बागमतीमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार «

बागमतीमा मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार

हेटौंडा
चार दलीय गठबन्धनको सरकार रहेको बागमती प्रदेशमा मन्त्रालय फुटाएर मन्त्रालयको भागबन्डा मिलाइएको छ । साविकका मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तार गरिएको छ । मन्त्रिपरिषद् विस्तार गर्ने क्रममा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार ५ जना मन्त्री र एक जना राज्यमन्त्री थप गरेका छन् ।
सरकारको नेतृत्व गरिरहेको नेकपा एकीकृत समाजवादीबाट २ मन्त्री, एक राज्यमन्त्री र नेकपा माओवादी केन्द्रबाट ३ जना मन्त्री थप गरिएको हो । माओवादी केन्द्रबाट घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्रीमा नियुक्त गरिएको छ । भौतिक पूर्वाधार मन्त्रालय फुटाएर श्रम, रोजगार तथा यातायात मन्त्रालय बनाइएको हो । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर माओवादी केन्द्रका सांसद विशाल खड्कालाई वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइएको छ ।
सामाजिक विकास मन्त्रालय फुटाएर माओवादीकै रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरिएको छ । एकीकृत समाजवादीबाट खानेपानी उर्र्जा तथा सिंचाई मन्त्रीमा बसन्तप्रसाद मानन्धरलाई नियुक्त गरिएको हो । कृषि तथा पशुपंक्षी मन्त्रीमा बसुन्धरा हुमागाईं र कृषि तथा पशुपंक्षी राज्यमन्त्रीमा इन्द्रमाया गुरुङलाई नियुक्त गरिएको थियो । यसअघिको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलाई फुटाएर कृषि तथा पशुपंक्षी मन्त्रालय बनाइएको हो भने खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालय पनि नयाँ परिकल्पना हो ।
योसंँगै बागमतीमा मुख्यमन्त्रीसहित ११ मन्त्री र एक राज्यमन्त्रीको सरकार बनेको छ । नव नियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई मंगलबार साँझ प्रदेश प्रमुख यादवचन्द्र शर्माले सपथ ग्रहण गरा मन्त्रालयको जिम्मा लगाइएको छ । यसअघि पहिलो चरणमा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेललाई भौतिक पूर्वाधार विकास मन्त्री बनाइएको छ भने माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास मन्त्रालय र एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाललाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गरिसकिएको छ । दोस्रो चरणमा मन्त्रिपरिषद् विस्तार हुँदा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल आर्थिक मामिला र कांग्रेसबाट निमा लामाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो । बागमतीमा मंसिर १५ गतेको मन्त्रिपरिषद्को निर्णयबाट ८ वटा मन्त्रालय फुटाएर चौध वटा बनाइएको थियो ।

पत्रकारलाई प्रवेश रोक
बागमती प्रदेशको बागमती प्रदेशको नवनियुक्त मन्त्रीको शपथ ग्रहण समारोहमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाएको छ । प्रदेश प्रमुखको कार्यालयमा भएको शपथग्रहण कार्यक्रममा पत्रकारहरुलाई प्रवेश गर्न रोक लगाइएको हो ।
यसअघि प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको शपथग्रहण समारोहमा पनि सञ्चारकर्मीलाई प्रवेश गर्न रोक लगाइएको थियो । सरकारी मिडियाको सिमित पत्रजारलाई मात्रै प्रवेश अनुमति दिइएको थियो । अन्य मिडियाका सञ्चारकर्मी गेटमा रोकिएका थिए । सञ्चारकर्मीलाई सार्वजनिक कार्यक्रममा प्रवेशमा रोक लगाइएको भन्दै नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईले आपत्ति जनाए ।

प्रतिक्रिया दिनुहोस्