विमानस्थल निर्माणले जगाएको आशा «

विमानस्थल निर्माणले जगाएको आशा

ढिलै भए पनि पोखरामा विमानस्थल निर्माण भए पनि त्यसलाई सञ्चालन गरी अन्तर्राष्ट्रिय हवाई उडान कति देशमा गर्न सकिन्छ भन्ने विषय यति बेला गण्डकी प्रदेशवासी तथा पोखरेलीहरूको चासोको विषय भएको छ । काठमाडौंपछि दोस्रो धेरै पर्यटक भित्रिने सहरका रूपमा रहेको प्रदेश राजधानी पोखराले यहाँ अन्तर्राष्ट्रिय सीधा हवाई उडान गर्ने अवसर प्राप्त गरेको खण्डमा यस क्षेत्रको विकासको पहिलो आधार नै विमानस्थल हुनेछ ।
पोखरा –
चार दशकभन्दा बढी लामो समयदेखि पोखरेलीको सपना लगभग अब पूरा हुने अन्तिम चरणमा पुगेछ । यद्यपि पोखरा विमानस्थल निर्माण भए पनि त्यसबाट प्रत्यक्ष लाभ लिन भने अझै करिब आउँदो आर्थिक वर्षसम्म कुर्नुपर्ने देखिएको छ । विश्वव्यापी महामारी कोभिड–१९ का कारण निर्धारित समयभन्दा करिब ६ महिनापछि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न हुने भएसँगै आउँदो आर्थिक वर्षदेखि मात्र पोखरा विमान सञ्चालनमा आउने गृहकार्य भएको छ ।
ढिलै भए पनि पोखरामा विमानस्थल निर्माण भए पनि त्यसलाई सञ्चालन गरी अन्तर्राष्ट्रिय हवाई उडान कति देशमा गर्न सकिन्छ भन्ने विषय यति बेला गण्डकी प्रदेशवासी तथा पोखरेलीहरूको चासोको विषय भएको छ । काठमाडौंपछि दोस्रो धेरै पर्यटक भित्रिने सहरका रूपमा रहेको प्रदेश राजधानी पोखराले यहाँ अन्तर्राष्ट्रिय सीधा हवाई उडान गर्ने अवसर प्राप्त गरेको खण्डमा यस क्षेत्रको विकासको पहिलो आधार नै विमानस्थल हुनेछ । विश्वका शक्तिशाली दुई छिमेकी मुलुक चीन र भारतजस्ता देशका मुख्य सहरबाट र सार्क राष्ट्रबाट मात्र भए पनि सीधा हवाई उडान गर्न सकेको खण्डमा पोखरा र पोखरावरिपरिको क्षेत्रका पर्यटनको माध्यमबाट ठूलो आर्थिक विकास गर्न सकिन्छ ।
हालसम्म काठमाडौंसहित अन्य क्षेत्रमा आएका पर्यटक हवाई उडान तथा सडकको जोखिम यात्राबाट पोखरा आउने गरेको सन्दर्भमा सीधै हवाई उडान भएको अवस्थामा विदेशी पर्यटक समय र खर्चको हिसाबमा कम खर्चमा सीधै पोखरा आवातजावत गर्न सक्छन्, जसले गर्दा पोखरा क्षेत्रमा पर्यटकीय गतिविधि ह्वात्तै बढ्नेछ ।
पोखरामा विमानस्थल सञ्चालन भएसँगै यहाँ धेरै चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । सीधै विदेशबाट गुणस्तरीय पर्यटकहरू पोखरा आउँदा अहिलेको सौन्दर्यले मक्ख परे पनि उनीहरूलाई यहाँ व्यवस्थापनमा धेरै सुधार गर्नुपर्ने देखिन्छ । पोखरामा विमानस्थल निर्माण भएसँगै यहाँको सडक सञ्जाल, यहाँका होटल तथा रेस्टुराँको गुणस्तरसहितको सेवा विस्तार, पर्यटकीय गतिविधिमा पर्यटकलाई आकर्षण, पर्यटकको बसाइ लम्ब्याउनेजस्ता प्याकेज कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । नेपाल भित्रिने करिब ४० प्रतिशतजसो विदेशी पर्यटक आउने पोखरामा पर्यटकलाई दिने नयाँ प्रोडक्ट खासै उत्पादन गर्न नसक्दा आगन्तुक पाहुनालाई खर्च गराउन सकिएको छैन ।
पोखरा विमानस्थलभित्र इन्धन डिपो निर्माण कार्य, हवाई रुटमा पर्ने रिठ्ठेपानीको डाँडा करिब ४० मिटर कटान गर्नुपर्ने, भित्री सडक र पृथ्वी राजमार्गको नालाबाट र सिँचाइको नहर बगेर आउने पानीका कारण विमानस्थलको पूर्वी भागमा बाढीपहिरोको समस्या हुने र विमानस्थलदेखि १३ किलोमिटर टाढाको दूरीमा ल्यान्डफिल्ड साइट स्थापना गर्नुपर्ने कार्य हाल विलम्ब हुँदा पोखरा विमानस्थल निर्माण भएर पनि सञ्चालनमा यसले धेरै असर पार्ने देखिन्छ । अन्तर्राष्ट्रिय हवाई उडानको मान्यता दिने आइकाओजस्ता संस्थाबाट अनुमति लिन पनि चार कुरालाई अक्षरशः पालना गरेको हुनुपर्नेछ । चाइनाको एक्जिम बैंकलाई निश्चित समयपश्चात् ब्याजसहित कर्जा दिनुपर्ने भएकाले पोखरा विमानस्थल अन्तर्राष्ट्रिय स्तरकै हवाई उडान गर्नुपर्ने बाध्यता रहेको छ ।
अन्यथा यसको ऋणभार नेपालीको टाउकोमा थपिन सक्छ ।
अर्थशास्त्री लेखनाथ भट्टराईले गौरवको कुनै भौतिक संरचना बन्नुमै आर्थिक गतिविधि बढाउने दाबी गरे । पोखरा विमानस्थल निर्माण हुनुले पोखरावरपर क्षेत्रको पर्यटन र आर्थिक चलायमान हुने उनले जनाए । विदेशबाट सीधै हवाई उडान भएको खण्डमा नेपालमा आउने विदेशी पर्यटकहरूमध्ये करिब ३० प्रतिशतजसो पर्यटक सीधै पोखरा झर्ने अर्थशास्त्री भट्टराईले जनाए । पोखरामा विमानस्थल निर्माण भएसँगै अब छिमेकी मुलुक चाइना र भारतसहित एयरलायन्स कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडान गर्नतर्फ चासो दिनुपर्छ । यसमा सरकारले समयमै सहजीकरण गर्नुप¥यो । नेपालमा रेल सञ्चालन गर्ने भनी ऋणमा रेल खरिद गरी ल्याएर रेल सञ्चालन गर्ने अध्यादेश आउँदै छ, रेल ल्याएर घुम्टो ओढाएर मात्र के काम ? त्यस्तै हालत पोखरा विमानस्थलको नहोस्, उनको भनाइ यही छ । अन्तर्राष्ट्रिय क्षेत्रमा पोखरा विमानस्थलको व्यापक प्रचारप्रसार पनि गर्नुप¥यो, सुरुवाती चरणमा केही प्याकेज केही समयअघि नै प्रचारप्रसार गर्नुप-यो ।
पोखरा विमानस्थल सञ्चालनमा केही प्राविधिक समस्या भएकाले त्यसको समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकारले समयमै चासो दिनुप-यो ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले पोखराबाट खाडी मुलुकसहितका कुन–कुन देशमा हवाई रुटको परमिसन पाइन्छ, त्यसमा सरकारले समयमै उनीहरूसँग छलफल गरी टुंग्याउनुपर्ने बताए । पोखराबाट सीधै अन्तर्राष्ट्रिय हवाई उडान भएमा काठमाडौंमा हुने करिब ३० प्रतिशत हवाई उडान पोखराबाट हुन सक्ने उनले बताए । पोखरा विमानस्थल निर्माण भएसँगै लिंक रोडहरू विस्तार गर्नुपर्ने, सेतीपुल र विजयपुरमा थप मोटरेबल पुल निर्माण गर्नुपर्ने कोइरालाको भनाइ छ । अबको पाँच वर्षमा पोखरा–काठमाडौंसमेत चार लेनको सडक हुने भएको हुँदा त्यसले थप पोखरा क्षेत्रमा जनघनत्व र पर्यटक आगमनमा वृद्धि हुने हुँदा पछिका लागि हाल पूर्वाधार निर्माणमा समेत सोच विचार गर्नुपर्ने कोइरालाको धारणा छ ।
उनका अनुसार पोखरा विमानस्थल निर्माणले गर्दा यस प्रदेशका किसान, मजदुरलाई रोजगार र स्वरोजगारसहित उद्यमी तथा व्यवसायीहरूले प्रतिफल लिन सक्नुप-यो । अब सबैको ध्यान उत्पादनमा कोइरालाको जोड छ । जस्तो कि प्रदेशका हिमालपारिका जिल्ला मनाङ र मुस्ताङमा करिब १६ लाख स्याउका बेर्ना लगाउने अभियानले उत्पादन हुने स्याउको प्रशोधनसहितको विश्व बजारमा लैजान सके यहाँ कति ठूलो आर्थिक लाभ लिन सकिन्छ ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले गण्डकी प्रदेशको राजधानी पोखरामा विमानस्थल निर्माण हुनुले यस क्षेत्रको विकासको ढोका खुल्ने दाबी गरे । विमानस्थल निर्माणले यहाँको रोजगारको सिर्जना गर्ने, विदेश जाने युवा शक्तिलाई स्वदेशी रोजगारको सिर्जना गर्ने, कोरोनाको मारमा परी विस्थापित हुने अवस्थामा पुगेका व्यवसायीलाई प्रोत्साहन र हौसला मिल्न थालेको उनको भनाइ छ । पोखरामा सीधै अन्तर्राष्ट्रिय हवाई उडान हुँदा थप गुणस्तरीय पर्यटकहरूको आगमन हुँदा यहाँ सोहीअनुरूपको सेवा सुविधा उपलब्ध गराउन थप चुनौती रहेको भट्टराईको बुझाइ छ ।
उनले भने, “पोखरामा विदेशी पर्यटकहरूको बसाइ अवधि लम्बाउने प्याकेजजस्तो साहसिक खेल प्याराग्लाइडिङलाई पोखरामा समय–तालिका मिलाएर व्यवस्थापन गर्नुपर्ने, यहाँ शान्ति–सुरक्षा र गुणस्तरीय सेवा दिनु हाम्रो अर्को जिम्मेवारी बढेको हामीलाई महसुस भएको छ ।”
भूकम्पपछि कोभिड–१९ का कारण प्रभावित भएको पोखरा क्षेत्रको पर्यटनलाई अब पोखरा विमानस्थलले थोरै आशा जगाएकाले अब यसलाई सञ्चालनमा ढिलाइ गर्न नहुने उनको बुझाइ छ । प्रधानमन्त्रीस्तरीय बैठकबाट अब पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालनका लागि विभिन्न स्वदेशी तथा विदेशी एयरलायन्स कम्पनीका जिम्मेवार प्रतिनिधिहरूसँग छलफल र बहस गर्नुपर्ने भट्टराईले बताए ।
राष्ट्रिय गौरवको योजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य हालसम्म करिब ८८ प्रतिशत सम्पन्न भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेस मुनानकर्मीले बताए । करिब २२ अर्बको परियोजनाअन्तर्गत हाल अन्तिम चरणको बाँकी १२ प्रतिशत मात्र काम, जसमा अन्तिम फिनिसिङ, रंगरोगनलगातका केही काम रहेको उनले जनाए । कामदार तथा निर्माण सामग्री समयमै व्यवस्थापन गर्न नसक्दा निर्धारित समयसीमाभित्र उक्त परियोजना सम्पन्न गर्न कठिन भएसँगै ६ महिनाको समयको म्याद थपसमेत भएको मुनानकर्मीको भनाइ छ । सन् २०२१ को जुलाई १० अर्थात् गत असार २६ गतेभित्र पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न हुने गरी चाइनाको सीएएमसी कम्पनीले जिम्मा लिए पनि कोरोनाको कारणले गर्दा समय सीमाभित्र नसकिएकाले गर्दा कम्पनीले ६ महिना समय थप गर्न प्रस्ताव गरेको थियो ।
पोखरा विमानस्थल निर्माण कार्य अन्तिम चरणमा पुगे पनि रिठ्ठेपानी डाँडा कटान, भलपानी व्यवस्थापन, इन्धन डिपो स्थापना र ल्यान्डफिल्ड साइट विमानस्थलबाट १३ किलोमिटर टाढाको दूरीमा व्यवस्थापन गर्नुपर्ने प्राविधिक समस्या रहेको मुनानकर्मीले जनाए । बर्सातको भलपानी व्यवस्थापन गर्न आवश्यक बजेटको मागसहित संघीय सरकारलाई बजेट माग गरिएको, रिठ्ठेपानी डाँडा कटानमा वन मन्त्रालयबाट अनुमति लिनुपर्ने भएकाले त्यसको लागि पनि काम अघि बढेको इन्धन डिपो नबन्दासम्म पुरानो विमानस्थलबाटै गाडीमा इन्धनको व्यवस्था गरिने भएको उनले जनाए ।
पोखरा महानगरले ल्यान्डफिल्ड साइटको खोजी गर्दै गरेको मुनानकर्मीले बताए । आउँदो आर्थिक वर्ष २०७९ सालको साउनदेखि पोखरा विमानस्थल सञ्चालनमा ल्याउने गरी आन्तरिक तयारी गरिएको उनले जनाए । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय, कास्कीलाई भलपानी व्यवस्थापन गर्न तीन वर्षदेखि पत्र दिए पनि त्यसको कुनै सुनुवाइ नभएको उनले गुनासो गरे । केही समयअघि नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर, पर्यटन मन्त्री प्रेम आलेले पोखरा विमानस्थल अवलोकन गरी बाँकी काम पूरा गर्न सहयोग गर्ने वचन दिएका छन् ।
पोखरामा हाल निर्माण भएको २ हजार ५ सय मिटर लम्बाइको रनवेको चौडाइ भने ४५ मिटरको रिजिट कंक्रिट पेभमेन्टका आधारमा पोखरा विमानस्थल धावन मार्ग अन्य क्षेत्रको भन्दा फरक भएको आयोजनाको दाबी छ । ४१७÷१२९ मिटरको क्षेत्रफलको अन्तर्राष्ट्रिय एप्रोन हाल निर्माण भए पनि भविष्यमा पुनः विस्तार गर्ने योजनाअनुरूप १५०÷१५२ मिटरको जग्गासमेत व्यवस्थापन गरिएको मुनानकर्मीले बताए । ८ हजार अन्तर्राष्ट्रिय र ६ हजारजसो आन्तरिक पर्यटकहरूका लागि कन्ट्रोल टावर १ सय १७ मिटरको, फायरफाइटिङ क्याटगोरी एटको साथमा एउटा एम्बुसेन्ससमेत व्यवस्था गर्ने उनले जनाए ।
उक्त परियोजनामा हाल १ सय ८८ चाइनिज र २ सय २० जना नेपाली कामदारहरू कार्यरत रहेको मुनानकर्मीले जनाए । आयोजनाको सबैभन्दा ठूलो करिब ६ सय ५० सिट क्षमताको टर्मिनल भवन, टावर, कार्यालय भवन, कार्गो भवनसहित १४ वटा भवनको निर्माण कार्य सम्पन्न भएको उनले जनाए । सन् २०१७ जुलाईबाट उक्त परियोजनाको निर्माण कार्य सुरु भएको हो । हालसम्म पोखरामा १ सय ५० देखि २ सय सिट क्षमताका न्यारोबडी जहाजहरू आउने गरी विमानस्थल निर्माण कार्यसँगै छिट्टै सञ्चालन गर्ने तयारी गरिएको पोखरा विमानस्थल कार्यालयका प्रमुख एवं आयोजनाका अप्रेसन सञ्चालन गर्ने जिम्मा पाएका विक्रम गौतमले बताए ।
उक्त विमानस्थलबाट पहिलो चरणमा आन्तरिक उडानबाटै सुरु गरी अन्तर्राष्ट्रिय हवाई उडानको संघसंस्थाहरूसँगको समन्वय र सहकार्य एवं मान्यता प्राप्त भएसँगै अन्तर्राष्ट्रिय क्षेत्रका केही देशहरूसँग सहकार्य गर्ने भएको उनले जनाए । पोखराका लागि हाल सिमरा, वीरगन्ज र चाइनाबाट गरी हाल तीनवटा मात्र हवाई रुट रहेको गौतमले जनाए ।
पोखरा विमानस्थलमा हाल करिब ३ हजार ८ सय ९९ रोपनी जग्गा रहेको छ, जसमध्ये ९९ प्रतिशत आयोजनाको नाममा आएको मुनानकर्मीको दाबी छ । २०३२ सालमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भन्दै स्थानीयले जग्गा अधिग्रहण गरी ३१ सय ६ रोपनी जग्गा व्यवस्थापन गरेका थिए । अन्य थप जग्गा आयोजनाले चरणबद्ध रूपमा अधिग्रहण गरेको हो ।
उक्त परियोजनाका लागि ५ प्रतिशत ब्याजदरमा २० वर्षको अवधिमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो । सुरुको सात वर्ष भने (ग्रोस अवधि) कुनै किस्ता तिर्नु पर्दैन भने त्यसपछि १३ वर्षसम्म ६÷६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्