पर्यटन क्षेत्रमा सहकार्य गर्न स्लोभानियाको प्रस्ताव «

पर्यटन क्षेत्रमा सहकार्य गर्न स्लोभानियाको प्रस्ताव

युरोपेली मुलुक स्लोभानियाले नेपालको पर्यटन क्षेत्रमा सहकार्य गर्न नेपाल चेम्बर अफ कमर्ससँग प्रस्ताव गरेको छ ।
चेम्बर पदाधिकारीसँग भएको भेटवार्ताका क्रममा स्लोभानियाकी नेपालसमेत हेर्ने भारतीय आवासीय राजदूत मोटेजा भोदेव घोसले पर्यटन क्षेत्रमा सहकार्यको प्रस्ताव गरेकी हुन् । यसका लागि पहिलो चरणमा दुई मुलुकको व्यवसायिक उच्चस्तरीय भेटवार्ता गराउन आफुले पहल गर्ने राजदूत घोसले बताइन । यस्तै उनले शैक्षिक आदान प्रदान, पूर्वाधार र ऊर्जामा लगानीका विषयमा पनि सहकार्य गर्न सकिने बताएको चेम्बरले जनाएको छ ।
चेम्बर अध्यक्ष राजेन्द्र मल्लले नेपालमा घुम्न राजदूत घोसमार्फत स्लोभानियाका नागरिकलाई आग्रह गरे । नेपाल हिमालयको देश भन्दै उनले पर्यटकीय गतिविधिका लागि नेपाल उत्कृष्ट गन्तव्य रहेको बताए । उनले स्लोभानियाको दूतावास नेपालमै खोल्न र भिसा प्रक्रिया सहज बनाउन राजदूत घोसलाई आग्रह समेत गरे । जवाफमा राजदूत घोसले नेपालमा रहेको जर्मन दूतावासबाट भिसा प्राप्त गर्न सकिने बताइन् ।

प्रतिक्रिया दिनुहोस्