गमगढीदेखि ताल्च सम्म भाडादर घट्यो «

गमगढीदेखि ताल्च सम्म भाडादर घट्यो

मुगु – सदरमुकाम गमगढी बजारदेखि ताल्चसम्मको भाडादर घटेको छ । गमगढीदेखि ताल्चसम्मको जिप भाडादर अत्याधिक रूपमा बढी भएकाले पछिल्लो समयमा जनगुनासो आएको हुँदा उक्त जनगुनासोलाई मध्येनजर गर्दै सोमबार जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनाकमा बसेको सर्वदलीय बैठकले भाडादर निर्धारण गरेको हो ।
विगतका दिनहरुमा गमगढी बजारदेखि ताल्चसम्मको कच्ची सडकको भाडादर ५ सय रहेको थियो भने यसलाई परिमार्जन गरि गमगढीदेखि ताल्चसम्म ३ सय भाडादर निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए । उनका अनुसार ताल्चदेखि सल्लेरीसम्मको पनि भाडा पनि निर्धारण गरिएको छ जसमा ताल्चदेखि सल्लेरीसम्म २ सय भाडादर निर्धारण गरिएको बताए । यसैगरी बसको भाडादर गमगढीदेखि तुमसम्म ५० रुपैयाँ, गमगढीदेखि ताल्चसम्म १ सय, गमगढीदेखि पिनासम्म २ सय, गमगढीदेखि बुलबुलेसम्म ३ सय ५०, गमगढीदेखि गोठीज्युलासम्म ६ सय, बस भाडा निर्धारण गरिएको छ ।
गमगढीमा रहेका जिप तथा बस ब्यवासायिहरुले अनिवार्य रूपमा यात्रुहरुको टिकट अनिवार्य काट्ने, सवारी साधन र काउन्टरहरुमा भाडादर यात्रुहरुले देखिने गरी राख्ने निर्णय अनुसार मंगलबारबाट कार्यान्वयनमा ल्याउन रारा छायानाथ यातायात प्रालि मुगुका प्रतिनिधि नेताप्रसाद चौलागाईंले बताए ।

प्रतिक्रिया दिनुहोस्