पर्यटन काज बिदा लागू गर्न होटल संघको माग «

पर्यटन काज बिदा लागू गर्न होटल संघको माग

होटल संघ नेपालले नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन काज बिदा तत्काला लागू गर्न माग गरेको छ ।
संघले सरकारले यसअघि घोषणा गरेको पर्यटन काज बिदाका लागि तत्काल कार्यविधि पारित गरी अविलम्ब कार्यान्वयनमा ल्याउन आग्रह गरेको छ । संघको कार्यसमिति बैठकमा पर्यटन विभागका महानिर्देशक तारानाथ अधिकारीसँगको भेटमा यस्तो माग गरेका हुन ।
कोभिड–१९ बाट अतिप्रभावित पर्यटन तथा होटल उद्योगको पुनरुत्थानका लागि महत्वपूर्ण भूमिका खेल्न पनि संघले विभागलाई आग्रह गरेको छ ।
यस्तै, वातावरण संरक्षण ऐन २०७६ मा २५ बेडसमेतका होटलहरुले संक्षिप्त वातावरणीय अध्ययन गरिन बाध्यकारी बनाइने गरी नियम लागू भएकोप्रति संघले आपत्ति जनाएको छ । पारिवारिक वातावरण र सानो लगानीमा सञ्चालनमा रहेका होटललाई सान्दर्भिक नहुने भन्दै संघले यस प्रकारको नियम हटाउन माग समेत गरेको छ ।
पर्यटन उद्योगलाई सहज र सरल बनाई प्राथमिकताको उद्योग बनाउन दर्ता कर, शूल्क, नविकरणलगायतको झन्झटिलो प्रक्रिया रहेकाले यसलाई पर्यटनको तालुकदार निकाय पर्यटन विभागमार्फत गरिन सके दिगो पर्यटन क्षेत्रमा टेवा पुग्ने संघले जनाएको छ ।
पर्यटन तथा होटल उद्योगका लागि बेला बेलामा संशोधन हुने नियम, कानुन तथा निर्देशिकाहरु सरोकारवाला निकायसँग छलफल तथा समन्वय गरी कार्यान्वयनमा ल्याउन सके फलदायी हुने संघले बताएको छ । पर्यटनसम्बन्धी सम्पूर्ण आधिकारिक सूचनाहरु पर्यटन विभागमार्फत सम्बन्धित निकायमा सम्प्रेषण हुँदा आधिकारिकता प्रस्तुत भई कार्यान्वयनमा सहज हुने संघको भनाइ रहेको छ ।
आर्थिक वर्षको बजेट तथा मौद्रिक नीतिले सम्बोधन गरेका विषय अझै कार्यान्वयनमा आउन नसकेको भन्दै संघकी अध्यक्ष सृजना राणाले विशेष अभिभावकीय भूमिका निर्वाह गरिदिन सरकारसँग माग गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्