आयात प्रतिस्थापनको प्रयास

मुलुकमै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको स्वदेशमै उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्न सकिने कृषि विज्ञहरूको भनाइ छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले कृषिमा काम गर्ने जनशक्ति अभाव, खेतियोग्य जमिन खडेरीमा प्रयोजन हुनु, रासायनिक मलको अभाव,बीउ, सिँचाइ, उन्नत प्रविधिको अभाव, लागत मूल्य महँगो हुनु लगायतका अन्य कारणले गर्दा कृषि उत्पादन बढ्न सकेको छैन
प्रजातन्त्रको पुनःस्थापनासँगै द्रुतत्तर गतिमा अगाडि बढाइएको आर्थिक उदारीकरणको नीतिपश्चात् नेपालको वैदेशिक व्यापार उल्लेख्य परिमाणमा वृद्धि भएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार आर्थिक वर्ष २०४६/०४७ मा वस्तु व्यापारको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) सँगको अनुपात २२.७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५/०७६ मा ४३.८ प्रतिशत पुगेको छ । व्यापार घाटा भने बढ्दै गएको छ । आर्थिक वर्ष २०४६/०४७ मा व्यापार घाटाको जीडीपीसँगको अनुपात १२.७ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७५/७६ मा बढेर ३८.१ प्रतिशत पुगेको छ ।
पछिल्लो समयमा आयात र निर्यातबीच खाडल ठूलो बन्दै गएको छ तर कम गराउने काममा सरकारको कदम प्रायः असफल बन्दै गएको देखिन्छ । आयात न्यूनीकरण गर्न नसक्नु र निर्यात तुलनात्मक रूपमा बढाउन नसकेकै कारण यसले आर्थिक क्षेत्रमा भयावह रूप लिँदैछ । सरकारले प्रयास गरे पनि त्यो असफल हुँदै जाँदा यसले अर्थतन्त्रलाई ठूलो असर पार्ने देखिएको छ ।
व्यापार घाटा बढ्दै गएको परिप्रेक्ष्यमा संरचनागत सुधार, प्रतिस्पर्धात्मक क्षमता विकास एवम् आन्तरिक उत्पादन वृद्धिमा जोड दिई बाह्य क्षेत्र स्थायित्व कायम गर्न प्रयास गर्नुपर्ने आवश्यकता अध्ययनले देखाएको छ । आव २०४६÷०४७ मा वस्तु व्यापारको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपात २२.७ प्रतिशत रहेकोमा आव २०७५÷०७६ मा आईपुग्दा उक्त संख्या बढेर ४३.८ प्रतिशत पुगेको छ ।
बढ्दो आयात–निर्यातको अवस्था
मुलुकमा चालू आर्थिक वर्षको पछिल्लो चार महिनामा आयात निर्यात दुवै बढेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालू आवको साउनदेखि कात्तिकसम्म आयात ६१.५१ प्रतिशतले बढेर ६ खर्ब ५० अर्बको २९ करोड रुपैयाँको भएको हो । अघिल्लो वर्ष सो अवधिमा ४ खर्ब २४ अर्ब ९० करोड रुपैयाँको आयात भएको थियो । सो अवधिमा निर्यात १०४ प्रतिशतले बढेर ८२ अर्ब १२ अर्ब ४२ करोड ९५ लाख रुपैयाँको निर्यात भएको छ । अघिल्लो वर्ष ४० अर्ब २४ करोड ९० करोड १७ लाख रुपैयाँको निर्यात भएको थियो ।
कोभिडको महामारीकाबीचमा पनि आयात निर्यातमा उलेख्य वृद्धि भएको हो । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा निर्यात ४४.४ प्रतिशतले बढेर १ खर्ब ४१ अर्ब १२ करोड रुपैयाँ निर्यात भएको छ । यस्तै सो अवधिमा आयात २८.७ प्रतिशतले बढेर १५ खर्ब ३९ अर्ब ८४ करोड भएको छ । आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा २७.३ प्रतिशतले बढेर १३ खर्ब ९८ अर्ब ७२ करोड पुगेको छ । विभागका अनुसार आर्थिक २०६७÷०६८ मुलुकबाट ६४ अर्ब ५६ करोड २४ लाख ४४ हजार रुपैयाँको वस्तु निर्यात भएकोमा ३ खर्ब ७५ अर्ब ६० करोड ५८ लाख ७० हजार रुपैयाँको वस्तु तथा सेवा आयात भएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा निर्यात निर्यात बढेर १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार पुगेको छ । सो अवधिमा आयात बढेर १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाख ६८ हजार पुगेको छ ।
विगत १० वर्षको अवधिमा आयात निर्यात दर दुवै बढेर गएको छ । एक दशकको अवधिमा मुलुकमा आयात क्रमशः बढ्दै गएको छ । निर्यात भने बीचमा घटबढ भई गएको वर्षमा भने उलेख्य वृद्धि भएको छ । आयात बढ्दै गएपछि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा चुलिँदै गएको छ । आव २०७७÷०७८ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार व्यापार घाटा भएको छ । व्यापार घाटा बढ्दै गएपछि यसले मुलुकको अर्थतन्त्रलाई नै प्रत्यक्ष प्रभाव पार्ने गर्छ । सो अवधिमा मुलुकबाट सबैभन्दा धेरै सनफ्लावर तेल ५३ अर्ब ६५ करोड १५ लाख ९८ हजार, ८ अर्ब ५२ करोड ९२ लाख २१ हजारको यार्न, ७ अर्ब २२ करोड ४९ लाख ३ हजार, ७ अर्ब १६ करोड ९१ लाख ६२ जुट निर्यात भएको छ ।
यस्तै सो अवधिमा १ खर्ब ७५ अर्ब ३४ करोड फलाम फलामका उत्पादन, १ खर्ब ७५ अर्ब ५३ करोड इन्धनको आयात, १ खर्ब २३ अर्ब ६२ करोडको मेसिनरी तथा पार्टस्ट, ७९अर्ब ५९ करोड २७ लाख ४६ हजारको खाद्यान्न आयात भएको छ । गत वर्ष मुलुकबाट निर्यात बढे पनि कच्चा पदार्थ आयात गरेर त्यसलाई पुनः प्रशोधन गरेर निर्यात भएको छ । सनफ्लावरको तेल सबैभन्दा धेरै निर्यात भएको छ । छिमेकी मुलुक भारतसँग नेपालको व्यापार धेरै रहेको छ । मुलुकमा उत्पादित वस्तुको निर्यात बढ्न नसक्दा आयात घटाउन सकिँदैन ।
अधिकांश सामानको कच्चा पदार्थ आयात गरेर पुन प्रशोधन गरेर निर्यात गर्दा स्वदेशी उत्पादन नभएकाले यसले निर्यातमा सकारात्मक प्रभाव नपार्ने विज्ञहरू बताउँछन । एक वर्षको अवधिमा भारतबाट ९ खर्ब ७१ अर्ब ६० करोड ३९ लाख ४५ हजार रुपैयाँको आयात भएकोमा सो अवधिमा १ खर्ब ६३ करोड ७२ लाख ५५ हजार रुपैयाँको निर्यात भएको छ । यस्तै दोस्रो छिमेकी मुलुक चीनबाट २ खर्ब ३३ अर्ब ९२ करोड ३ लाख ६० हजार रुपैयाँको सामान आयात भएकोमा १ अर्ब १ करोड ६० लाख ५७ हजार रुपैयाँको सामान निर्यात भएको छ ।
चुलिँदै व्यापार घाटा
आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकमा व्यापार घाटा पनि बर्सेनि बढ्दै गएको छ । आर्थिक वर्ष २०६८÷०६९ मा ३ खर्ब ३२ अर्ब ९७ करोड ३४ लाख ९८ हजार रहेको व्यापार घाटा आव २०७७÷०७८ मा आएर १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाख ८७ हजार पुगेको तथ्याङ छ । आयात वृद्धिसँगै १० वर्षको अवधिमा १० खर्बले व्यापार घाटा बढेको छ ।
सरकारले व्यापार घाटा कम गर्नेका लागि ‘व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजना २०७५’ ल्याएको थियो । तिन वर्ष अघि नै कार्ययोजना आए पनि अहिलेसम्म पूर्णरूपमा कार्यान्वयन हुन सकेको छैन । मुलुकमा तुलनात्मक लाभ र प्रतिस्पर्धात्मक क्षमताका वस्तु तथा सेवाको विकास गर्नु, निर्यात प्रवद्र्धन तथा अभिवृद्धि गर्नु,कृषि तथा औद्योगिक उत्पादनमा वृद्धि गरी आयात प्रतिस्थापन गर्नु, विभिन्न निकायहरूबीच, प्रभावकारी समन्वय गरी लगानी अभिवृद्धि, उत्पादन वृद्धि गर्नु, स्वदेशी उत्पादनको गुणस्तर सुधार गर्नु, औद्योगिक तथा व्यापारजन्य पूर्वाधारहरूको तीव्र विकास गर्न र व्यापार सहजीकरण गर्ने कार्ययोजनाको मुख्य उद्देश्य रहेको छ । तर, यसको प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको व्यापार विज्ञहरूको भनाइ छ ।
पाँच वर्षमा निर्यात दोब्बर वृद्धि
विभागका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ११ खर्बको ९६ अर्ब ७९ करोड ९० लाख ५३ हजार रुपैयाँको सामान आयात हुँदा ९७ अर्ब ७० करोड ९१ लाख ५ हजार रुपैयाँको वस्तु निर्यात भएको थियो । यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा १४ खर्ब १८ अर्ब ५५ करोड ९४ लाख ३१ हजार रुपैयाँको सामान आयात हुँदा निर्यात भने ९७ अर्ब १० करोड ८८ लाख १३ हजार रुपैयाँको निर्यात भएको थियो ।
यस्तै आर्थिक वर्ष २०७४/०७५ मा १२ खर्ब ४५ अर्ब १९ करोड २४ लाख ७ हजार रुपैयाँको वस्तु आयात हुँदा ८१ अर्ब ३२ करोड ५३ लाख ७८ हजार रुपैयाँको निर्यात भएको तथ्याङ्क छ । यस्तै आर्थिक वर्ष २०७३÷०७४ मा ९ खर्ब ८५ अर्ब ९५ करोड १३ लाख २६ हजार रुपैयाँको सामान आयात भएकोमा ७३ अर्ब १२ करोड ५३ लाख ५१ हजार रुपैयाँको निर्यात भएको तथ्याङ्क छ ।
आयात बढ्दै गएपछि सो अनुपातमा निर्यात नहुँदा व्यापार घाटा बढ्दै गएको छ । व्यापार घाटा बढ्दै गएपछि सरकारले विलासिताका वस्तु आयातमा रोक लगाउने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले विलासिताका वस्तुको आयातमा कडाइ गर्न लागिएको जानकारी दिए । आन्तरिक उत्पादनलाई प्रवद्र्धन एवम् औद्योगिकीकरण सहजीकरणको नीति लिँदा केही वस्तुको आयात निरुत्साहन भइसकेको आयातमा कडाई गर्न लागिएको अर्थमन्त्री शर्माको भनाइ छ ।
स्वदेशमै उत्पादन गर्न सकिने कृषिजन्य वस्तु आयात
मुलुक कृषि प्रधान देश भए पनि वार्षिक साढे दुई खर्ब बराबरको कृषिजन्य उत्पादन आयात भइरहेको छ । मुलुकमा उत्पादन गर्न सकिने, खाद्यान्न, तरकारी, फलफूललगायतका अन्य उत्पादन ठूलो मात्रामा आयात भएको छ । सरकारले कृषि उत्पादन बढाउने हरेक वर्ष घोषणा गरे पनि आयात पनि झनझन बढ्दै गएको छ । भन्सार विभागको तथ्याङक अनुसार आर्थिक वर्ष २०७७÷७८ मा साढे २ खर्ब रुपैयाँ बराबरको कृषिजन्य उत्पादन आयात भएको छ । विभाग अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा ५६ अर्ब ८८ करोड रुपैयाँको खाद्यान्न आयात भएकोमा आव २०७७÷७८ मा बढेर ७९ अर्ब ५९ करोड २७ लाख रुपैयाँको आयात भएको छ ।
मुलुकमै उत्पादन गर्न सकिने कृषिजन्य वस्तुको स्वदेशमै उत्पादन गर्न सके आयात प्रतिस्थापन गर्न सकिने कृषि विज्ञहरूको भनाइ छ । युवा जनशक्ति वैदेशिक रोजगारीमा गएकाले कृषिमा काम गर्ने जनशक्ति अभाव, खेतियोग्य जमिन खडेरीमा प्रयोजन हुनु, रासायनिक मलको अभाव,बीउ, सिँचाइ, उन्नत प्रविधिको अभाव, लागत मूल्य महँगो हुनु लगायतका अन्य कारणले गर्दा कृषि उत्पादन बढ्न सकेको छैन । कृषिन्जय वस्तुको आयात घटाउनका लागि स्वदेशमै उत्पादन बढाउनेतर्फ लाग्नुपर्ने अति आवश्यक देखिन्छ ।
आयात निर्यात दुवै बढे पनि आयातको अनुपात उच्च हुँदा व्यापार घाटा बढ्दै गएको छ । व्यापार घाटा बढ्दै गएकाले यसले अर्थतन्त्रमा प्रत्यक्ष असर पार्छ । बढ्दो व्यापार घाटा कम गर्नका लागि सरकारले स्वदेशी वस्तुको उत्पादन वृद्धि गरी, निर्यातमा विशेष जोड दिनुपर्ने देखिन्छ ।
विलासिताका वस्तुको आयातमा कडाइ गर्दै
बढ्दो व्यापार घाटा तथा विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि सरकारले विलासी वस्तुको आयात रोक्न तथा निरुत्साहित गर्न थालेको छ । उच्च आयातका कारण बैंकिङ प्रणालीको तरलता अभाव हुने मात्रै नभई भुक्तानी सन्तुलन र चालू खाता घाटासमेतमा चाप परेपछि सरकारले आयात निरुत्साहनको नीति लिएको हो ।
विलासिताका रूपमा हेरिएका वस्तुहरू जस्तै, सुन, चाँदी, महँगा गाडीलगायतका आयातलाई निरुत्साहित गर्न थालिएको छ । यसअघि केराउ, मरिच, छोकडालगायतका आयातमा लगाइएको बन्देजलाई समेत निरन्तरता दिएको छ । ‘आयात नियन्त्रण गर्ने होइन, तर मुलुकको वर्तमान अवस्थालाई समेत ध्यान दिई सरकारले विलासिताका वस्तु आयातमा कडाइ गर्न लागेको हो ।
भन्सार विभागले सूचना प्रकाशन गर्दै विदेशबाट फर्किएका यात्रुले ल्याउने सुनमा कडाइ गर्ने संकेत गरेको छ । विद्यमान कानुनअनुसार विदेशबाट फर्किएका यात्रुले ५० ग्राम तौलसम्मका गरगहना ल्याउन पाउने व्यवस्था छ । विलासिताको वस्तु आयातले व्यापारघाटा बढाउदै गएपछि यसमा कडाइ गर्न थालिएको हो ।
निर्यात बढाउन उत्पादनमा जोड
आयात बढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न सकेको छैन । एक वर्षको अवधिमा निर्यातमा उलेख्य वृद्धि भए पनि आयातको तुलनामा एक दम न्यून हो । वाणिज्य सचिव दिनेश भट्टराई एक वर्षको अवधिमा आयात निर्यात दुवै वृद्धि भएको बताउँछन् । एक वर्षमा निर्यात ठूलो परिणाममा बढेको छ, एकै पटक ठूलो संख्यामा बढाउन सकिँदैन, उनले भन, ‘निर्यात बढाउनका लागि उत्पादन बढाउनु प¥यो, यातायात लागत घटाउनु प¥यो, प्रशासनिक प्रक्रियालाई सरल, वेयर हाउसिङ, लजिस्टिक सुविधालाई सहजीकरण गराउनुपर्छ ।’ कुनै पनि मुलुकले शतप्रतिशत आफनै उत्पादन गर्दैन, उनले भने‘ कच्चा पदार्थ आयात गरेर भ्यालु एड गरेर सामान निर्यात गर्ने गर्छन ।’ पाप आयल, भटमासको तेलको कच्चा पदार्थ आयात गरेर भ्यालु एड गरेर निर्यात गरिरहेका छौं ।
निर्यातमा लजिक्ट कस्ट, वेयर हाउस, कच्चा पदार्थ, मानव स्रोत साधनलाई सुधार गर्नुपर्ने उनको भनाई छ । गुणस्तर, लागत र ब्रान्डिङ, कपिराइट, पेटेन्ट जस्ता कुरामा सुधार गरियो भने अन्तराष्ट्रिय बजारमा स्वदेशी वस्तुको निर्यात बढाउन सकिने सचिव भट्टराई बताउँछन् । तुलनात्मक लाभ भएका वस्तुको उत्पादनमा विशेष जोड दिनुपर्छ । जुन वस्तुहरूबाट अन्तर्राष्ट्रिय बजारबाट बढी मुनाफा लिन सकिन्छ ती वस्तुको उत्पादन, ब्रान्डिङ, गुणस्तरमा अगाडि बढ्नुपर्छ । नेपालमा मात्र उत्पादन हुने त्यस्तावस्तुहरू छन उच्च स्तरको अति सम्पन्न वर्गले प्रयोग गर्न सकिने गरि निर्यात गर्न सकिन्छ ।
मन्त्रालयले निर्यात बढाउनका लागि एकिकृत व्यापार रणनीति (एनटीआईएस)लाई पुनरावलोकन गर्न लागेको छ । उत्पादनको लागत घटाउनका लागि लजिस्क्टि नीति बनाइरहेको मन्त्रालयले जानकारी दिएको छ । नेपालको व्यापार बढाउनका लागि विश्व्यापी, बहुपक्षीय, क्षेत्रीय स्तरमा छलफल भइरहेको मन्त्रालयले जानकारी दिए ।
अन्तराष्ट्रिय बजारमा स्वदेशी वस्तुको माग बढ्दै गए पनि मागअनुसार उत्पादन नहुँदा निर्यात गर्न सकिएको छैन । विश्व व्यापार संगठनको सदस्य मुलुक भएकाले नेपालले विभिन्न सुविधा पाए पनि जुन उपयोग गर्न नसकेको व्यापार विज्ञहरू बताउँछन ।
मुलुकबाट निर्यात हुने वस्तुहरूमा वनस्पति घिउ, जुट र जुटका सामान, पस्मिना दाल, तामाको तार, अदुवा, अलैंची, धागो, आयुर्वेद औषधिलगायतका वस्तुहरू भारत निर्यात हुने गरेको देखिन्छ । यस्तै तयारी पोसाक, ऊनी गलैंचा, पस्मिना, प्रशोधित तथा तयारी छाला, चाँदीका गरगहना, हस्तकलाका सामान, नेपाली कागज र चिया लगायतका वस्तु अन्य मुलुकमा निर्यात हुने गरेको छन । ।
कच्चा पदार्थ विदेशबाट आयात गरेर पुन प्रशोधन गरेर निर्यातमा सामान्य बृद्धि भएपनि स्वदेशी उत्पादनको निर्यात बढ्न नसकेकेको विज्ञहरूको भनाइ छ ।
पन्ध्रौं योजनाको लक्ष्य
वर्तमान पन्ध्रौं योजना २०७६–२०८१ मा वैदेशिक व्यापार, शोधानान्तर र विदेशी विनिमय कार्यक्रम सोच सन्तुलित वैदेशिक व्यापार, पर्याप्त विदेशी मुद्रा सञ्चिति र बाह्य क्षेत्र स्थायित्व सहितको सुदृढ अर्थतन्त्र लक्ष्य निर्यात प्रवद्र्धन, वैदेशिक व्यापार सन्तुलन र शोधानान्तर बचत कायम गर्ने उद्देश्य छ ।
उत्पादन अभिवृद्धि, आयात व्यवस्थापन तथा निर्यात प्रवद्र्धनका लागि देशगत तथा वस्तुगत विविधीकरण गरी व्यापारघाटा कम गर्नु र विदेशी विनिमय स्थिरता, बाह्य क्षेत्र स्थिरता तथा लक्षित विदेशी मुद्रा सञ्चिति कायम गर्नु योजनाको मुख्य लक्ष्य रहेको छ ।
रणनीति
–तुलनात्मक लाभ भएका कृषि, जडिबुटी, जलविद्युत् तथा पर्यटनजस्ता क्षेत्रको विकास गरी वस्तु तथा सेवाको उत्पादन अभिवृद्धि गर्ने,
–वस्तु तथा सेवाको उत्पादन अभिवृद्धि र अनावश्यक आयात नियन्त्रण गरी आयात व्यवस्थापन गर्ने,
–वस्तुगत तथा देशगत निर्यात बजार विस्तार तथा विविधीकरण गर्ने,
–शोधानान्तर स्थिति र बाह्य क्षेत्र सन्तुलन कायम गर्ने,
–विदेशी विनिमय सञ्चिति गर्ने ।