पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने तयारी «

पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा गर्ने तयारी


सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘सुदूरपश्चिम पर्यटन साइकल यात्रा’ हुने भएको छ ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजना र फारवेष्टर्न राइडरको सहकार्यनामा पुस ३, ४ र ५ गते सो साइकल यात्रा हुने भएको हो ।
सुदूरपश्चिमको नेचर, कल्चर र एड्भेन्चरलाई प्रोमोट गर्न आयोजना गरिने यात्राको तयारी मन्त्रालयअन्तर्गतको पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाईले थालेको छ । इकाईका निमित्त प्रमुख भोजराज पाठकले यात्रा व्यवस्थापनको तयारी थालिएको बताए । उनले साइकल यात्राका लागि पर्यटनसंँग सम्बन्धित सरोकारवाला र रुटमा पर्ने स्थानीय तहसँंग समेत समन्वय गरिएको बताए ।
उनले धनगढीबाट यात्रा सुरु गरेर गोदावरीबाट साइकल यात्रीलाई बिदाई गरिने बताए । धनगढीबाट सैयौंको माससहित साइकल यात्रा सुरु गरिने र गोदावरीबाट प्रोफेसनल साइकल राइडरहरुलाई विदाई गरिने निमित्त प्रमुख पाठकले बताए ।
उनले भारतको उत्तराखण्ड, उत्तर प्रदेशलगायत काठमाडौं, नेपालगन्ज, विराटनगर, पोखरालगायतका सहरबाट प्रोफेसन राइडरहरूले सहभागी हुन आवेदन फाराम भरेको बताए । डोटीको बुडरसम्म आयोजना हुने यात्रामा आवश्यक मेडिकल, सुरक्षा, ट्राफिक व्यवस्थापन, गाडी, होटल, व्यानर, प्ले कार्डलगायतको तयारी भएको छ ।
यात्राको अन्तम तथा तेस्रो दिन बुडरमा साइकल रेस प्रतियोगिता समेत आयोजना गर्ने तयारी भएको छ । निसर्ग अस्पतालको प्रायोजनमा आयोजना गरिने प्रतियोगिताका बिजेताहरूलाई पुरस्कारसमेतको व्यवस्था गरिएको छ । डोटीको छतिवन तालदेखि महाकाली राजमार्गसम्मको ५ किलोमिटर दुरीमा आयोजना गरिने साइकल रेसका बिजेतालाई १५ हजार, उपबिजेतालाई १० हजार र तृतीयलाई ५ हजार रुपैयाँ पुरस्कार निसर्ग अस्पतालले प्रायोजन गरेको छ ।
साइकल यात्रामा सहभागीलाई विभिन्न ठाउँमा स्वागत गर्नका लागि विभिन्न सांस्कृतिक कार्यक्रम समेत राखिएको छ । निमित्त प्रमुख पाठकले धनगढीमा थारु नृत्य, खानी डाँडामा मगर नृत्य र बुडरमा डोटेली नृत्यद्वारा स्वागत गर्ने तयारी भएको बताए । उनका अनुसार साइकल यात्रा पहिलो दिन खानीडाँडा पुगेर बास बस्ने छ भने दोस्रो दिन बुडर पुगेर बास बस्ने छ भने तेस्रो दिन बुडरमा यात्रा समापन गरिने छ । समापन अघि राइडरहरुले बुडरमा प्याराग्लाइडिङको समेत मजा लिन पाउने व्यवस्था हुने पाठकले बताए ।
विभिन्न ठाउँका साइकल राइडरहरूको सहभागिताले सुदूरपश्चिम प्रदेशको सांस्कृतिक, प्राकृतिक र एड्भेन्चर पर्यटनको प्रचार प्रचार हुने अपेक्षा गरिएको उनले बताए । उनले साइकल यात्रापछि पर्यटकीय क्षेत्रको प्रचार भई पर्यटक आगमनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको उनले बताए । मन्त्रालयले सो यात्राका लागि चार लाख रुपैयाँ विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्