आन्तरिक ऋण नउठाउनु सकारात्मक : अर्थविद् «

आन्तरिक ऋण नउठाउनु सकारात्मक : अर्थविद्

सरकारको ट्रेजरीमा पैसा थुप्रिरहेकाले अहिले उठाउन आवश्यक छैन। अहिले सरकारसँग भएको पैसा राष्ट्र बैंकमा थन्किएको छ, खर्च भएको छैन ।

युवराज भुसाल
सरकारले ऋणपत्र जारी गरे राष्ट्र बैंकले किन्नुपर्ने हुन्छ । राष्ट्र बैंकले नोट छापेर ऋणपत्र किन्छ । तर, अहिले बजारमा मूल्य वृद्धि भइराखेको अवस्था छ ।
रामेश्वर खनाल

बजारमा तरलताको समस्या भइरहेको समयमा सरकारले आन्तरिक ऋण नउठाएर सुझबुझ पूर्ण काम गरेको अर्थविद्हरूले बताएका छन् ।
चालू आर्थिक वर्षको ५ महिना बित्नै लाग्दासमेत सरकारले आन्तरिक ऋण उठाएको छैन । सरकारले चालू वर्षमा २ खर्ब ५० अर्बको आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । अहिले देखि नै आन्तरिक ऋण नउठाई आर्थिक वर्षको अन्त्यतिर एकै पटक उठाउँदा त्यसले पुनः तरलताको समस्या ल्याउने आशंका उत्पन्न भइरहेको समयमा, केही समय पर्खिएर ऋण उठाउनु नै उपुयक्त हुने अर्थविद्हरूको तर्क छ ।
सरकारले तत्काल ऋणपत्र जारी गरे त्यसले मुद्रा प्रदाय बढाउने भन्दै पूर्व अर्थसचिव रामेश्वर खनाल तरलताको समस्या समाधान नहुने बेलासम्म कुर्नु नै उक्तम विकल्प रहेको बताउँछन् । “सरकारले ऋणपत्र जारी गरे राष्ट्र बैंकले किन्नुपर्ने हुन्छ,” उनी भन्छन्, “राष्ट्र बैंकले नोट छापेर ऋणपत्र किन्छ । तर, अहिले बजारमा मूल्य वृद्धि भइराखेको अवस्था छ । तरलताको अभाव छ र अर्थतन्त्रका अन्य सूचक पनि त्यति सकारात्मक नदेखिएकाले राष्ट्र बैंकले किन्नेगरी ऋणपत्र जारी गर्नु उपयुक्त हुँदैन ।”
चालू वर्षको पाँच महिना बित्नै लाग्दासमेत सरकारले ६ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । सरकारले बजारबाट राजस्व उठाएर राष्ट्र बैंकमा जम्मा गर्ने तर, खर्च नगरेकाले तरलताको समस्या भएको भन्दै खनालले पहिला पुँजीगत खर्चमा ध्यान दिनुपर्ने बताउँछन् । “सरकारी खर्च नभएको कारणले बजारमा तरलताको अभाव भएको हो,” उनी भन्छन्, “सरकारले राजस्व संकलन गरेर सबै रकम राष्ट्र बैंकमा थन्काएको छ । त्यो पैसा बजारमा नआउँदासम्म तरलताको समस्या समाधान हुँदैन ।”
अहिले मुुलुकमा वैदेशिक लगानी भित्रिएको छैन । विप्रेषणमा पनि त्यति धेरै सुधार हुन सकेको छैन । तर, आयातमा भने वृद्धि भइरहेको अवस्था छ । त्यसले विदेशी मुद्राको संचिति घटाएको छ । विदेशी मुद्राको संचिति बढेमा तरलताको समस्या समाधान हुने र त्यसपछि सरकारले आन्तरिक ऋण उठाउन सक्ने खनाल बताउँछन् । “सरकारले बढी खर्च गर्ने भनेको वैशाखदेखि असारसम्म हो,” उनी भन्छन्, “अहिले नै सरकारी खर्च तीव्र गर्ने र विदेशी मुद्राको संचिति बढाउनेतर्फ लागेर बजारमा पैसा गइसकेपछि, उठाउँदा ठिक हुन्छ ।”
त्यस्तै पूर्व अर्थसचिव युवराज भुसाल पनि सरकारको ट्रेजरीमा पैसा थुप्रिरहेकाले अहिले उठाउन आवश्यक नरहेको बताउँछन् । “अहिले सरकारसँग भएको पैसा राष्ट्र बैंकमा थन्किएको छ । खर्च भएको छैन । तरलताको यस्तो अवस्थामा आन्तरिक ऋण उठाउन आवश्यक पनि देखिँदैन,” उनले भने । फागुनपछि बजारमा तरलता सहज हुने भन्दै उनी त्यसपछि उठाउँदा सहज हुने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्