कांग्रेसमा नयाँ नेतृत्वका लागि मतदान «

कांग्रेसमा नयाँ नेतृत्वका लागि मतदान

काठमाडौंको बागबजारस्थित आकाशे पुलमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनका उम्मेदवारहरुले टाँगेका ब्यानर । तस्बिर : पूर्णिमा श्रेष्ठ


नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि सोमबार मतदान सम्पन्न भएको छ । बिहान साढे ११ बजे सुरु भएको मतदान राति अबेर राति सकिएको हो ।
मतदानका लागि बिहान ८ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएकोमा ढिलोगरी सुरु भएपछि समय थपिएको थियो । मतदान सकिएपछि राति नै सभापतिको मतगणना सुरु भएको थियो ।
शुक्रबार औपचारिक उद्घाटन भएको कांग्रेसको निर्वाचन प्रक्रिया शनिबारदेखि सुरु भएको हो । आइतबार उम्मेदवारको अन्तिम नामालवी प्रकाशित भएको थियो । सभापतिसहित १३४ पदका लागि ४९१ उम्मेदवार चुनावी मैदानमा छन् । कांग्रेसमा ४ हजार ७४३ जना महाधिवेशन प्रतिनिधि मतदाताको रुपमा थिए । काठमाडौंको भृकुटीमण्डपमा दुई वटा र राष्ट्रियसभा गृहमा एउटा गरी जम्मा तीन ठाउँमा मतदाताहरुले मतदान गरेका थिए ।
निर्वाचन समितिले प्रकाशन गरेको अन्तिम नामावली अनुसार सभापति (एक) पदका लागि पाँच जना, उपसभापति (दुई) पदका लागि सात जना, दुई जना महामन्त्रीका लागि ६ र आठ जना सहमहामन्त्रीका लागि १९ जना प्रतिस्पर्धामा छन् । सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याणकुमार गुरुङले प्रतिस्पर्धा गरेका छन् । सभापतिका लागि उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानले भने उम्मेदवारी फिर्ता लिएका थिए ।
पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेमा सभापतिका लागि दोस्रो चरणमा निर्वाचन हुनेछ । अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरुका लागि भने बहुमत ल्याउने विजयी हुने प्रावधान छ ।
मतदानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताए । खाँडले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने दाबी गरेका हुन् । उनले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकोले केन्द्रिय सदस्यमै सीमित रहेको समेत बताए । नेता खाँडले पार्टीको एकता र सशक्तीकरणका लागि आफू सदैव एक कदम पछि हटेर सहयोग गरिरहेको भन्दै प्रधानमन्त्रीलाई साथ दिनु आफ्नो दायित्व भएको बताए । नेता खाँडले पार्टीको १५ औँ महाधिवेशन विद्युतीय मतदानबाट हुने पनि दाबी गरे ।
त्यस्तै नेपाली र्काग्रेसका नेता शशांक कोईरालाले आफ्नो स्वविवेकले मन लागेको मानिसलाई भोट दिने बताए । आफू जहिल्यै पनि कांग्रेसलाई एकवद्ध भएर जानुपर्छ भन्ने सोचाइका साथ अघि बढेको भन्दै उनले कुनै पक्ष र कुनै विपक्ष भनेर अघि नबढ्ने बताए ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताए। उनले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था सिर्जना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्