पुँजीबजारको संवद्र्धन आवश्यक «

पुँजीबजारको संवद्र्धन आवश्यक

पछिल्लो समय सेयर बजारमा लगानीलाई पेसा नै बनाएर लाग्ने लगानीकर्ताको संख्या बढ्दै छ ।

नेपालमा राजनीतिक दलहरू आर्थिक चिन्तन, सिद्धान्तभन्दा पनि आफ्ना फाइदाका भरमा चल्छन् । वामपन्थीहरू आफ्नो विचार तथा सिद्धान्तको कुरा जति गरे तापनि नेपालमा आम्दानीका सीमित स्रोत तथा साधनमा पकड बनाउने महेन्द्रीय सिद्धान्तमा नै अडिग रहेका देखिन्छन् भने उदार बजारको हिमायती नेपाली कांग्रेस पनि बेलाबेलामा नियन्त्रित अर्थतन्त्र तथा सरकारले उद्योग चलाउनुपर्ने जस्ता लोकप्रिय बन्ने नारावादी कार्यक्रमको वकालत गर्छन् । सबै राजनीतिक दलका लागि निजी क्षेत्र आफ्नो चुनाव खर्च उठाउने साधन हुन् र उद्योगी–व्यापारी राजनीतिक दलका कार्यक्रम गर्न आवश्यक खर्च दिने स्रोत हुन्, जसका कारण बेलाबेलामा नीतिगत भ्रष्टाचारका कुरा बाहिर आउँछन् । राजनीतिक दल न त नेपालको अर्थतन्त्रप्रति कहिल्यै गम्भीर भए, न त निजी क्षेत्रप्रति सहयोगी नै । त्यसैले बेलाबेलामा यसले बजारमा विवाद मात्र ल्याउँदैन, नागरिकको लगानीलाई असुरक्षित पनि बनाइदिन्छ ।
यसै क्रममा पुँजीबजारबारे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिले आइतबार तथा सोमबार सेयर बजारलाई नराम्ररी तल झा¥यो । सेयर बजारको बारेमा एकदमै असान्दर्भिक टिप्पणी गरेका दाहालले विज्ञप्ति नै जारी गरे तापनि बजारमा सोमबार ठूलो क्षति भयो । दाहालले पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रूपभन्दा उनले के हेक्का राखेनन् भने निश्चित आयस्रोत भएका उनकै राजनीतिक दलका कार्यकर्ताले पनि सेयर बजारमा लगानी गरेका छन् । वास्तवमा मध्यमवर्गीय नागरिकको लागि कानुनी रूपमा अतिरिक्त आय आर्जन गर्न सकिने सेयर बजारप्रति दाहाल नकारात्मक हुनुपर्ने होइन । यसबाट पुँजी निर्माणमात्र नभएर पुँजीको वितरण पनि हुन्छ, जसका कारण पुँजीबजारलाई अर्थतन्त्रको ऐना भनिन्छ ।
पछिल्लो समय सेयर बजारमा लगानीलाई पेसा नै बनाएर लाग्ने लगानीकर्ताको संख्या बढ्दै छ । पुँजीबजारले उद्योग–व्यवसाय गर्न आवश्यक पुँजी निर्माण, बजारमा छरिएर रहेको पुँजी संकलन तथा उद्यमशीलताको विकास गर्ने पनि गर्छ । तर, राजनीतिक दलका नेतृत्व तहमा रहेकाहरूले पुँजीबजारको महत्व तथा आवश्यकताबारेमा यदि थाहा छैन भने नबोल्दा नै हुन्छ । हरेक विषयमा राजनीतिक दलका नेतालाई ज्ञान नहुन सक्छ । त्यसैले ज्ञान नभएको विषयमा नबोल्दा नै हुन्छ । पुँजीबजारलाई पुँजीबजारकै रूपमा स्वतन्त्र तथा निर्वाध रूपमा चल्न दिनुपर्छ । बेलाबेलामा सरकार तथा नियामक निकाय अनि राजनीतिक दलका नेताहरूले अनावश्यक रूपमा पुँजीबजारको सामान्य नियम नै नबुझेर टिप्पणी गर्दा लगानीकर्ताको मनोविज्ञानमा पर्ने असरले बजारमा अर्बौं नोक्सान हुन्छ । सरकारलाई राजस्वमा पनि राम्रै योगदान दिने पुँजीबजारको विकास, विस्तार र व्यापकताका लागि तथा पुँजीबजारलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनका लागि सहयोग गर्नुपर्नेमा सत्ताधारी राजनीतिक दलका शीर्ष नेताबाट यस्तो सस्तो प्रचारात्मक टिप्पणीले दाहालकै राजनीतिक दलका अर्थमन्त्री जनार्दन शर्मालाई राजस्व परिचालन गर्न असहयोग हुन्छ । त्यसैले हरेक राजनीतिक दलले पुँजीबजारको सामान्य नियम बुझ्न आवश्यक छ । पुँजीबजारमा यसका स्थापित अन्तर्राष्ट्रिय मूल्य तथा मान्यताका हिसाबले चल्न दिनुपर्छ ।
पछिल्ला ७३ दिनमा सेयर बजारको पुँजी ३० प्रतिशतले घटेको छ । पुँजी विस्तारको हिसाबले हेर्ने हो भने उक्त अवधिमा १२ अर्ब ३० करोडको नोक्सान भएको छ भने लगानीकर्ताले प्रत्येक दिन १६ अर्बभन्दा बढी नोक्सानी भोगिरहेका छन् । हुन त सेयर बजार घट्नु तथा बढ्नु एउटा स्वाभाविक चक्र हो, तर राजनीतिक दलका नेतृत्व, नियामक निकाय तथा सरकारको हस्तक्षेप तथा अनावश्यक टिप्पणीले घट्दा भने बजार परिपक्व हुनुको साटो झन् गलत प्रकारका खेलाडीको हातमा जान्छ, जसले लाखौं लगानीकर्ताको लगानी डुब्ने डर हुन्छ । तसर्थ, साना तथा ठूला सबै लगानीकर्ताको लगानी सुरक्षा गर्नु सरकार तथा राजनीतिक दलका नेतृत्वको जिम्मेवारी हो । अन्यथा हाल ४६ लाख लगानीकर्ता सेयर बजारमा रहेका मानिएको छ । वास्तवमा हरेक नागरिक पुँजीपति होस्, गरिब नरहोस् भन्ने राजनीतिक दलका पनि लक्ष्य हुनुपर्छ । अन्यथा तिनका लगानी डुब्दा अर्थतन्त्रलाई पनि असर गर्छ ।

प्रतिक्रिया दिनुहोस्