाउँदो नेपालका भर्भराउँदा सपना «

उदाउँदो नेपालका भर्भराउँदा सपना

ती एकाध नेपाली जसले सपना देख्ने हिम्मत गरे, सपनालाई सार्थक बनाउन मेहनत गरे, तिनैका कारण आज नेपाली अर्थतन्त्र चलायमान छ । साथै एउटा नयाँ पुस्ता पनि परम्परागत नेपाली मानसिकतालाई चुनौती दिँदै उदाइरहेको छ । पछिल्लो पिँढीमा आएको उद्यमशिलताको चेतका कारण नेपालमा पहिल्यै स्थापित घराना पनि खुसी छन् ।

नेपालीहरू वंशाणुगत रूपमा नै जागिरे हुन् । सपना देख्ने तथा सपनालाई साकार पार्न घुँडा धसेर उद्यम गर्ने तथा जोखिम लिने र आफ्नै छुट्टै साम्राज्य स्थापना गर्ने भन्ने बहुमत नेपालीको मानसिकतामा अझै छैन । जागिर खाने र निश्चित आयमा बाँच्ने बानी परेका नेपालीका ठूला ठूला सपना पनि छैनन् । त्यसैले अतृप्त सपना पूरा गर्न नेपाली समाजमा भ्रष्टाचारजस्ता आर्थिक अपराध बढेको छ । इमान्दारिता तथा बहादुरीका लागि शदियौंदेखि विश्वभर प्रसिद्ध नेपाली आफ्ना सपना पूरा गर्न अतिरिक्त आम्दानीका लागि अपराध गर्छ । तर, नेपाली समाजमा सपना देख्ने नेपाली हुँदै नभएका पनि होइनन्, उद्यमशिलता पनि नेपाली नभएको होइन । ती एकाध नेपाली जसले सपना देख्ने हिम्मत गरे, सपनालाई सार्थक बनाउन मेहेनत गरे, हो तिनैका कारण आज नेपाली अर्थतन्त्र चलायमान छ ।
साथसाथै, एउटा नयाँ पुस्ता पनि परम्परागत नेपाली मानसिकतालाई चुनौती दिँदै उदाइरहेको छ । पछिल्लो पीँढिमा आएको उद्यमशिलताको चेतका कारण नेपालमा पहिल्यै स्थापित घराना पनि खुसी छन् । उपेन्द्र महतो भन्छन्, “गरिबहरूको बीचमा धनी हुनुको कुनै अर्थ छैन । किनकि गरिबहरूको बीचमा धनी सुरक्षित हुँदैन । त्यसैले नेपाल सुरक्षित रहन धेरैभन्दा धेरै नेपाली धनी हुनु पर्दछ । र धनी हुने एउटै सूत्र छ, उद्यमशील बन्नु । स्थापित घरानाका दोस्रो, तेस्रोदेखि चौथोपुस्तासम्म आफ्ना व्यवसायमा सकृय भएका बेला पहिलो पुस्ताका उद्यमी बन्ने संकल्प गरेका नेपालीको जमात पनि बढ्दो छ ।
आफ्ना ११ वटा आउटलेट विस्तार गरिसकेको रेडमड होस् वा करिब दुइ दर्जन बढी फ्रेञ्चाइज भएको हिमालयन जाभा । यी उदाउँदो नेपालका तस्बिर हुन् ।
प्रवेश हुमागाईं र आशिष अधिकारीले सुरु गरेको रेडमडको अहिले ११ वटा आउटलेट छन् । काठमाडौंभित्र थापाथली, झम्सिखेल, नयाँ बानेश्वर, गैह्रीधारा, दरबारमार्ग, अमेरिकी दूतावासभित्र, पानीपोखरी, सफ्टवेरिका कलेज गरी आठ आउटलेट छन् भने काठमाडौंबाहिर मनाङ, धनगढी र विराटनगरमा रेडमडले आफ्नो आउटलेट संचालन गरिरहेको छ ।
सुरुसुरुमा सबै आउटलेट आफैं चलाएको रेडमडले पछिलो समय फ्रेन्चाइजको मोडलमा गएको छ । मनाङ, धनगढी, विराटनगर र पानीपोखरी आउटलेट रेडमडबाट फ्रेन्चाइज हुन् । तीन वर्षअघि आशिष रेडमडबाट बाहिरिएपछि हाल रेडमडमा नेदरल्याण्डको एक कम्पनीको सेयर स्वामित्व छ ।
यस्तै, सन् १९९९ नेभेम्बर २९ मा हेरिटेज प्लाजा कमलादीमा गगन प्रधानले सुरु गरेको हिमालयन जाभा अर्को आशालाग्दो उद्यमशीलताको नमूना हो । हिमालयन जाभा पनि पछिल्लो समय फ्रेञ्चाइजमा गएको छ । हाल फ्रेञ्चाइजसहित काठमाडौंमा ३४ वटा हिमालयन जाभा छ भने त्यसबाहेक अमेरिका, क्यानडा, दार्जिलिङ र ल्हासामा पनि हिमालयन जाभा छ ।
काठमाडौं सहरमा पछिल्लो पटक स्वादका पारखीको नियमित थलो बनेको चिकेन स्टेसन पनि ३४ वर्षे निकेश ताम्राकारको आशालाग्दो सपना हो । चार वर्षअघि निकेशले झम्सिखेलबाट सुरु गरेको चिकेन स्टेसन हाल मुलुकभर करिब चार दर्जन फ्रेन्चाइज भइसकेका छन् ।
नयाँ उद्यमशिलताको कुरा गर्दा नछुट्ने अर्को नाम हो, द साल लिफ । खाना डेलिभरी गर्ने द साल लिफले ग्राहकको मागअनुसार घरमै पकाइएका विभिन्न परिकार घरघरै पु¥याउने काम गर्दछ । विनिशा श्रेष्ठ र सपना शाक्यको अनलाइन फुड डेलिभरी सेवा एउटा उद्यमशिलताको नमुना हो ।
धेरैजसो नेपाली युवा हाल सेवा उद्योगप्रति आकर्षित भएको पाइन्छ । जसमा प्याक माई लन्चका सञ्चालकद्वय दीपिका श्रेष्ठ र समीक्षा राई पनि पर्दछन् । काठमाडौं केन्द्रित खाना डेलिभरी कम्पनी प्याक माई लन्चले बक्स्ड मिल, क्यान्टिन, क्याटरिङ, फ्रोजन फुड, इभेन्ट म्यानेजमेन्टलगायत सेवा दिन्छ ।
पछिल्ला वर्षमा नेपाली युवाहरू आफ्ना नयाँ सोचलाई उद्यममा परिवर्तन गर्न खप्पीस भएका छन् । काठमाडौंकी शैली डंगोलले खोलेको चोकोमरी यस्तै एउटा सपनालाई उद्यमशीलतामा परिवर्तन गरिएको उदाहरण हो । डंगोल हुन् वा हातैले बनाइएको सामग्रीहरू पाइने ओ माई ह्यान्डमेडकी सञ्चालक २४ वर्षीया सुष्मा कार्की हुन् । यिनीहरू उदाउँदो नेपालका नक्षत्र हुन् । जो सपना देख्न तथा देखेको सपनालाई वास्तविकतामा उतार्न सफल छन् ।
पछिल्लो दुई वर्ष विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट नेपालक सबै सेवा–व्यवसाय प्रभावित भए । सरकारले कोभिड–१९ को रोकथामका लागि गत २०७६ चैत ११ गतेदेखि लकडाउन ग¥यो । सोही कारण कतिपय व्यवसायमा कोभिडको असर लामो समयसम्म पर्ने देखियो भने केही व्यवसाय छिट्टै पुरानै लयमा फर्कन सक्ने खालका छन् । त्यसो त यसै समयमा नयाँ आइडिया र लगानी पनि नआएका भने होइनन् । बन्दाबन्दीलाई विशेष ध्यानमा राखी ई–कमर्श स्टार्टअपहरू बजारमा आएका छन् । बन्दाबन्दीमा बजार प्रवेश गर्ने स्टार्टअपहरूले उपभोक्तालाई आकर्षण गर्न नयाँ तरिका अवलम्बन गरेको पनि देखिन्छ ।
केही समय अगाडिसम्म ई–कमर्शप्रति खासै रुचि नहुनेहरूले पनि लकडाउनको अवधिमा भरपुर प्रयोग गरेका छन् । यसले लकडाउनका कारण ई–कमर्शप्रति उपभोक्ताको विश्वसनीयता र लोकप्रियता बढेको मान्न सकिन्छ । महामारीअघिको अवस्थामा अन्य पेसामा रहेका र महामारीका कारण रोजगारी गुमाएकाले पनि यसै क्षेत्रमा रुचि बढाएको देख्न सकिन्छ । नेपालमा सूचना प्रविधितर्फ बढ्दै गएको रुचिले ई–कमर्श व्यवसायलाई अगाडि बढाउन थप सहज भएको छ । हातहातमा स्मार्टफोन र इन्टरनेटको सहजताले आमउपभोक्तालाई अनलाइन सपिङ गर्न सहज भएको छ । एकातर्फ प्रविधिको सहजता बढ्दै गएको छ भने अर्कातर्फ आमउपभोक्ताको जीवनशैली र रहनसहनमा पनि परिवर्तन आएको छ ।
विश्वमा कोभिड–१९ को महामारी सुरु भएपछि ई–कमर्श कम्पनीको स्थापना हुने क्रम बढेर गएको छ भने अर्कातर्फ घरमै सेवा लिन सकिने भएकाले यसको लोकप्रियता बढ्दो क्रममा छ । अनलाइन अर्डर र अनलाइन पेमेन्टबाटै सेवा लिन सकिने र बजार जानु नपर्ने भएकाले यो व्यवसाय फस्टाउँदो क्रममा छ । अझ कोभिड–१९ को महामारीमा अझ सुरक्षित र सहज रूपमा सपिङ गर्न सकिने भएकाले यसको लोकप्रियता अझ बढ्दो क्रममा छ । उपत्यकामा मात्र करिब १ सयभन्दा बढी अनलाइनले सेवा प्रदान गरिरहेको बताइन्छ । लकडाउनले स–सानो लगानी र युवाहरूमा भएको नयाँ आइडियालाई उपयोग गर्ने अवसर पनि दियो । चुनौतीभित्रबाट अवसर खोज्दै जाँदा युवाहरूले जटिल परिस्थितिमा पनि ई–कमर्शमा गरेको लगानी र मेहनत एउटा पाटो हो ।

अनलाइन व्यापारको भविष्य देखेर अगाडि बढेका हौं
सञ्जीव पौडेल
कार्यकारी प्रमुख, वरदान स्टोर
संकटलाई अवसरमा बदल्दै मोसफलबाट सुरु भएको व्यवसाय वरदान स्टोर हो । कोभिड–१९ का कारण बन्द रहेको समयमा पनि अनलाइन व्यवसायमा जोड दिँदै लकडाउनको अवधिमा सुरु भएको वरदान अनलाइन स्टोरले पोखरामा खाद्यान्नदेखि अत्यावश्यक वस्तुको होम डेलिभरीमार्फत सेवा प्रदान गर्दै आएका छौं । करिब १० लाख रुपैयाँको लगानीबाट सुरु गरेको यो व्यवसायामा हामीले हाल चितवनमा समेत शाखा विस्तार गरेर करिब डेढ करोडको लगानी गरेका छौं । हामी दुई जना (वैभव पौडेल र म) मिलेर अनलाइन व्यापारको भविष्य देखेर अगाडि बढेका हौं । सोहीअनुसार मौफसलमा सेवा तथा सुविधा प्रदान गर्दै आएका छौं । मोफसलमा हामीले ग्राहकलाई वेबसाइटमा अभ्यस्त बनाउन सकेका छैनौं भने फोन र फेसबुकबाट अर्डर लिनुपर्ने बाध्यता छ । ग्राहकलाई प्रविधिमैत्री बनाउन सकेको खण्डमा मौफसलमा अझ अनलाइन व्यवसाय फस्टाएर जानेछ । अन्यत्रभन्दा हाम्रो स्टोरमा सस्तो र निःशुल्क होम डेलिभरी गरिरहेका छौं । विशेषगरी ग्रोसरी, वेबीका सामान र इलेक्ट्रिक सामानमा केन्द्रित रहेका छौं । वरदानले पोखराबाट सुरु गरेको व्यवसाय छोटो समयमै राम्रो लोकप्रियता पाएपछि लकडाउन अवधिमै चितवनमा पनि सेवा विस्तार गरेर होमडेलिभरी सुरु भएको थियो । वरदान मोफसलमा व्यापार गरिरहेको पहिलो अनलाइन स्टोर रहेको हामीले दाबी गर्दै आएका छौं । हालको अवस्थामा पोखरामा मात्रै ५ हजार उपभोक्ताले सेवा लिइरहेका छन् भने आगामी वर्ष काठमाडौं र बुटवलमा पनि सुरु गर्ने योजनाका साथ अगाडि बढेका छौं । वरदानले पोखरा र चितवनमा आफ्नो कार्यालयको १५ किलोमिटरको दायरामा रहेका उपभोक्तालाई निःशुल्क होम डेलिभरी सेवा दिइरहेको छ । वरदानले स्वदेशी सामानलाई मुख्य प्राथमिकतामा राखी बाह्य सामान पनि होम डेलिभरी गरिरहेको छ । हामीले स्टोरमा हालसम्म २० जनालाई प्रत्यक्ष रोजगारी दिइरहेका छौं । वरदानमा सपिङ गर्न आधिकारिक वेबसाइट र फोनबाट आफूले चाहेको सामान अर्डर गर्न सकिन्छ । ग्राहकलाई अझै सजिलो होस् भनेर वरदानको आफ्नै मोबाइल एप पनि छिट्टै ल्याउने योजना बनाएका छौं । वरदान स्टोरबाट सामान खरिद गरेपछि ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, आईएमई पे, बैंकका अन्य कार्डबाट पैसा तिर्न सकिनेछ । त्यस्तै सामान किनिसकेपछि नगद रुपैयाँ तिर्न सकिनेछ । चाडपर्व लक्षित गर्दै वरदानले विभिन्न छुट तथा आकर्षक उपहारहरू पनि छिट्टै बजारमा ल्याउँदैछ ।
हाल वरदान स्टोरले किराना, बच्चाका लागि खाना, सुरक्षा, चकलेट, सफा गर्न प्रयोग गरिने वस्तु, विद्युतीय सामग्री, मोबाइल फोन, नेपाली तथा अंग्रेजीका किताब, खानेकुरा, गरगहना, घडी–चस्मा, भान्साका सामग्रीको होम डेलिभरी गरिरहेको छ । बिहान १२ बजेभन्दा अगाडि अडर आएको खण्डमा सोही दिन डेलिभरी गर्ने गरी सेवा प्रदान गरिरहेका छौं । हाल करिब १ सयभन्दा बढी डेलिभरी गर्दै आएका छौं । भावी दिनमा स्टोरमार्फत मदिराको समेत बिक्री सुरु गर्ने योजनासहित अगाडि बढेका छौं ।

प्रविधिको प्रयोग गर्दै घरमै सेवा प्रदान गर्ने हाम्रो लक्ष्य हो
निकिता आचार्य
को–फाउन्डर, यूजी बजार
हामीले दैनिक उपभोग्य सामानसहित एकै प्लेटफर्मबाट सामान खरिद गर्न मिल्ने अनलाइन बजार यूजी बजार सुरु गरेका हौं । विगत लामो समयको तयारी भए पनि हामीले लकडाउनकै समयमा हाम्रो सेवा विस्तार गरेका हौं । यसभन्दा अगाडि अर्बन गर्ल, अनलाइन यूजी केक ई–कमर्श व्यवसाय गर्दै आएका थियौं । हाल हामीले करिब ५५ जनाभन्दा बढीलाई रोजगारी प्रदान गर्दै आएका छौं । यो संख्या निकट दिनमै थप गर्ने योजना बनाएका छौं । अन्य ई–कमर्शभन्दा फरक छौं, हामीले अटोमोबाइलमा बढी जोड दिएका छौं । चारपाङ्ग्रेदेखि दुईपाङ्ग्रे सवारी साधन अनलाइनबाट नै खरिद गर्न पाउने व्यवस्था गर्दैछौं । यसका लागि नेपालमा रहेका सवारी आयात गर्ने आधिकारिक कम्पनीसँग सहकार्य गर्ने तयारी गर्दै अघि बढेका छौं । साथै इलेक्ट्रोनिक्स सामानदेखि अन्य उपभोग्य सामान ग्राहकले खरिद गर्न सक्नेछन् ।
प्रविधिको प्रयोग गर्दै घरमा नै सेवा प्रदान गर्ने हाम्रो लक्ष्य हो । सोही अनुसार हामी सेवा प्रदान गरिरहेका छौं । हामीले अनलाइन पेमेन्टको सुविधासमेत दिएका छौं । यसका लागि ग्राहकले हाम्रो वेबसाइटमा गएर अर्डर गर्न सक्नेछन् । हामीले विगतमा ई–कमर्श वेबसाइटबाट प्रभावित र भावी दिनमा ई–कमर्शको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्र्दै लगानी तथा व्यवसाय विस्तार गर्दै लगेका छौं ।
करिब नौ वर्ष अगाडि सानो लगानीमा सुरु भएको व्यवसायले गति लिँदै गएको छ । युवा उमेर समूहलाई लक्षित गरेर गरगहना, दैनिक उपयोगी सामानका साथै इलेक्ट्रोनिक्स सामान अनलाइनमार्फत बिक्री गरेका थियौं, जसलाई हामीले ‘अर्बन गर्ल’ नामकरण गरेका थियौं । बानेश्वरमा वेयरहाउस राखेर अनलाइनमार्फत अर्बन गर्लले गरगहनाका सामग्री बिक्री गर्न थालेसँगै व्यवसायले गति प्रदान गरेको थियो । त्यसपछि यूजी केक घरमा नै हामीले डेलिभरी गरेका थियौं र अहिले आएर यूजी बजार सुरु गरेका हौं । समयसँगै केकको लोकप्रियता बढेर गएको छ । विभिन्न परिवेशमा केक काट्ने प्रचलन बढ्दो क्रममा छ । त्यही कारण यूजी केकको माग पनि बढेको छ । सोही अनुसार उपत्यकाबाहिर पनि सेवा दिँदै पोखरामा समेत यूजी केकको शाखा विस्तार भएको छ भने यूजी बजारलाई पनि उपत्यकाबाहिर विस्तार गर्ने योजना बनाएका छौं । यूजी केकले अर्बन गर्लको दायरा अझ फराकिलो बनाउँदै गयो, जसले गर्दा तेस्रो कम्पनी यूजी बजार लिएर आउन सहज भयो ।

अनलाइन व्यापार कम्पनीको भविष्य छ
प्रतीक नापित
व्यवस्थापन प्रमुख, ग्यापु डटकम
कोरोना महामारीबीच नेपालमा लकडाउन सुरु भएसँगै जन्मिएको हो ग्यापु डटकम । नेपाली ई–कमर्श कम्पनीको माध्यमबाट सबै किसिमका सामग्री उपलब्ध गराउने सोचका साथ ग्यापुले सेवा सुरु गरेको हो । कोरोना कहरको विषम परिस्थितिमा सुरु गरिएको व्यवसाय, नेपालमा पहिलो लकडाउन सुरु हुँदा हामीले पनि सेवा सुरु गरेका हौं । ग्यापुले उपभोक्तामाझ सबै सामग्री घरमा पु¥याउने लक्ष्यका साथ सुरु गरेको अनलाइन प्लेटफर्मको लोकप्रियता कोभिड–१९ सँगै बढेर गएको छ । साढे ४ लाखभन्दा बढी सामान रहेका छन् । लकडाउनसँगै नेपालमा ग्यापु सञ्चालनमा ल्याएका हौं । उपत्यकादेखि देशैभरि सेवा बनेपासम्म होम डेलिभरी गर्ने गरी सेवा प्रदान गरिरहेका छौं । ग्यापुले व्यापार विस्तार गर्ने रणनीतिअनुसार विभिन्न कम्पनीसँग साझेदारी सुरु गरेका छौं । ग्यापुले काठमाडौंको सिभिल मलका सबै पसलका सामान र सेल्सबेरीका सामान ग्राहकलाई घरमै निःशुल्क डेलिभरी गर्ने गरी सम्झौता गरेको छ । काठमाडौं, बनेपा र पोखराका आउटलेटमार्फत सेवा दिइरहेको सेल्सबेरीमा उपलब्ध करिब २ हजार धेरै घरायसी सामान ग्राहकले ग्यापु डटकमको वेबसाइट वा मोबाइल एपमार्फत अर्डर गर्न सक्नेछन् । ग्यापुले जी–बार सञ्चालनमा ल्याएको छ । जी–बार एउटा भर्चुअल बार हो, जहाँ ग्राहकले घरमै मेनु पाउनेछन् र आफूलाई आवश्यक सामग्री ग्यापु डटकमबाट सोझै अर्डर गर्न सक्छन् । जी–बारअन्तर्गत अल्कोहल र तयारी खाजा चौबीसै घण्टा डेलिभरी गरिरहेको छ । कालिमाटीमा तोकिएभन्दा कम मूल्यमा हाल ग्यापुले तरकारीका १ सय बढीजना कर्मचारीलाई रोजगारी प्रदान गरेर होम डेलिभरी गरिरहेको छ । ग्यापुले सन् २०२१ मा नै भियतनाममा र भारतमा समेत आफ्नो सेवा विस्तार गर्ने सोचमा छ । हाल ग्यापुमा हजारभन्दा बढी भेन्डर र ४ लाखभन्दा बढी उत्पादन उपलब्ध छन् । हाल दैनिक १ हजारको सय अर्डरको व्यवस्थापन गरिरहेको छ । ग्यापुमा मोबाइल एप वा कम्पनीको वेबसाइटमार्फत सपिङ अर्डर गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्