दक्षिण अफ्रिका जाने टोली घोषणा «

दक्षिण अफ्रिका जाने टोली घोषणा

तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) मा सहभागी १९ वर्षमुनिका खेलाडीहरु सम्मिलित डीपीएल इमर्जिङ स्टार घोषणा भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले दक्षिण अफ्रिका भ्रमणमा जाने १५ जना १९ वर्षमुनिका खेलाडीहरुको नाम घोषणा गरेको हो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने यू–१९ खेलाडी सम्मिलित टिम डीपीएल इमर्जिङ स्टार्सले दक्षिण अफ्रिकाको भ्रमणमा जानका लागि टिम घोषणा गरिएको हो ।
डीपीएलले स्पोर्ट्स एडसँगको सहकार्य तथा जोन्टी रोड्स र रायन मरोनको पहलमा डीपीएल इमर्जिङ स्टार्सलाई दक्षिण अफ्रिकाको दुई साताको भ्रमण गराउने भएपछि सम्भावना बोकेका खेलाडीहरु छनोट गरिएका हुन् । डीपीएल इमर्जिङ स्टारको टोलीमा रोहितकुमार पौडेल, रित गौतम, भीम सार्की, कुशल मल्ल, तिर्थराज दास, सुुवास ऐर, सुशिल खड्का, कमल ऐरी रहेका छन् । त्यसैगरी रशिद खान, अदिल अन्सारी, दिपेन्द्र रावत, कृष्ण ऐर, पवन सर्राफ, सन्दिप जोरा र खगेन्द्र जैसी रहेका छन् ।
डीपीएल इमर्जिङ स्टारको टोली आगामी दशैंपछि दक्षिण अफ्रिकाको भ्रमणमा जानेछ । कुल ४० लाख खर्च लाग्ने अनुमान गरिएको छ । १४ सदस्यीय टोलीको सम्पूर्ण खर्च आयोजक डीपीएल र स्पोर्ट्स एडले व्यवस्थापन गर्ने एकेडमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिए । डीपीएल इमर्जिङ स्टार्सले केपटाउनमा स्थानीय क्लब र प्रान्तीय टोलीसंग ५० ओभर र २ दिवसीय क्रिकेट खेल्नेछ । खेलाडीको प्रदर्शन र उमेर हेरेर टोलीको छनोट गरिएको स्पोर्ट्स एडका अविशेक केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्