मधेसमा अविकास र सडक सञ्जालको अर्थ राजनीति बहस «

मधेसमा अविकास र सडक सञ्जालको अर्थ राजनीति बहस

“जतिसुकै शासन प्रणालीको परिवर्तन र पात्रहरू परिवर्तन भए पनि मानसिकता एउटै रहेकाले मधेसको विकास हुन नसकेको हो ।”

मधेसको अविकासबारे वीरगन्जमा अन्तर्राष्ट्रिय सेमीनार
वीरगन्ज-‘विकासको मेरुदण्ड मानिएको सडक सञ्जाल मधेसमा भने विकास र समृद्धि तथा समानताको आधार कि देशलाई अविकासको चंगुलमा पार्ने माध्यम हो’ भन्ने विषयमा चर्को बहस सुरु भएको छ । मानव विकास सूचकांकमा पछि रहेको प्रदेश नम्बर २ को विकास हुन नसक्नुमा सडक सञ्जालले अर्थ राजनीतिक प्रभाव कस्तो छ ? भन्ने विषयमा बहस सुरु भएको हो ।
धेरै राजनीतिक प्रणालीको परिवर्तनपछि पनि मधेसको अझै विकास हुन नसक्नु मधेसमा अविकास र सडक सञ्जालको अर्थराजनीतिक सम्बन्ध हुनसक्ने भन्दै सरोकारवालाहरूले विभिन्न पक्षसँग छलफल र बहस सुरु गरेका हुन् । त्रिभुवन विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ठाकुराम बहुमुखी क्याम्पस समाजशास्त्र विभाग र नेपाल समाजशास्त्र संघको आयोजनामा भएको अन्तर्राष्ट्रिय सेमिनारमा ‘मधेसमा अविकास र सडक सञ्जालको अर्थ राजनीति यथार्थमा सामाजिक, आर्थिक, राजनीतिक विषय’मा नै केन्द्रित रहेकाले यसलाई समग्रतामा बुझ्नुपर्ने औंल्याइएको छ ।
छलफलमा सहभागी प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले मानव विकास सूचकांकमा सबैभन्दा पछि परेको प्रदेश २ को विकासमा प्रणाली होइन मानसिकता बाधक रहेको बताए । उनले जतिसुकै शासन प्रणालीको परिवर्तन र पात्रहरू परिवर्तन भए पनि मानसिकता एउटै रहेकाले मधेसको विकास हुन नसकेको आरोप लगाए । “संघीयतालाई हामीले अनवाण्टेड वेवी भन्दै आएका छौं,” उनले भने, “हामीले संविधानको विरोध ग¥यौं त्यतिखेर संविधान निर्माण गर्दा दिपावली मनाउनेहरू नै अहिले संघीयताको विरोधमा छन् ।” प्रदेश नम्बर २ अदक्ष कामदार उत्पादन गर्ने कारखानाको रूपमा मात्रै विकास गरेको भन्दै उनले विप्रेषणले धानेको अर्थतन्त्रमा राज्यले दक्ष कामदार उत्पादनमा ध्यान नदिएको बताए । तर, आलोचना र गाली गर्नमा मात्रै समय खेर फाल्ने पक्षमा अब प्रदेश २ नरहेको भन्दै उनले संविधानले व्यवस्था गरेको सहकार्य, सहअस्तित्व र समन्वयमा नै प्रदेशको विकासलाई अगाडि बढाउन लागेको जानकारी दिए ।
प्रदेश सरकारले पाँच वटा ‘स’ (सडक, शिक्षा, स्वास्थ्य, सुशासन र सिँचाइ) लाई मुख्य प्राथमिकतामा राखेर नीति निर्माण गरेको र सोहीअनुसार जिम्मेवार र इमान्दारिताका साथ प्रदेशको विकास गर्ने मुख्यमन्त्री राउतले बताए । उनले प्रदेश २ को मुख्य चुनौती सामाजिक संरचनाको परिवर्तन गर्नु रहेकाले नै प्रदेश सरकारले ‘बेटी बचाऔं बेटी पढाऔं’ अभियान सुरु गरेको जानकारी दिए ।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक युवराज लुईंटेलले अर्थशास्त्रले समृद्धिलाई उत्पादनसँग सम्बन्ध राख्ने तर उत्पादन मात्रै नभई नेपालमा समाजवाद उन्मुख अर्थतन्त्रमा साझा सहमति हुनु ठूलो उपलब्धि भएको बताए । यसले समृद्धिको ढोका खोलेको भन्दै उनले विकासलाई मात्रै समृद्धि मान्ने र उत्पादनलाई जोड नदिने हो भने त्यसले चुनौती सिर्जना गर्ने दाबी गरे । “समाजशास्त्रमा निर्माण मात्रै विकासको द्योतक होइन, विकासको उत्पादन र वितरण कहाँसम्म पुगेको छ ? त्यसमा ध्यान दिनुपर्छ,” उनले भने । प्राध्यापक लुईंटेलले राजनीतिक स्थिरताले समृद्धिको ढोका खोलेको भन्दै संघीयताले काठमाडौंलाई औंला देखाउने काम समाप्त पारेको दाबी गरे ।
नेपाल सम्बन्धमा लेखिएको पुस्तक ‘नेपाल इन क्राइसिस’ का लेखक मध्येका एक बेलायती नागरिक प्रोफेसर डेभिड सोडेनले सडक सञ्जालले एकस्थानबाट अर्को स्थानमा आउन जान सहज मात्रै बनाएको नभई समयको बचत र सामान ओसार पसारमा पनि सहज भएको दाबी गरे । सडक सञ्जाल विकासको संवाहक भए पनि यसको विस्तारका क्रममा विभिन्न स्थानमा विनास पनि हुने गरेको यथार्थ दर्शाउँदै उनले त्यसलाई मार्ग परिवर्तन गरेर प्रयोग गरिएको उदाहरणहरू पनि थुप्रै रहेको बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुवोध गुप्ताले समग्र देशको विकास नभई प्रदेशको विकास नहुने भन्दै देशको ढुकुटीमा पर्याप्त बजेट भए सबै प्रदेशमा विकास हुने र त्यसका लागि राजनीति र कर्मचारीतन्त्रमा शुद्धता हुन आवश्यक रहेको बताए ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछानेले मधेसमा सांस्कृतिक, धार्मिक र आर्थिक दृष्टिकोणबाट नै विकास गर्न सकिने सम्भावना रहेको भन्दै उनले यसमा राणाकाल, पञ्चायती व्यवस्था, बहुदलीय प्रजातन्त्र र संघीय गणतन्त्र केहीले नरोकेको तर समाज विलासितातर्फ गइरहेको दाबी गरे ।
ठाकुरराम बहुमुखी क्याम्पसका सामाजशास्त्रका प्राध्यापक विरेन्द्र साहले मधेस र समग्र देशको अविकासलाई एकथरीले निर्भरता, वितरण तथा शोषणलाई जोडेर व्याख्या गर्ने गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्