विश्व बैंकको ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण

नेपाललाई विश्व बैंकले ४४ अर्ब ८१ करोड ८४ लाख रूपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । विश्व बैंकले विभिन्न तीन वटा परियोजनाका लागि ४४ अर्ब ८१ करोड ८४ लाख रूपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको हो ।
सरकार र विश्व बैंकबीच ऋण सहायतासम्बन्धी आइतबार सम्झौता भएको छ । अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र विश्व बैंकका नेपाल निर्देशक किमिआओ फ्यानले अर्थ मन्त्रालयमा विश्व बैंकका एसिया उपाध्यक्ष एन्नेट डिक्सनको उपस्थितिमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सहुलियतपूर्ण ऋणमध्ये ३० अर्ब ५५ करोड ८८ लाख रूपैयाँ भूकम्प प्रभावितहरूको निजी आवास निर्माणका लागि खर्च हुने छ । ऋण रकमबाट नुवाकोट, धादिङ र नुवाकोटमा भूकम्प प्रभावितका लागि ९६ हजार घर निर्माण गरिने सम्झौतामा उल्लेख छ । ८ अर्ब १४ करोड ८८ लाख रूपैयाँ २५ जिल्लामा दूध तथा मासुको उत्पादन बढाउने कार्यक्रम सञ्चालनमा खर्च गरिने छ । यस्तै ६ अर्ब ११ करोड १६ लाख रूपैयाँ १६ देखि ४० वर्ष उमेरका किशोर तथा युवालाई व्यावसायिक शिक्षा तथा तालिम दिन खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने व्यावसायिक शिक्षा तथा तालिम परियोजनाबाट १६ देखि ४० वर्ष उमेर समूहका युवा वर्ग, प्राविधिक शिक्षालय तथा तिनका शिक्षक, प्रशिक्षक, विद्यार्थी, रोजगारदाता निकाय लाभान्वित हुने अर्थ मन्त्रालयले जानकारी दिएको छ । पशुपंक्षी विकास मन्त्रालयले लागू गर्ने पशुपालन नवप्रवर्तन परियोजना देशका २५ जिल्लामा सञ्चालन हुने र त्यसबाट पशुजन्य उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, आधुनिक बजारीकरणमा सघाउ पुग्ने छ । त्यसैगरी भूकम्पबाट प्रभावित ९६ हजार निजी घर पुनर्निर्माणलाई भूकम्पेत्तर आवासीय भवन पुनःनिर्माण परियोजनाले समेटेको छ । उक्त परियोजना राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यान्वयन गर्नेछ । देशीय निर्देशक चिम्याओले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।