गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने २७ उद्योगविरुद्ध मुद्दा दायर «

गुणस्तरहीन खाद्यान्न उत्पादन गर्ने २७ उद्योगविरुद्ध मुद्दा दायर


उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी दूषित तथा न्यून गुणस्तरका खाद्यान्न उत्पादन गर्ने २७ वटा खाद्य उद्योगलाई कारबाहीका लागि मुद्दा दायर गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
दूध, मसला, खाद्यान्न दलहन, पानी, चिया, सस र दाना उद्योग विरुद्ध खाद्य ऐन अनुसार कारबाहीका लागि मुद्दा दायर गरिएको विभागले जानकारी दिएको छ । विभागका अनुसार विभागले दूग्ध पदार्थसँग सम्बन्धित ९, मसलाका ५ र खाद्यान्न दलहन र यसबाट बनेको पदार्थमा ५ वटा मुद्दा दायर गरिएको छ । पिउने पानीको ३, चियाका २, सोयाससमा १ र तेलमा एउटा कम्पनी विरुद्ध मुद्दा दर्ता गरिएको छ । यस्तै एउटा दाना कम्पनीविरुद्ध पनि विभागले मुद्दा दायर गरेको छ ।
विभागले चालु आर्थिक वर्षका साउनदेखि कात्तिकसम्म ८ सय ५२ नमूना संकलन गरेको थियो । संकलिन नमुना मध्ये खाद्यान्न÷दलहनजन्य १ सय ३१, तेल तथा घिउजन्य ९४, फलफूल तथा सागपातजन्य पदार्थका ७४, दाना पदार्थका ४५,मसलाका ४०, चिया कफीका २८, दुध तथा दुग्ध जन्य पदार्थका २१ प्रशोधित पानीका ४० र कन्फेक्सिनरिका १६ वटा नमुना संकलन गरिएको विभागले जानकारी दिएको छ । नमुना परिक्षणबाट ३६ वटा नमुना प्रतिकूल पाइएको विभागका प्रवक्ता मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । ती मध्ये २७ वटा विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । यी मध्ये ११ वटा मुद्दा दूषित, ९ वटा न्यूनगुणस्तर र ६ वटामा लेवल र विवरण नमिलेको पाइएको छ ।
चार महिनाको अवधिमा ६ हजार ४ सय ३८ वटालाई आयात अनुमतिपत्र जारी गरिएको विभागले जानकारी दिएको छ । आवश्यक कागजपत्र पूरा नभएका तेल, मह, मसला, कन्फेक्सनरी, केराउ लगायतका अन्य ६१ खाद्य पदार्थका कन्साइन्मेन्टहरुको अनुमति अस्वीकृत गरिएको विभागले जानकारी दिएको छ ।
खाद्य पदार्थको आयात अनुमति पत्र जारी गर्ने कार्य नेपाल राष्ट्रिय एकद्धार प्रणाली बाट अनलाईन मार्फत सेवा दिने काम भइरहेको विभागले जानकारी दिएको छ । यस्तै १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यलयहरुमा १६ हजार ३ सय १० नमुनाहरु प्राप्त भई जाँच विश्लेषण गरि नियमन गरिएको विभागले जानकारी दिएको छ ।
यसैबीच, चार महिनाको अवधिमा ४२ वटा होटेल रेष्टुरेन्ट स्तरीकरण गरिएकोमा २ वटाले अति उत्तम पाउन सफल भए भने ७ वटाले उत्तम, २३ वटाले सन्तोषजनक, ७ वटाले सामान्य स्तर प्राप्त गरेका विभागले जानकारी दिएको छ । स्तरीकरणमा नपरेका ३ वटा होेटेल रेष्टुरेन्टहरुलाई सुधारका लागि निर्देशन दिएको विभागले जानकारी दिएको छ । राजमार्गका होटेल रेष्टुरेन्टले कम गुणस्तरको बासी खाना खुवाउन थालेपछि विभागले होटेलको स्तरीकरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्